मेयर साम्पाङद्धारा आन्दोलनरत दलहरुलाई वार्ताका लागी आव्हानः दलहरुको आन्दोलन कायमै (भिडियो सहित)
दिव्य रोशनी(धरान)/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले आन्दोलनरत दलहरुलाई वार्ताका लागी आव्हान गरेका छन्।
खानेपानी महशुलवृद्धिको आन्दोलनमा रहेका धरानका १० राजनीतिक दलहरुलाई मेयर साम्पाङले आईतवार ११ बजे वार्ताका लागी आव्हान गरेका हुन्। आज विहिवार राजनीतिक दलहरुले धरान उपमहानगरपालिका घेराउ गर्दै खानेपानी मुल्य बृद्धिको विरोध गरेका थिए। ठुलो संख्यामा नारा सहित प्रदर्शन गरिएको विरोध कार्यक्रममा तत्काल वार्ता गरी खानेपानीको महशुल साविककै महशुल निर्धारण गरिनुपर्ने दलहरुले माग राखेका थिए।
आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीहरु बिच निकै नै घम्साघम्सी समेत परेको थियो। आन्दोलनकारीहरुले धरान उपमहानगरको बोर्ड च्यातिदिएका छन्। आन्दोलनका क्रममा कुनैपनि अप्रिय घटना नघटोस् भन्नका लागी उपमहानगर गेटमा ठुलो संख्यामा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो।
धरान खानेपानी बोर्डले खानेपानी महशुलमा ३३ प्रतिशत देखी ९,९०० प्रतिशत सम्म वृद्धि गरेपछि आईतवार धरानका राजनीतिक दलहरुले खानेपानीबोर्डको अध्यक्ष, कार्यकारी निर्देशक र लेखा शाखामा ताला लगाएका थिएभने सोमबार धरान १६, ११ र १५ नं वडामा रहेको खानेपानी महशुल काउण्टरमा ताला लगाएको थियो। तर मंगलवार उच्च अदालत विराटनगरले उत्प्रेषण आदेश जारी गरेपछि बुधवार दलहरुले ताला खोलेका थिए। ताला खोलिएपछि धरानका राजनीतिक दलहरुले आन्दोलनलाई नगरपालिका केन्द्रित गरेका छन्।