विक्रम सम्वत् २०७७ सालको ग्रह स्थिति तथा यसको प्रभाव

यसवर्ष २०७७ सालको शुभारम्भ बैशाख संक्रान्ति सोमवार प्रारम्भ भएको छ । बारका हिसाबबाट विचार गर्दा केही शुभ सूचक नै देखिन्छ । तथापि यसवर्षको ग्रह स्थितीलाई विचार गर्दा बुध राजा र चन्द्रमा मन्त्री पदमा आसिन रहेका छन् । यसप्रकारबाट रहेका ग्रह स्थितीका प्रभावले राजनैतिक स्थिती त्यती सन्तोष जनक देखिदैन । आफ्ना महत्वकांक्षाका कारण प्रचारवाजीले स्थान पाउनेछन् । उपलब्धीभने न्युन रहनेछ । देखावटी तथा मनोरञ्जनमा राज्य कोष दुरुपयोग हुने प्रबल सम्भावना रहन्छ । राजनैतिक शक्ति सन्तुलनमा समस्या आउने छ ।
यस वर्ष प्रमादि नामको सम्वत्सरले प्रवेश पाएको छ । यसको फल विचार गर्दा प्रमादी नाम सम्वत्सरमा धान्य वस्तु, अन्नवालीको मुल्य वृद्धि हुने देखिन्छ । कृषि, पशु पालन तथा व्यापारी वर्गका लागि केही फाइदाजनक रहनेछ । आनन्द नामको सम्वत्सरको पनि प्रभाव रहने भएकाले केही सुखको अनुभुति भने जनतामा रहनेछ । जनतामा ज्यादा सौखिनता बढ्ने भएकाले आलस्यता पनि बढ्नेछ । यसले उत्पादनको क्षेत्रमा नकरात्मक प्रभाव पर्ने देखिन्छ । वादविवाद तथा व्यर्थको झमेलाहरु थपिंदै जाने सक्नेछ । शक्तिशाली देशहरुमा युद्धहरुको अवस्था पनि आउन सक्नेछ । सूर्य आरद्रा नक्षेत्रमा प्रवेश गरेको समय विचार गर्दा उचित समयमा वर्षा हुने देखिन्छ । यसले थोरै भएपनि कृषि पेशामा राहत हुने देखिन्छ । जग लग्न कुण्डली विचार गर्दा लग्नका स्वामी मंगल तृतीय स्थानमा वृहस्पति र शनिकासाथ मित्र गृहि भएर बसेको दखिन्छ । त्यस्तै पञ्चम् मिनमा बुध छैठौं सूर्य, सातौं वृषका शुक्र स्वगृहि रहेको छ । यसले सबैको मन जितेर नयाँ योजना तर्जुमाका साथ नीति, नियम बनाइ कार्य गरेमा सहयोग तथा सफलता प्राप्त गर्नमा राजनैतिक क्षेत्र केही हदसम्म सफल रहने पनि देखिन्छ । तर निकै विचारर्पुक निर्णय लिन भने आवश्यक देखिन्छ । नत्र नेतृत्व अलमलमा नै रहने छ । विलासिता जीवनले राज्यको व्ययभार बढ्नेछ । विकासको गतिलाई व्यवधान आउने छ । विभिन्न रोग व्याधीहरुका कारण विश्वमा सन्त्रास भने कायमै रहन छ । कठिन परिश्रम पश्चात् सुझबुझका साथ समय अनुकुल मिलाई विकासका गतिलाई अगाडी बढाएमा केही हदसम्म सफलता पनि प्राप्त हुँदै जानेछ । वर्षको ग्रह परिषद अनुसार सस्पेस पदमा वृहस्पति, धान्येस पदमा मंगल, मेद्येस, चन्द्रमा,रशेस शनि निरशेस वृहस्पति, फलेस सूर्य, यसैगरी धनेस पदमा समेत वृहस्पति र दुर्गेश पदमा चन्द्रमा रहेका छन् ।
यसप्रकारको ग्रहस्थिति अनुसार यस वर्ष उचित समयमा वर्षा हुनाले धान्यादि वस्तुको प्रशस्त उत्पादन हुनेछ । साथै दुधजन्य वस्तुको उत्पादनमा समेत वृद्धि हुने देखिन्छ । धानवालीको मुल्य वृद्धि हुनेछ । चिनी, ध्यु, तेल जस्ता पदार्थको माग बढ्नेछ । फलफुलको उत्पादनमा समेत वृद्धि हुने छ । यसले फलफुलको बजार भाउ केही कम हुन सक्ने छ । वर्षायाममा पशुजन्य रोगको प्रकोप हुन सक्ने देखिन्छ । यसले घरपालुवा चौपायामा निकै असर पर्न सक्ने छ । बेसारजन्य पहेंलो वर्णका वस्तुहरुप्रति अभिरुची बढ्नेछ । फलफुलजन्य वस्तुको व्यापारका लागि यो वर्ष लाभप्रद रहनेछ । विलासिता तथा असमझ प्रवृतिले गर्दा सुरक्षा व्यवस्था कमजोर तथा राज्य सीमा कमजोर अवस्थाले गर्दा विभिन्न उपद्रवहरुको सामना पनि गर्नुपर्ने देखिन्छ । यसमा नेतृत्व वर्गले ध्यान दिन आवश्यक रहनेछ ।
यो वर्ष शनि श्रावण २१ गतेसम्म मकर राशीमा रहनेछ । त्यसपछि श्रावण २१ पछि मंसिर १ गतेसम्म धनु राशीमा रहनेछ । पुनः मंसिर १ गतेपछि मकर राशीमा रहनेछ । यसको प्रभाव निम्न राशी भएका व्यक्तिहरुमा अढैया र साढे साती शनिको प्रभाव रहनेछ । (१) वृष र कन्या राशीलाई श्रावण २१ गतेदेखि मंसिर १ गतेसम्म अढैया शनि दशा रहने छ । (२) मिथुन र तुला राशीलाई श्रावण २१ सम्म र मंसिर १ पछि अढैया शनि दशा रहनेछ । (३) वृश्चिक राशीलाई श्रावण २१ गतेदेखि मंसिर १ गतेसम्म अन्त्य साढेसाती दशा रहनेछ । (४) धनु राशीलाई वर्षभरी मध्य र अन्त्य साढे साती दशा रहनेछ । (५) मकर राशीलाई वर्षभरी आध्य र मध्य साढे साती शनि दशा रहनेछ । (६) कुम्भ राशीलाई श्रावण २१ गतेसम्म र मंसिर १ गतेपछि आध्य साढे साती शनि दशा रहनेछ । शनिको प्रभाव नकरात्मक भएपनि जन्म कुण्डलीमा शनिको अवस्था विचार गरि अलग–अलग शुभ तथा अशुभ फल प्रदान गर्दछ । स्वगृहि र मित्रगृहि उच्च तथा तृतिय छैंटौं एकादश स्थानमा रहेको शनिले ती व्यक्तिहरुलाई शनिको नकरात्मक फल लाग्दैन । यसले शुभ नै फल प्रदान गर्दछ । अनिष्ट फल दिनेभएमा देवी पुजा, शनि स्त्रोत्र पाठ, पिपल पुजा, रत्नको प्रयोग आदि उपायहरु ज्योतिषीको सल्लाह अनुसार गर्नुपर्दछ ।
यो वर्ष २०७७ सालमा सूर्य ग्रह परेको छ । जसअनुरुप असार ७ गते आईतबार आषाढ कृष्ण पक्ष औसी तिथीको दिन २१ जुनमा सूर्य ग्रहण लाग्नेछ । सूर्य ग्रहणको फलमा बताईए अनुसार मृगशिरा नक्षत्र, आरद्रा नक्षत्र र मिथुन राशी भएका व्यक्तिहरुलाई अति कष्ट हुने बताईएको छ । यसैगरी ग्रहण फलमा– (१) मेष राशी–श्री प्राप्ति ।(२) वृष राशी–क्षति (३) मिथुन राशी– घात (४) कर्कट राशी–व्यय (५) सिंह राशी–लाभ (६)कन्या राशी–सुखम् (७) तुला राशी–मान नास (८) वृश्चिक राशी–कष्टम् (९)धनु राशी–स्त्री पीडा (१०) मकर राशी–सौख्यम् (११) कुम्भ राशी –चिन्ता (१२) मीन राशी– व्यथा ।
यसप्रकारबाट राशीहरुमा सूर्य ग्रहणको फल रहेको छ । ग्रहणको अवधिमा सूर्यलाई नाङ्गो आँखाले सिंधै हेर्नभने हुँदैन । २०७७ सालको समय शुद्धि (उदयास्त) अनुसार जेष्ठ १७ गते शनिबार शुक्र पश्चिममा अस्त भएर जेष्ठ २६ गते सोमबार पूर्वमा उदय हुनेछ । पुनः माघ ३० गते शुक्रबार पूर्वमा अस्त हुनेछ । यसैगरी माघ ४ गते आईतबार वृहस्पति पश्चिममा अस्त भएर फागुन २ गते आईतबार पूर्वमा उदय हुनेछ । वृहस्पति शुक्र अस्तको समयमा विवाह, व्रतबन्ध, गृहारम्भ, गृहप्रवेश आदि शुभकार्यहरु बर्जित मानिएको छ ।
यसैगरी २०७७ साल आश्विन २ गते शुक्रबारबाट अधिक मास (मलमास) शुरु भई आश्विन ३० गते शुक्रबार समाप्त हुनेछ । जसले गर्दा दशैं, तिहार जस्ता चाँडपर्वहरु १ महिना पर सरेका छन् । बैशाख, असार, भाद्र मंसिर र चैत यी महिनाहरुमा प्राकृतिक प्रकोप रोग व्याधिहरुले सताउने आश्विन, जेष्ठ, कार्तिक र फाल्गुन यी महिनाहरुमा दुर्घटना बढ्न सक्नेछभने अरु महिना अरु महिना समान्य रहने छ ।
(लेखक रोईला नेपाल ज्योतिष परिषद १ नं. प्रदेशका उपाध्यक्ष हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published.