भेडेटारमा स्काईवक संचालनमा (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ पूर्वाञ्चलको पर्यटकीय क्षेत्र भेडेटारमा स्काईवक संचालनमा आएको छ।
धनकुटा र सुनसरीको सिमानामा रहेको भेडेटारको चाल्र्स टावरमा स्काई वाक संचालनमा आएको हो। सो स्काई वाकको शुक्रवार एक भव्य समारोहका बिच कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र साँगुरीगढी गाउँपालिका भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले रिवन काटी उद्धघाटन गरेका छन्।
उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्काई वाक निर्माण पश्चात् भेडेटार उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको बताए। उनले भेडेटार जस्तै धेरै स्थानमा विकासका परियोजनाहरु पाईपलाईनमा रहेको समेत सुनाए। उनले भने “स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा सम्पन्न भएको परियोजना यो पहिलो हो। अब जनताको माग र भावनाअनुसार सरकारले निजी क्षेत्रसँग मिलेर यस्ता अरू परियोजनाहरू पनि सम्पन्न गर्दै जानेछ।”
सोहीक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा भएका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक रूपमा पर्यटकीय स्थलको पहिचान गर्दै तिनको विकास गर्न आगामी ०८२ मा “कोशी प्रदेश पर्यटन वर्ष” घोषणाको तयारी सुरु गरेको समेत बताए। उनले “मास टुरिजम” को अवधारणाअनुसार गुराँसको राजधानी तिनजुरे, मिल्के र जलजले क्षेत्रबाट “कोशी प्रदेश पर्यटन वर्ष” घोषणा गरेर प्रदेश लगानी सम्मेलन गर्ने तयारी पनि भइरहेको बताए।


कोशी प्रदेशमा पर्यटनक्षेत्रले जति फड्को मार्नुपर्ने हो त्यती नभएपनि अब वैदेशिक रोजगारमा गएकालाई पनि स्वदेशमा फर्काउने वातावरण बनाईने मुख्यमन्त्री कार्कीको भनाई थियो। उनले राजनीतिक अस्थिरता, सरकार फेरबदलले पनि पर्यटन प्रवद्र्धनमा समस्यामा पारेको बताउँदै घुम्न र अवलोकन गर्न आउने स्वदेशी र विदेशी पर्यटकको सुरक्षाका लागि छुट्टै प्रदेश पर्यटन प्रहरी सेल पनि बनाउने तयारी भइरहेको बताए। यस्तै कोशीको त्रिवेणीमा रहेको खुवालुङदेखि साँगुरीगढीको ध्वजेडाँडासम्मको पर्यटकीय क्षेत्रमा पदमार्गका लागि पनि प्रदेश सरकारले सहयोग गर्ने समेत बताए।
यसैगरी कार्यक्रममा धरानका मेयर हर्कराज साम्पाङ राईले स्काईवाक हेर्नमात्र अब भेडेटारमा लाखौं पर्यटक भित्रने अनुमान गरे। उनले पर्यटकहरु प्रकृति र संस्कृति हेर्न आउने भएकाले त्यसको संरक्षण गरिनुपर्ने बताए। “हेर्दा आकर्षक र वाक गर्दाको अनुभूति पनि युनिक लागेको छ” मेयर साम्पाङले भने “स्काई वाक मेरो पहिलो पटकको अनुभव पनि हो, मौसम र लोकेसन पनि राम्रो छ । नेपालकै सबैभन्दा राम्रो ठाउँमा बनेको छ भन्ने लागेको छ।”
त्यस्तै साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले समय परिवर्तनसंँगै शैलुङ डाडाँलाई चाल्र्स पोईन्ट, भ्यू टावर हुँदै स्काई वाकको टावर भनेर चिनिन थालेको बताए। उनले साँगुरीगढी, धरान र प्रदेश सरकार कसले राजस्व बढी लिने बहस भईरहँदा निजी लगानीकर्तालाई संरक्षण गर्न स्थानिय सरकार चिन्तित हुनुपर्ने बताए। संघियताको पहिलो जग नै स्थानिय सरकार भएकाले स्थानिय सरकारलाई बलियो बनाईनुपर्ने उनको भनाई थियो।


भेडेटार स्काई वाक परियोजनाको निर्माण तथा संचालन “वीण्डर्स अम्युजमेन्ट पार्कस् एन्ड अट्राक्सन्स प्रा. लि.”द्वारा गरिएको यस परियोजानलाई प्रदेश लगानी प्राधिकरण, कोशी प्रदेशले अगाडी बढाएको हो। परियोजनाको समन्वय सांँगुरिगढी गाउँपालिका, धनकुटा र धरान उप–महानगरपालिका सुनसरीले गरेको छ। यो परियोजना सार्वजनिक निजि साझेदारी मोडलको कोशी प्रदेश सरकारको पहिलो परियोजना हो। २०७७ फागुन ९ गतेका दिन प्रदेश लगानी प्राधिकरण र विकासकर्ता बिच परियोजना विकास सम्झौता भई परियोजना संचालनका लागि नेपाल सरकारले जग्गाको भोगाधिकार दिने निर्णय गरेपश्चात प्रदेश लगानी प्राधिकरणले निर्माण अनुमति प्रदान गरेको छ। परियोजनाको डिजाइन तथा नक्साको स्वीकृति तथा अन्य प्राविधिक कार्यहरुको अनुमती भौतिक पुर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले दिएको छभने यस परियोजनाको डिजाइन तथा अनुगमन नेपालका दक्ष इन्जिनियरहरुको समुहले गरेको छ। यस परियोजना अन्तर्गत सिसामा हिड्ने पुल (लम्बाई ४१ मी चौडाई २ मी) तथा १८.५ मिटर अग्लो भिउ टावर हाल तयार भएको छ। यस स्काईवाकमा प्रयोग भएको सिमा करिव ३३ मी. मी. रहेको कम्पनीका कार्यकारी निर्देशक सञ्जीव रोकायाले बताए। उनले भविष्यमा जिप लाइन बन्जि तथा फ्री फल समेत संचालनको तयारी गरिएको समेत बताए।
२० करोड लगानीमा निर्माण भएको स्काईवाक दक्षिण एसियाकै पहिलो साहसिक पर्यटकीय परियोजना हो। उक्त स्काइवाक टावरमा चढ्नेले काटेको टिकटमा २३ प्रतिशत कर निर्धारण गरिएको छ। सो कर ५५ प्रतिशत साँगुरीगढी र ४५ प्रतिशत रकम धरान उपमहानगरपालिकाले पाउने छभने प्रदेश सरकारले रोयल्टी बापत्त ५ प्रतिशत पाउने कार्यकारी निर्देशक रोकायाले बताए। उनका अनुसार सम्झौता बमोजिम २५ वर्षपछि कम्पनीले उक्त भौतिक सम्पत्ति सरकारलाई हस्तान्तरण गर्नेछ।
स्काई वाकमा वार्षिक १० लाख पर्यटक भित्र्याउने उद्धेश्य रहेको प्रालीका अध्यक्ष आकर्षण पोखरेलले बताए। उनले स्काई वाकमा भारतको उत्तर प्रदेश, विहार, सिक्किम, भुटान, बंगलादेश साथै अन्य देशबाट समेत पर्यटक भित्र्याउने लक्ष्य लिईएको बताए। उनका अनुसार स्काई वाकमा दैनिक ५ सय जना मात्र चढ्न पाउनेछन्। एक पटकमा २५ जना चढनेछन् जसमा उनिहरुलाई १५÷१५ मिनेट समय दिईनेछ। स्काईवाक बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ने छ। स्काईवक बाट भेडेटार, धरान, इटहरी, सप्तकोशी लगायत विभिन्न ठाउँहरूको दृष्याअवलोकन गर्न सकिन्छ। (दिव्य रोशनी साप्ताहिकबाट)