लागु औषध प्रयोगकर्ताहरुको समस्या हल गर्न अभियानलाई प्रभावकारी बनाउ
पछिल्लो समयको तथ्यांकले धरानमा लागुऔषध प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको देखाएको छ। धरान जनसंख्याको आधारमा नेपालमै सबैभन्दा बढी लागूऔषधको शहरको रुपमा चित्रण हुँदै गएको छ। धरानका मेयर हर्क साम्पाङले चुनाव जितेर आएको केहिदिन देखिनै धरानलाई दुव्र्यसन मुक्त धरान बनाउने अभियान अन्तर्गत हरेक शुक्रवारलाई सुधारबारको रुपमा जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै आएका छन्। तथापी धरानमा लागूऔषध प्रयोगकर्ता घट्नुको सट्टा झनै बढ्न थालेको ईलाका प्रहरी कार्यालय धरानको तथ्याङमा छ।
दुई साताअघि जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा भएको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै डिएसपी मान बहादुर राईले धरानमा लागूपदार्थको कारोबारी गतवर्ष भन्दा बढेको जानकारी दिएका छन्। डिएसपी राईका अनुसार गत आर्थिक वर्षमा लागुऔषध मुद्धा ६५ रहेकोमा यस चालु आर्थिक वर्षमा बढेर ९० पुगेको छ। जसअन्तर्गत सबैभन्दा बढी प्रतिबन्धित लागुऔषधमा ४८ वटा मुद्धा रहेका छन्। ईप्रका धरानले गत आर्थिकवर्ष २०८०÷०८१ मा ६३ पुरुष र ६ महिला पक्राउ गर्दा हजारौ संख्यामा लागुपदार्थ बरामद गरेको छ।
यस तालिकाले के दर्शाउछभने पाँच दशक अघिको धरान पछिल्लो समयमा आएर लागुऔषध प्रयोगकर्ताहरुको संख्या घट्दोक्रममा रहेपनि पुनः लागूऔषध कारोबारीहरु सल्बलाउन थालेको देखिन्छ। देशको पुरानो र व्यवस्थित शहर भएपनि धरान शान्तिसुरक्षामा लागुऔषध प्रयोगकर्ताहरु जोडिएको छ। लागुऔषध प्रयोगकर्ता तथा लागूऔषध कारोबारी नियन्त्रणका लागी हाल मेयर साम्पाङको सुधारबार र ईलाका प्रहरी कार्यालयले धरानमा हुने लागुऔषध रोकथाम तथा नियन्त्रणको लागी स्थानिय तह तथा सरोकारवाला निकायहरुसंँगको समन्वयमा प्रोएक्टिभ तथा रिएक्टिभ दुवै तरिकाबाट काम गर्दै आएको छ। तथापी यो तथ्यांकलाई हेर्दा लागू पदार्थ दुव्र्यसन सचेतना अभियानले पूर्ण रुपमा काम गर्न नसकेको भान भएको छ।
त्यसैले अब धरानलाई लागूऔषध दुव्र्यसन रहितको सभ्य शहर निर्माणका लागी ग्रासरुट लेवल देखी नै लागूपदार्थ दुव्र्यसन विरुद्धको अभियानलाई लैजानुपर्ने देखिन्छ। जसअन्तर्गत विद्यालय तहदेखी नै लागूऔषध विरुद्धको सचेतनामूलक शिक्षा प्रदान गरिनु जरुरी छभने हरेक वडामा रहेका टिएलओहरुलाई पनि यस अभियानमा सक्रिय बनाउन जरुरी छ। टिएलओहरुले आफ्ना घर तथा छरछिमेकमा हुने नकरात्मक घटनाहरुको विस्तृत विवरण लिएर प्रयोगकर्ताहरुलाई सम्झाई बुझाई गर्नुका साथै सुधार गृहमा लैजनाका लागी पनि पहल गरिनु पर्दछ। अनि मात्र धरानले आफुलाई लाग्दै आएको दुव्र्यसनीको शहर उपनामबाट छुटकारा पाउनेछ। (दिव्य रोशनी साप्ताहिकबाट)