श्रमदाताले निर्माण गरेको “रक गार्डेन” बन्यो नयाँ पर्यटकिय गन्तव्य

मनिता चाम्लिङ (धरान)/
दिव्य रोशनी(धरान)/ धरानको नयाँ पर्यटकिय गन्तव्य रक गार्डेन बन्न पुगेको छ।
करिब ७२ लाखको लगानीमा सचेत धराने समूहद्धारा निर्माण गरिएको रक गार्डेन हेर्न स्थानिय तथा बाह्य पर्यटकहरुको रोजाईमा नयाँ प्रमुख गन्तव्य बन्न पुगेको छ। अहिले रक गार्डेनमा हरेक दिन स्थानिय तथा बाह्य पर्यटकहरुको बाक्लो उपस्थिती हुने गरेको छ।
झाँडी र फोहर मैला थुप्रिएको खोलाको बगरलाई पार्कमा रुपान्तरण गर्न लागीपरेका सचेत धराने समूहको अथक प्रयासपछि अहिले रक गार्डेन पार्कको रुपमा परिणत भएको छ। देश÷विदेशबाट दाता तथा शुभचिन्तकबाट आएको आर्थिक सहयोग र श्रमदानकै कारण खोलाको बगरले पार्कको स्वरुप लिएको हो। सो पार्कको शनिवार एक कार्यक्रमको आयोजना गरी सचेत धराने समूहले धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ। कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले श्रमदान मार्फत १६ महिनासम्म पार्क निर्माणका लागी अहोरात्र खट्ने सचेत धराने समूहलाई धन्यवाद दिए।
पहिले यस स्थानमा फोहरको थुप्रो, खाली सिसाका बोतल, झाँडी, टहरा रहेकोमा खाजाका टहरालाई व्यवस्थित गरि पार्क बनाउन निर्णय भएसंगै विभिन्न दाताहरुसंँगको सहयोगमा सर्दुको बगरलाई पार्कमा परिणत गरिएको हो। आफु प्रकृति प्रेमी भएकाले प्रकृतिलाई बचाउनु नै वास्तविक विकास भएको मेयर साम्पाङले बताए। उनले ठुला ठुला बिल्डिङ बनाउनु मात्र विकास नभएको बताउँदै प्रकृतिलाई जोगाउन जो जहाँ हुनुहुन्छ त्यहाँ विरुवा रोप्न आग्रह गरे। मेयर साम्पाङले श्रमसंस्कृति पार्कलाई वर्गीकरण गरेका छन् जुन यो श्रमसंस्कृति पार्कको कुम्भकर्ण क्षेत्रमा पर्दछ। यस रक गार्डेनको शिरमा धरान लेखिएको पोईन्टबाट रक गार्डेनलाई हेर्दा मनमोहक दृश्य देखिन्छ। मेयर साम्पाङले रक गार्डेनको सुन्दरतालाई अवलोकन गर्दै स्वास्थ्य रहन हस्पिटल मात्र नभई गार्डेन र पार्क समेत चाहिने बताए।
पार्क हस्तान्तान्तरण कार्यक्रममा फरक प्रसंगमा मेयर साम्पाङले कार्यपालिका बैठकलाई लक्षित गर्दै जनप्रतिनिधीहरु बाँझाबाँझ गरेको नभई फरक मत मात्र राखिएको बताए। उपमेयर अईन्द्र बिक्रम बेघातर्फ फर्किदै भने “उहाँहरु अलि रिसाई राख्नुभएको हो की जस्तो लाग्छ।” जनप्रतिनिधी बिचको फरक मतलाई अन्यथा लिन नहुने मेयर साम्पाङको भनाई थियो।
सोहीक्रममा मेयर साम्पाङले राजनीति भनेको निस्वार्थ सेवा भएको बताए। उनले लोकतान्त्रिक विधीबाट जनताले चुनेका जनप्रतिनिधीले जनताले थमाएका जिम्मेवारी बहन गर्नुपर्ने बताए। “चालक चालककै रुपमा रहनुपर्छ र सह चालक सहचालककै भूमिकामा रहनुपर्छ तर कसैले फ्लोर क्रस गरे गडबड हुने स्थिती आउछ” उनले भने। सबैले जनप्रतिनिधीहरुले आ–आफ्नो जिम्मेवारी बहन गर्न समेत मेयर साम्पाङले आग्रह गरे।
मेयर साम्पाङले आफु नेता र राजनीतिको परिभाषा परिवर्तन गर्न पनि आएको बताउँदै नेता भनेको “म यो किन गर्दैछु” भन्ने थाहा भएको भिजनवाला हुनुपर्ने बताए। उनले भिजन बिनाको नेता हुन नसक्ने भएकाले आफुमा त्यो भिजन भएकै कारण आफु नेता भएको उद्धघोष समेत गरे। उनले भने “नेताले सबैभन्दा बढी दुःख गर्नुपर्छ, जनताको लागी खानेपानीको पाईप तान्न म जंगलमा सुतेको छु, विश्वमा कोही छ त्यस्तो नेता ? त्यो अर्थमा म आफुलाई नेता ठान्छु। निर्देशन दिने मात्र नेता हुन सक्दैन, बगरलाई पार्कमा परिणत गर्न मेरै भिजन थियो।”
रक गार्डेन निर्माण गर्न देश÷विदेशमा रहेका नेपालीहरुले ठुलो मात्रामा रकम सहयोग गरेपछि सर्दुको बगरले पार्कको रुप धारण गरेको हो। तर सामाजिक संजालमा रक गार्डेनका लागी १ करोड बढी सरकारी बजेट प्रयोग भएको स्टाटस आएपछि मेयर साम्पाङले सामाजिक संजालमा आएको स्टाटसमा आफु जान्न उत्सुकता रहेको समेत बताए। उनले रक गार्डेन सचेत धराने दाजुभाई दिदीबहिनीहरुको अथक परिश्रम र दाताहरुबाट बनिएको बताउँदै साँगुरीगढी पदमार्ग मात्रै सरकारी बजेटबाट निर्माण भएको बताए। मेयर साम्पाङले अब धरानले पर्यटनको क्षेत्रमा ठुलो फड्को मार्दै गएको बताउँदै अब धरान २० चिण्डे डाँडाँमा सुम्निामा पारुहाङको प्रतिमा बनिएपछि विदेशी पर्यटकहरुको लर्को लाग्ने दावी समेत गरे। उनले सुम्निामा पारुहाङको प्रतिमा बनाउन सरकारी बजेट प्रयोग नहुने बताउँदै श्रमदाता र सहयोगबाटै बनिने समेत बताए। उनले धरानको विकास र समृद्धिमा मिडियाको ठुलो हात रहेको समेत बताए।
कार्यक्रममा उपमेयर अईन्द्र बिक्रम बेघाले धरानको विकास र समृद्धिको लागी एकता, शान्ति र सामुहिकताको कुरालाई सचेत धराने समूहले शिर्ष स्थानमा राखेर नेतृत्व वर्गलाई शन्देस दिएको बताए। उनले सबै मिलेर धरान विकास र समृद्धि तिव्र गतिमा अगाडी बढोस् भन्ने चाहना भएपनि धरानको विकास र समृद्धिमा फाटो ल्याउनेहरु विकास विरोधी भएको बताए। सोहीक्रममा उपमेयर बेघाले धरानलाई एउटै बाटोमा हिडाउन चाहेपनि बिच बिचमा केही खटपट हुँदा कतिलाई रमाईलो लागेपनि आफुहरुलाई नरमाईलो लागेको बताए। उनले यहाँका जनप्रतिनिधीहरु एक भएर अगाडी बढुन् भन्नेहरु धरानको विकास र समृद्धिमा हित चाहने नागरिकहरु भएको समेत बताए। उनले भने “धरानको विकास र समृद्धि चाहनेहरुको टिम नै सचेत धराने समूह हो। धरानको विकास र समृद्धिका एक बनाउन प्रयासरत हुने तपाईहरु हो। धरानलाई सम्पत्ति दिदै गरेकोमा धन्यवाद। धरानको विकास र समृद्धिमा एकताको शन्देस दिएकोमा पनि धन्यवाद।”
यसैगरी कार्यक्रममा धरान १३ का वडाअध्यक्ष नेत्र प्रसाद काफ्ले कुपोषण लागेको रक गार्डेनलाई सचेत धराने समूहले पुर्नजिवन दिएको बताए। उनले सर्दु खोलाको बगर भएपनि हाम्रा पुर्खाहरु ढाकर बोकेर हिड्ने ऐतिहासिक ठाउँ भएकाले यस स्थानमा केही गर्नुपर्छ भनेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउन आफ्नो पहिलो कार्यकालमा केही काम गरेको समेत जानकारी दिए। नुन र तेल लिन धरानको फुस्रे बजारमा आउने पूर्वी पहाडी भेगका बासिन्दाहरु २०३० सालमा धरान धनकुटा सडक जिरो प्वाईन्टबाट बाईपास भएर गएपछि फुस्रे बजार सेलाएको थियो। पहिलेको ठुलो बजार हेर्दा हेर्दै सुस्ताउँदै गएपछि पर्यटकहरुलाई आकर्षित गराउन तथा फुस्रेमा केही भएपनि चहलपहल गराउन गार्डेनको काम शुरु गरिएको उनको भनाई थियो।
सोहीक्रममा वडाअध्यक्ष काफ्लेले केही संचार माध्यममा आफ्नो नाम नै किटेर वडाअध्यक्षले रक गार्डेन भत्काउँदैछन्, भन्ने अफवाह फैलाएकोमा चिन्ता समेत व्यक्त गरे। उनले कोही जनताबाट अनुमोदित र कोही टिका लगाएर नआएको बताउँदै सबै जना जनप्रतिनिधीहरु जनताबाट नै निर्वाचित भएर आएको बताए। उनले भने “हिजो, हल गोरु नमिल्दा मिलाउनुपर्छ भनेर लागी परेको पनि मै हु, तर आज गुरिल्ला (फौजी) लिएर रक गार्डेन भत्काउन जादैछन् भन्ने म माथि विभिन्न आरोप लगाउने काम भो, त्यसमा दुःख लागेको छ।”
रक गार्डेनका बारेमा जानकारी दिंदै परिकल्पनाकार गोपाल राईले दाता र शुभेच्छुकबाट निर्माण गरिएको यो नेपालकै पहिलो कमिटी गार्डेन भएको बताए। उनले यस रक गार्डेन निर्माण गर्दा प्राकृतिक स्वरुपलाई नबिगारिकन बनाईएको बताउँदै अझै गार्डेनको ईन्टेरियल डिजाईन गर्न बाँकी नै रहेको बताए। उनले भने “विद्यार्थीहरुलाई रक गार्डेनबारे बुझ्ने मौका मिलेको छ, विद्यार्थीहरुको लागी यो सिक्ने थलो पनि हो।” उनले यहाँ बस्ने चौतराहरु विशेष डिजाईन गरिएको बताउँदै अब १८० डिग्रीको चौतारी, बटर फ्लाई गार्डेन तयार गरिने पनि बताए। बटरफ्लाई गार्डेनका लागी विदेशमा वटरफ्लाई गार्डेन हेरेर फर्केका र बटर फ्लाई सम्बन्धि अध्ययन गरिरहेका हात्तिसार कलेजका विद्यार्थीहरुसंग पनि समन्वय गरिरहेको परिकल्पनाकार राईको भनाई थियो। उनले चाँडै नै बेम्बो फुटपाथ र वर्डस् हाउस प्रोजेक्टलाई पनि अगाडी बढाईने जानकारी दिए।
यसैगरी आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सचेत धराने समूहका प्रवक्ता मनोज बस्नेतले २०७९ चैत्र १० गतेदेखी शुरु भई असार ४ गतेसम्म देश÷विदेशबाट सहयोग स्वरुप विभिन्न मितीमा गरी कुल आम्दामी ७७ लाख ९१ हजार ३ सय ५३ रुपैयाँ भएको जानकारी दिए। उनले खर्चतर्फ रक गार्डेनमा फलामको बेन्च फर्निचर खरिद गर्न १८ लाख ३२ हजार ६ सय ५०, ढुवानी खर्च ९२ हजार ७ सय ७५, मिस्त्री ज्याला ९ लाख ८६ हजार ४ सय ६०, स्टेशनरी र फ्लेक्स खर्च ५ हजार ७ सय ९०, गमला र मलखादमा ३ लाख ४ हजार १ सय ५९, रंगरोगनमा ९१ हजार २० रुपैयाँ, संरचना निमार्णका लागी औजारहरु तथा स्तम्भ निर्माणमा ३६ लाख १ सय १६ रुपैयाँ, खाजापानी १ लाख ३७ हजार ९ सय १० रुपैया र विविधमा १ लाख २२ हजार ६ सय १ रुपैया गरी कुल जम्मा ७१ लाख ७३ हजार ४ सय ८१ रुपैयाँ खर्च भएको समेत बताए। सचेत धराने समूहको खातामा अहिले जम्मा मौजाद ६ लाख १७ हजार ८ सय ७२ बाँकी रहेकोले अधुरा रहेका निर्माण कार्यहरु पुरा गर्दै जाने समेत उनले जानकारी दिए।
सचेत धराने समूहले निर्माण गरेको यस रक गार्डेनले धरानको पर्यटन पूर्वाधारमा एउटा दह्रो ईटा थपिएको छ। जसले गर्दा रक गार्डेन श्रमदाताले निर्माण गरेको धरानको प्रमुख पर्यटकिय गन्तव्य बन्न पुगेको छ। (दिव्य रोशनी साप्ताहिकबाट)