धरानमा संगीत दिवस

दिव्य रोशनी(धरान)/ धरान संगीत प्रतिष्ठानले विश्व संगीत दिवसको अवसरमा भव्य सांगीतिक कार्यक्रमको आयोजना गरेको छ।
शुक्रवार धरान ८ स्थित बराह किचन हलमा आयोजित सांगीतिक कार्यक्रममा धरानका वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठका साथै स्थानिय नयाँ तथा पुराना गायक÷ गायिकाहरुले बेजोड सांगीतिक प्रस्तुती दिएका थिए।
कार्यक्रममा धरान संगीत प्रतिष्ठानका कलाकारहरुबाट “हैन भने” बोलको देशभक्ति गीतबाट शुरु भएको कार्यक्रममा माउण्ट हर्मन एकेडेमीका विद्यार्थीहरुले भजन “शिव ताण्डव” र बासुरी बादक मित्रराज राईद्वारा “मयुङ्मा” धुन समेत प्रस्तुत गरिएको थियो। यसैगरी कार्यक्रममा भीषण अधिकारीले देशभक्ति गीत “मेरो टोपी”, बराहक्षेत्र सुनसरीका ९ वर्षिय कलाकार राजेश परियारले भक्तराज आचार्यप्रति श्रद्धान्जली अपर्ण गर्दै “हजार आँखा हेर्ने” गीत गाएर दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए। उनको कलाका प्रशंसा गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख (प्रहरी निरिक्षक) सुभाष केसीले १ हजार नगद प्रदान गरेका थिए।
कार्यक्रममा दिपक दर्नालले “म कहि कतै ” प्रस्तुत गरेका थिएभने मुना सुन्दासले रोज फिल्मको “फुल हैन” बोलको गीत गाएर दर्शकहरुलाई मन्त्रमुग्ध पारेकी थिईन्।
त्यस्तै भीषण अधिकारी र मेरिना राईले चलचित्र फेरि भेटौलाको चर्चित गीत “मोहनी माया पो हो की ” गीत प्रस्तुत गरेका थिएभने धरानका पुराना गायक मनोहर शाक्यले “तिमीलाई म के भनुँ ” र “आज भोली हरेक साँझ” बोलको आधुनिक गीत गाएका थिए। यसैगरी गायक तथा संगीतकार कृष्णराजा श्रोष्ठले सेमी शास्त्रीय “मधुशाला”, सृजना राईले “जहिलेसम्म संसारमा”,प्रशंसा तामाङले “माईली”, नविन दर्नालले “गुराँसको फेद मुनी”, मनोज मोतेले “सानो संसार”, अरुण बराईलीले “रक्तिम अक्षर”, करुणा विश्वकर्माले “माया रहेछ”, ज्योती सुनुवारले “पोखिएर घामको झुल्को” गीत प्रस्तुत गरेका थिए।


कार्यक्रममा धरानका वरिष्ठ गायक तथा संगीतकार दीप श्रोष्ठले “हु यात्री” र “तिमी आकाशको” आधुनिक गीत गाउदा दर्शकहरुमा वान्स मोरको हुटिङ निकैबेरसम्म चलेको थियो।
कार्यक्रममा गायक तथा प्रशिक्षक विनोद प्रीयदर्शी राई र सन्दीप प्रधानलाई सम्मान समेत गरिएको थियो।उनीहरुलाई प्रतिष्ठानका संरक्षक मेयर हर्क साम्पाङ राई र अध्यक्ष रमेश राईले जनही नगद १० हजार सहित सम्मानपत्रले सम्मान गरेका थिए ।
यसैगरी कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुभाष केसी, रोहितमान थापा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। सो प्रशंसा पत्र प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ गायक दीप श्रोष्ठले प्रदान गरेका थिए।
प्रतिष्ठानका अध्यक्ष रमेश राईले हरेक वर्षको जुन २१ मा पर्ने विश्व संगीत दिवसको अवसरमा प्रतिष्ठानले हरेक वर्ष सांगीतीक साँझको आयोजना गर्दै आएको बताए। (दिव्य रोशनी साप्ताहिकबाट)