नवरात्रीः देवी दुर्गा भगवतीको महिमा

ज्योतिष नगेन्द्र प्रसाद रोईला/

श्री दुर्गा देव्यै नमः।।
देवी प्रपन्नार्ति हरे प्रसिद्ध प्रसिद्ध मात जर्गतोsखिलस्य प्रसिद्ध विश्वेश्वरी पाही विश्वं त्वामीश्वरी देवी चराचरश्य।।
अर्थातः हे देवी शरणगत भक्तजनहरुको दुःखको नाशगर्ने वाली तथा सम्पूर्ण मनोरथ कामना पूर्ण गर्ने वाली देवी। प्रशन्न हुनुहोस्। सम्पूर्ण जगतकी माता प्रशन्न हुनुहोस्। हे विश्वेश्वरी, विश्वको रक्षा गर्नुहोस्। हे देवि तपाई नै सम्पूर्ण जगतकी अधिश्वरी हुनुहुन्छ। तपाई नै सम्पूर्ण जगतमा व्याप्त हुनुहुन्छ।
आश्विन शुक्ल प्रतिपदा देखि दशमीसम्म देवि दुर्गा भगवतीको पुजा तथा उपसना गरिन्छ। २०७७ सालको दुर्गापुजामा देवीजीको यात्रा शनिवार नै प्रतिपदा भएकाले घोडामा सवारी भएर पृथ्वीमा भ्रमण गर्ने र सवारी भएर फर्केर जादा विजयदशमी सोमवार परेकाले भैंसीमा चढेर सवारी हुने भएकाले यो योगलाई त्यती शुभ संकेत मानिदैन। यस्तो योगमा पृथ्वीमा विभिन्न आपत/विपत पर्न सक्ने देखिन्छ। रोग व्याधी, भुकम्प, बाढी, पहिरोले राज्यमा संकट पैदा गर्न सक्ने हुन्छ। राजनीतीक क्षेत्रमा पनि यसले राजनेताहरुमा निकै असर पार्न सक्ने देखिन्छ। अकाल मृत्यु अनिष्ट आदि हुनसक्ने देखिन्छ। यस्तो अवस्थामा देवीजीको शरण पर्नु, चण्डी पाठ गर्नुपर्ने देखिन्छ। कलियुगमा शक्ति उपासना गर्नु अत्यन्त नै जरुरी हुन्छ। यस चराचर जगतमा मातृशक्तिबाटै संसारको सम्पूर्ण प्राणी जगतको सृष्टिक्रम चलेको हुन्छ। नवरात्रमा देवीजीको विभिन्न रुपको वर्णन गरिएको छ।
यसमा प्रथम दिनमा शैलपुत्री नाम गरेकी देवीको पुजा गरिन्छ। द्धितीय दिनमा ब्रम्हाचारिणी नाम गरेकी देवीको पुजा गरिन्छ। तृतिय दिनमा चन्द्र घण्टा,चतुर्थ दिनमा कुष्माण्डा, पञ्चदिनमा स्कन्द माता यसैगरी छैटौदिनमा कात्यायनी, सप्तम दिनमा कालरात्री, आठांैदिनमा महागौरी, नवांै दिनमा सिद्धिदात्री नामकी देवीको पुजा गरिन्छ। यसरी देवी दुर्गा भगवती माताले अनेकरुप धारण गरी चराचर जगतको रक्षा गर्नुभएको कुरा देवी भागवत आदि धर्मशास्त्रहरुमा वर्णन गरिएको पाईन्छ।


महाकाली, महालक्ष्मी, महासरस्वती, स्वरुपीणी भगवतीको उपशना गर्नाले आरोग्य प्राप्त हुने भूत प्रेत शाकिनी डाकिनी आदिको भए नाश हुने छ। धन ऐश्वर्य तथा ज्ञान वेदविद्या प्राप्त हुने विश्वास गरिन्छ। त्यसैले निएको छ। “या देवी सर्वभुतेषु शक्ति रुपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।। या देवी सर्वभुतेषु विद्या रुपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमो नमः।। या देवी सर्वभुतेषु लक्ष्मी रुपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमो नमः।। या देवी सर्वभुतेषु शान्ति रुपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमो नमः।।या देवी सर्वभुतेषु मातृ रुपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमो नमः।।
यस प्रकारबाट देवीजीको स्तुती प्रार्थना गरिएको छ। देवी दुर्गा भगवतीको पुजा प्रार्थना गर्दा सर्वप्रथम अश्विन शुक्ल प्रतिपदाको दिनमा प्रातकालमा स्नान गरी घटस्थापना गर्नुपर्दछ। घटस्थापना गर्दा जमरा राखी दिप कलश गणेश पुजा मात्रिका आत्मन कुल देवताको पुजा तथा नवग्रहको पुजागरी देवीजीको पुजा तथा चण्डी पाठ गर्नुपर्दछ। आफ्नो घरमा पुजा स्थान नजिकै शुद्ध सफा स्थानको माटो बालुवा राखी त्यसमाथि जौ मकै गहु आदि मिलाएर जमरा राख्ेन र त्यसैमाथि एउटा तावाको कलश पूर्ण जलले भरी फुल आँप पत्ता आदिले सजाई त्यसमाथि एउटा जटा सहितको नरिवल राखि त्यसै कलशमा नौं दिनसम्म पुजा गर्नुपर्दछ। नौं दिनसम्म पुजा गरेको कलशको जल घरका सबै कोठामा छर्कनाले सम्पूर्ण बाधा नाश भई शुभ फल प्राप्त हुन जान्छभन्ने जनविश्वस रहिआएको छ। यसरी राखिएको जमरापनि नौ दिनसम्म गरेको पुजाको प्रभाव तथा देवी जीको शक्तिको प्रभावले गर्दा कलशलाई ढाकिसकेको हुन्छ। जती ठिटो जमराले कलशलाई ढाक्दै जान्छ त्यती नै शुभ संकेत भन्ने बुझिन्छ। अनि विजयदशमिको दिनमा त्यो जमरा घरका ठुलाबडाहरुबाट टिका जमरा प्रसाद ग्रहण गरिन्छ। यसो गर्नाले अवश्यपनि देवी भगवती माताले हामी सबैको कल्याण गर्नुहुने छ। दशैंमा धेरै ठाउँमा पशुवली दिने चलन छ। तर पशुवली दिएर देवी जी प्रशन्न हुने होईन। काम, क्रोध, लोभ, मोह, ईस्र्या आदिको वली दिने हो। कुभिण्डो, घिरौला आदिलाई सिङ, खुट्टा आदिको स्वरुप दिएर आसुरीभावको प्रतिको रुपमा वलि दिनुपर्दछ। सच्चा हृदयले फूल,चन्दन, अक्षता, पानपत्ता, सिन्दुर, अविरबाट गरेको पुजाबाट नै देवीजी प्रशन्न हुनुहुनेछ।यसमा पूर्ण श्रद्धा, विश्वास हुन जरुरी छ।
परापूर्वकालमा राक्षसहरुको स्वामी महिषासुर नामको दैत्यले घोर तपस्या गर्न लाग्यो। हजारवर्षसम्म तपस्या गरेको देखेर ब्रम्हाजी खुसी हुनुभयो र त्यस महिषासुरलाई दर्शन दिएर भन्नुभयो “ हे महिषासुर तिमीले गरेको तपस्या देखी म खुसी छु, के वरदान माग्छौ माग” भन्नुभयो। ब्रम्हाजीको यस्तो कुरा सुनेपछि महिषासुर दैत्यले भन्यो “ हे ब्रम्हाजी म देखी खुसी हुनुहुन्छ र मलाई वरदान दिनुहुन्छभने मलाई यस्तो वरदान दिनुहोस कि म स्वर्ग, मत्र्य र पाताल तिनै लोकको राजा बन्न सकु र मलाई कसैलेपनि मार्न नसकोस्, म अजम्बर बन्न सकँु।
महिषासुरको कुरा सुनेर ब्रम्हाजीले भन्नुभयो जन्म र मृत्य त सृष्टिको नियम हो। त्यसैले तिमीले अरु कुनै वरदान माग भन्नुभयो। तब त्यस राक्षसले भन्यो “त्यसो भए मलाई स्वर्ग, मत्र्य र पाताल लोकको कुनैपनि पुरुषले मार्न नसकुन्। म सबैभन्दा शक्तिशाली बन्न सकुँ ।” तब ब्रम्हाजीले तथास्तु भनी वरदान दिनुभयो।
त्यसपछि महिषासुरले स्वर्ग, मत्र्य र पाताल तिनै लोकमा आफ्नो प्रभुत्व जमाउन लाग्यो। स्वर्गका देवताहरुलाई मार्न थाल्यो। स्वर्गका राजा ईन्द्रलाई पनि बन्दि बनाएर त्यहाको सिंहासनमा बस्न लाग्यो। यसरी सबै देवताहरु पराजित भएपछि देवताहरु ब्रम्हाजीको पासमा गई सबै वृतान्त सुनाउन लागे। तब ब्रम्हाजीले भन्नुभयो “यसको उपायका लागि विष्णु र महादेवको शरणमा जानुपर्दछ।”
ब्रम्हा सहित सम्पूर्ण देवताहरु विष्णुजी भएका ठाउँमा गएर विषणुलाई लिएर महादेव भएको ठाउँमा गए। त्यसपछि महिषासुरले गरेका सम्पूर्ण कर्तुतहरु महादेवलाई सुनाएर भन्न लागे “यस महिषासुरले सुर्य, ईन्द्र, अग्नी, पवन चन्द्रमा, यम बरुण लगायत अन्य देवताहरुको अधिकार छिनेर स्वयं राजा बनेर बसेको छ। हामी सबैलाई अत्यन्तै दुःख दिईरहेको छ। हामी सबैको उद्धार हजुरले गरिबक्सन्छ, प्रभु हाम्रो रक्षा गर्नुहोस् र महिषासुरको बधको कुनै उपाय सोच्नुहोस् प्रभु।”
यसप्रकार ब्रम्हाजी देवताहरुको वचन सुनेर भगवान विष्णु तथा शिवले दैत्यहरुमाथि बडो क्रोंध गर्नुभयो। त्यसबखत श्री विष्णुका मुखबाट एउटा तेज निस्कियो। यसैप्रकार शिवजीको मुखबाट अर्को तेज प्रकट भयो।यसरी सम्पूर्ण देवताहरुको शरीरबाट तेज निस्कियो र आकाशतर्फ गयो। पछि एकैठाउँमा मिलेर भयंकर रुप लियो। सम्पूर्ण चराचर जगत जाजल्यमान हुन लाग्यो। देख्दादेख्दै त्यो शक्ति पुञ्जले नारीको रुप लियो। भगवान् शंकरजीको तेजबाट मुख बन्यो, श्री विष्णु भगवानका तेजबाट हातहरु बने। यमराजका तेजबाट शिरका कपाल बने। चन्द्रमाका तेजले दुवै स्तन, ईन्द्रको तेजले शरीरको मध्य भाग बने। बरुणका तेजबाट तिघ्रा र पिंडुला बने। पृथ्वीका तेजले नितम्ब भाग, ब्रम्हाको तेजबाट दुवै चरण बने। सूर्यका तेजबाट हातका औंला बने, कुवेरका तेजबाट नशाहरु बने। यसैप्रकारबाट प्रजापतिका तेजबाट दातहरु बने, अग्नीका तेजबाट तिन नेत्र प्रकट भए। यसरी सम्पूर्ण देवताहरुका तेजबाट शरीरका विभिन्न अंगहरु उत्पन्न भए। यसप्रकारबाट प्रकट भएकी कल्याणकारी भगवती देवी दुर्गा कहलाईन्। देवताहरु बहुत प्रशन्न भए अनी शंकरजीले एउटा त्रिशुल निकालेर देवीजीलाई दिनुभयो। विष्णुले चक्र दिनुभयो। बरुणले शंख, अग्नीले शक्ति, वायुले धनुष तथा वाणले भरिएको धनुकाँड दिए। ईन्द्रजीले बज्र उत्पन्न गरेर बज्र प्रदान गर्नुभयो। ईरावत हात्तिले घण्ट दिए। प्रजापतिजीले स्फटिक माला प्रदान गरे। विश्वकर्माले फर्सा दिए। हिमालयले सवारीका लागि सिंह तथा अनेक रत्नहरु दिए। यसप्रकारले सम्पूर्ण देवताहरुले देवीजीलाई आभूषण अस्त्र, शस्त्र दिएर देवीजीको सम्मान गरे। तत्पश्चात् देवीजीले भयंकर स्वरुप लिएर गर्जना गर्नुभयो। त्यो स्वरुपलाई देखेर तिनै लोक काम्न थाल्यो। अनी देवीले ब्रम्हा, विष्णु, महेश सहित सम्पूर्ण देवताहरुलाई भन्नुभयो “किन मलाई प्रकट गर्नुभयो?”
तब सम्पूर्ण देवताहरुले प्रार्थना गर्दै भने “महिषासुर नामको दैत्यले हामी सबैलाई अत्यन्तै दुःख दियो, उसको वधगरी हाम्रो रक्षा गर्नुहोस्।”यसरी देवताहरुले बारम्बर प्रर्थनागरी देवीजीको स्तुती गरे। पछि देवी भगवतीको दैत्यहरुसँंग भयंकर यु्द्ध भयो। सम्पूर्ण दैत्यहरुसंँगै महिषासुरलाई देवीजीले संहार गर्नुभयो र सम्पूर्ण चराचर जगतको रक्षा गर्नुभयो।
आश्विन शुक्ल दशमीमा देवीजीले दैत्यहरुमाथि विजय प्राप्त गर्नुभएकाले विजयादशमी मनाउन लागिएको हो भन्ने धार्मिक परम्परा छ। आसुरी शक्तिको पराजय गर्नु र सुख शान्तिको कामना गर्दै उनै भगवती देवीजीको शरणमा गई विधिपूर्वक पुजाआराधना गर्नाले अवश्य पनि देवीजी प्रशन्न हुनुहुनेछ। सबैलाई आर्शिवाद दिनुहुनेछ।
नवरात्रको समयमा विभिन्न यन्त्र र रत्नहरुको प्राण प्रतिष्ठा तथा जागृत गराई धारण तथा पुजन् गर्नाले दुःख, दरिद्र तथा रोग, व्याधी आदिले सताउने छैन। घरघरमा देवीजीको पुजा उत्सव मनाऔं। टीका, जमरा लगाई बडो हर्ष उल्लासका साथ दशैं मनाऔं। देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई,दिदीबहिनी, आमाबुवा सबैलाई २०७७ सालको बडादशैको शुभकामना ।
(लेखक ज्योतिष नगेन्द्र प्रसाद रोईला नेपाल ज्योतिष परिषद १ नं प्रदेशका महासचिव हुनुहुन्छ। उहाँ ज्योतिष सेवा सदन धरानमा कार्यरत हुनुहुन्छ)। (साभारः दिव्य रोशनी साप्ताहिक, वर्ष १६ अंक १९)

टिप्पणीहरू are closed.