मानव विकास संगै विनास तिर…..
समयले कहिले आफ्नो गति छाडेन, प्रकृतिले पनि आफ्नो मति खासै बिगारेन।सूर्य पहिलेपनि झुल्कन्थ्यो, अस्ताउँथ्यो। चन्द्रमा, तारापनि आफ्नै गतिमा उदाउथे, अस्ताउँथे ।रात पहिले पनि पथ्र्यो र अहिले पनि परेकै छ।पानी पर्नु,बादल लाग्नु, हावाहुरी चल्नु पहिलेपनि थियो त्यो अहिले पनि छ। खोला,नदिहरुमा बाढि आउनु,धमिलो हुनु,सङ्लिनु त्योक्रम अझैपनि निरन्तर नै छ। प्रकृतिमा खडेरी लाग्नु, पात झर्नु, फेरि बशन्तमा नयाँ पालुवा हाल्नु, रंगीविरंगी फुल फुल्नु,जातजातका फल लाग्नु, पाक्नु, फल झर्नु सबैक्रम लगभग जस्ताको तस्तै छ । ग्रहहरु आफ्नै क्रममा चल्नु, ग्रहण लाग्नु, यदाकदा भुँइचालो आउनु यी पनि पुरानैक्रममा निरन्तरता भएको पाईन्छ।
तर मानव चोलामा भने किन यति परिवर्तन? उहिलेका मानिस सज्जन, इमान्दार, मेहनती, लगनशील एवं निरोगी र शक्तिशाली पनि थिए।जो हामीले पाठ्यपुस्तक वा इतिहास पल्टाउँदा राम्ररी मनन् गर्न सकिन्छ। तिनै मानवका हामी क्रमबद्ध चल्दै आएको अहिलेको मानव हौं तर पहिलेको तुलनामा अहिलेको मानव, मानव नभएर दानवको रुपमा पनि पाईन्छ। सबैलाई त्यसमा नसमेटेपनि अधिकांशलाई त्यसमा समेट्न सकिन्छ।आखिर मानवको यो गति किन? यति फरक प्रकृति र भुगोल त लगभग उस्तै छभने मानवमा यति परिवर्तन किन? आफु मात्रै शक्तिशाली हुने, आफु मात्रै खाने, अर्काको ईष्र्या गर्ने कोही आफुभन्दा अगाडी बढेमा उसलाई खसाल्ने, मार्ने आखिर किन यस्तो भैरहेछ,के यो विज्ञाानको युग भएर? ना ना किसिमका गोला, बारुद र छेप्यास्त्र उत्पादन भएर के सबै मानव समान भै समान व्यवहार गरेर संसारलाई बुद्धको शैलीमा शान्ति सुव्यवस्था गरि चलाउन सकिन्न? आखिर किन यस्तो…..?
उहिलेको समयमा हाम्रा जिजुबाजे,बाजे र बाउहरुले पनि तत्कालिन समयमा राजा रजौटा, भरौटे, जिमदारी, पट्वारी,काजी आदिहरुको तानाशाही क्रुर व्यवहार भएको त सुन्दै आएका हौं । तर ती अहिलेको तुलनामा औंलामा गन्न सकिन्छ।तर अहिले भने भयावह अवस्थामा त्यस्ले रुप फेरेर मानव समाजमा कोलाहल मचाइरहेछ। जसको मारमा समाउने, टेक्ने नहुनेहरु छट्पटाइ रहेछन्।
अहिलेको समयमा मानवको संख्या बढेसँगसँगै सरकारी निजी कार्यालय संघसंस्था, वित्तिय संस्था आदि अत्याधिक मात्रामा रहेका छन्।तर कुनैपनि स्थानमा रोजगारी पाउन जो कोहीले सक्दै सक्दैनन्। उ क्षमतावान्, दक्ष र योग्य भएपनि उसको क्षमता,दक्षता र योग्याताको कदर हुँदैन। हुन्छ त केवल उ कसको मानिस हो, मन्त्री, सचिव, उपसचिव वा अन्य कुनै उच्च ओहोदाको हाकिम उनीहरुको सिफारिस आएमा उ अयोग्य नै भएपनि उसको रोजगारी पक्का,कित रोजगारी पाउन निकै ठुलो रकमको नापतौल गरि अगाडी लगानी गरे त्यस्ताले रोजगारी पाउँछन्।
घरमा बिहान–बेलुका हातमुख जोड्न नपाउनेले कहाँबाट रकम ल्याउने? तलमाथी आफ्नो मान्छे नहुनेले कहाँ कसलाई चाकडी गर्ने? मरीतरी यसो भोटले जिताका नेतालाई भन्यो भने “ए हामीले त्यो पदहरु खुल्ला प्रतिस्पर्धामा खोलेका छौं, तपाइपनि निवेदन हालेर कम्पिटिशनमा आउनुस्न” भन्छन्। यहाँ भन्सुन् लाग्दैन। जो योग्य छ, जसले राम्रो नम्बर ल्याउँछ, उहि पास हुन्छ” भन्छन्। तर भित्रभित्रै यो मन्त्रीको, यो सांसदको, यो सचिवको मानिस हो उसको नाम निकाल्नु भनेर भिटो प्रयोग हुन्छ र त्यसरी नै नजिकमा हुनेले जागिर पाए, अरुभने हेरेको हेर्यै हुन्छन्। फेरी नेतालाई भन्न गए “ए त्यो त फ्रि कम्पिटिशन भएको हो, त्यसमा तपाईको नाम आएनभने मैले केही गर्न सक्दिन, फेरीफेरी खुल्दा आवेदन हाल्दै गर्नु नी” भन्दै पन्छिने काम गर्दछन्।
हुन त उहिले पनि “ठेकी कोशेली”, चाकडी–चाप्लुसी गर्नेकै बढी बाहुल्यता हुन्थ्यो । त्यहीक्रम भंग गर्नलाई नेपाललाई नयाँ नेपाल, लोकतान्त्रिक गणतन्त्र नेपाल बनाएता पनि तानाशाही व्यवहार झनै मौलाएको छ। हत्या, हिंसा, बलात्कार,भ्रष्टाचार, नातावाद, कृपावाद, चाकडीवाद आदि अत्याधिक मौलाएको छ। आखिरी किन यस्तो भैरहेको छ?बुद्धको सन्देश शिरोधार्य गर्ने सबै मुलुक नै किन यस्तो अवस्थामा गुज्रिरहेको छ? के अब यो मानव संसारको अन्त्य हुँदैछ?संसारको आयु चाँडै समाप्त हुँदैछभने झैं मर्ने बेलामा बत्ति उज्यालो भएझैं मानव धेरै जान्ने, बुझ्ने भएर नै जानिजानि आफ्नो विनास आफैं गर्दैछन्। ना ना किसिमका वैज्ञाानिक आविष्कार गरि प्रकृतिलाई चुनौति दिंदै त्यसको परिणाम पनि आफैं भोग्दैछ।भुकम्प, सुनामी, बाढी,पैह्रो त थिदै थियो अब यो महामारी कोभिड–१९ लाई भित्र्याउने पनि मानव नै हैन र? यसरी समय र प्रकृतिलाई हामीले नबिगारी उसँगै उसको मेलोमा अनुशासित भइ जीवन जिउने प्रक्रिया अगाडी बढाएको भए यतिसारो आतंकित भइ बाँच्नुपर्ने थिएन होला।
समय दिन–रात उहिले पनि यस्तै अहिलेपनि यस्तै मानिस पनि उहिले र अहिले उस्तै–उस्तै तर उसको व्यवहार किन परिवर्तन ? यो कुरा हामीले बुझेर मनन गरेर यसबाट हामीले कसरी किनारा पाउने विषयमा सबैले सोच्नुपर्ने आवश्यक छ कि?
(समाप्त) (धरान–१४, विजयपुर) दिव्य रोशनी साप्ताहिक वर्ष १६ अंक ६ (मिती २०७७ असार २८ )मा प्रकाशित