नेपाली पात्रो र लोसर बिदा

निमा पोङ्स्युवा/

विषय प्रवेषः
नेपालका हिमाली आदिवासी तथा बौद्ध धर्मावलम्बीले मनाउने गरिएको चाँड लोसर एक महत्वपूर्ण चाड हो। लोसर पर्व नेपाल लगायत एसियामा प्राय सबै देशहरुमा मनाईन्छ।
धरान उपमहानगरपालिकाले यस वर्ष लाङ लो(गोरु वर्ष) को अवसरमा सार्वजनिक बिदा दिएको छ। उपमहानगरले नेपाली पात्रो अनुसार यसरी सार्वजनिक बिदा दिएको हो । धरान उपमहानगरले यसपटक दिएको सार्वजनिक बिदा स्वागत योग्य छ। यस अघि सार्वजनिक बिदा माग गर्दै धरान उपमहानगरमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धरानको अगुवाईमा लोसर सहित चासोक, साकेला, चासुवा, योमरी पुन्ही लगायत आदिवासीको चाडपर्वमा सार्वजनिक बिदा माग गर्दै ज्ञापनपत्र बुझाउन गएका थिए । तर दुर्भाग्यपूर्ण स्थानीय सरकारले सार्वजनिक बिदा दिएन। यस वर्ष सार्वजनिक बिदा त दियो तर एक महिना अगाडि नै लोसर मनाईसकेको छ। तर यहाँ अलमल पार्ने काम पात्रोले गरेको छ। यसपटकको बिदा सम्बन्धीत समुदायले सदुपयोग तथा अपनत्व ग्रहण गर्न सकेन।
यस्तै घटना तत्कालीन शक्ति बस्नेत गृहमन्त्री हुँदा पात्रोमा लोसरको तिथिमिती फरक परेको भनेर नेपाल शेर्पा संघको अगुवाईमा गृहमन्त्रालयमा आङकाजी सहित पुगेका थिए । त्यहाँ शक्ति बस्नेत र आङकाजी बिच घम्साघम्सिको अवस्था नै भएको थियो। पात्रोमा एक महिनापछि लोसर जनाएकोले सच्याउन भनेर ध्यानाकर्षण पत्र लगेर गएका थिए। राष्ट्रपति विद्या भण्डारीले पनि हालकै अवस्था जस्तै एक महिना अघि सकिएको लोसरको शुभकामना दिएका थिए। यी कुरा मिडियामा पनि आएका थिए। यस्तै विवाद अन्योल गत सालको तिहारमा पनि नेवारी समुदायको बिषयमा भएको थियो। पछि पुनः एक दिन सार्वजनिक बिदा थपिएको हो।
नेपालमा आदिवासी मुलबासी भुमिपुत्र भएकै कारण आदिमकालदेखी नै लोसर मनाउदै आएका छन्। नेपालमा मनाईने लोसर पनि तीन प्रकारका छन। (१) तोल लोसर (२) सोनाम लोसर (३) ग्याल्पो/ज्यालो लोसर।लोसरको बारेमा अघिल्लो लेखमा लेखिसकेकोले बिस्तृत उल्लेख गरिन।
यी तिनै लोसर तीन समुदाय तीन समय तिथि मितिमा मनाउने गरिन्छ। तोल लोसर विशेषगरि गुरुङ समुदायले मनाउने गरिन्छ । तोल लोसरलाई सुर्य पात्रो अनुसार हरेक वर्षको पौष १५ गतेको दिन मनाउने गरिन्छ । त्यसैगरी सोनम लोसर पनि अर्को महत्वपूर्ण लोसर हो।यो लोसर विशेषगरि किसान वर्गले मनाउने गरिन्छ।यो लोसर चन्द्र पात्रो अनुसार मन्जुश्री सम्बत अनुसार मनाउने गरिन्छ । सोनम लोसरलाई नेपालमा तामाङ समुदायले मनाउने गरिन्छ। अर्को लोसर हो ज्यालो/ ग्याल्पो लोसर हो । सोनाम लोसरको ठिक एक महिनापछि यो लोसर मनाउने गरिन्छ। तोला लोसर सोनम लोसर नमनाएका समुदायले अन्तिममा ज्यालो/ ग्याल्पो लोसर मनाउने गरिन्छ। यो लोसर बुद्ध सम्बत चन्द्र पात्रो अनुसार भोट पात्रोको तिथि मितिमा मनाउने गरिन्छ। अहिले मन्जुश्री सम्वत् २८५७ र भोट सम्बत २१४८ शुरु भएको छ।
माथी उल्लेख गरिएका छुट्टाछुट्टै लोसर छुट्टाछुट्टै समुदायले छुट्टाछुट्टै समय तिथि मितिमा मनाउने गरिन्छ। समय तिथिमिति छुट्टाछुट्टै नै हुन्छ। तर तोल लोसर सोनम लोसर ग्याल्पो लोसर फरक समुदायको हो भन्ने कुरा सरासर गलत हो। गाउँघरमा तोल लोसरलाई सानो लोसरको रुपमा मनाउने गरिन्छ। त्यसको ठिक एक महिनापछि ठूलो लोसरको रुपमा सोनम लोसर अर्थात ज्यालो ÷ ग्याल्पो लोसर मनाईन्छ। लोसर तीन प्रकारको नामबाट जानिए बुझिए पनि बास्तबिकता मनाउने भनेको एक महिनाको फरकमा दुई लोसर मनाउने हो। सानो लोसर तोल लोसर नै हो । ठूलो लोसरको रुपमा सोनम लोसर मानिन्छ र सोनम लोसरलाई ज्यालो/ ग्याल्पो पनि भनिन्छ।
यी लोसर मुख्य तीन समुदायले फरक समयमा तिनपटक मनाउने गरेको कारण पनि पछिल्लो समयमा नेपाल सरकारले बिदा कटौतीको बहाना भएको छ । अर्को कुरा तोला लोसर पौष १५ गते सुर्य पात्रो अनुसार गुरुङ समुदायले मान्ने र सोनम लोसर ग्याल्पो लोसर तामाङ, शिङ्साबा, भोटे र शेर्पा लगायतले चन्द्र पात्रो अनुसार तिथिको आधारमा मनाउने भएपछि पात्रो निर्माणमा अन्योलता देखिएको छ।त्यही अन्योलका कारण एक महिना अगाडि मनाईसकेको लोसर अर्को महिनामा सार्वजनिक बिदा दिने हुँदा बेमौसमी बिदा हुन गएको छ। यी बिषयलाई लिएर लोसर एकै समयमा मनाउने प्रयासमा छलफल पनि भैरहेको छ। एकै समयमा लोसर मान्नाले राज्यलाई बिदा दिन सजिलो र लोसर मान्ने सबैको एकता पनि हुने भनेर विद्वानहरु पटक पटक बसिकेको छ।
किन यस्तो भयो त?
किन यस्तो अवस्था सिर्जना भयो त भन्ने कुरा महत्त्वपूर्ण हुन आउँछ। पात्रो तयार गर्दा एकल रुपमा मनोमानी ढंगले गत साल यो महिनाको यो गते तिथिमा लोसर परेकोले यस वर्ष पनि सोही गते तिथिमा हो भनेर मनगढन्ते पाराले पात्रो तयार गर्दा यस्तो अवस्था सिर्जना भएको हो। नेपाल बहुजातीय देश हो । यो कुरा भनिराख्नु पर्दैन । फरक जाती समुदायको संस्कार संस्कृति एकै जनाले जानेर बुझेर साध्य हुँदैन। सम्बन्धित समुदायको बारे सम्बन्धित समुदायको बिज्ञको परामर्श सल्लाह तथा सहभागी नहुँदा यस्तो भएको हो। लोसरको बिषय तिथिमिति तथा बौद्ध धर्म सम्बन्धि दिवस शुभ कर्य घडी पल्ला सम्बन्धित बिज्ञलाई नै बढी थाहा हुन्छ । लोसरको तिथिमिति मन्जुश्री पात्रो तथा बुद्ध सम्बत भोट सम्बत मान्ने र पात्रो निर्माण गर्नेहरुलाई नै थाहा हुन्छ। लोसरको तिथिमिती यी बिज्ञसंग बसेर परामर्श लिएको भए अन्योल र विवाद हुने थिएन। लोसर मात्र नभएर अन्य समुदायको पनि यस्तै समस्या होला। जसका लागि सम्बन्धी समुदायको बिज्ञ राखेर वा परामर्श गरेर वा आफ्नो बारे तिथिमिती माग गरेर पात्रो निर्माण गरेको अवस्थामा यस्तो अन्योल हुने थिएन। यस वर्षको लाङ लो (गोरु वर्ष) पनि एक महिनामा सोनाम लोसर र ज्यालो/ ग्याल्पो लोसर एकै महिनामा परेको छ।यस विषयलाई लिएर हाम्रो पात्रोले पुर्व प्रकाशित चैत १ गतेको ग्याल्पो लोसर गत महिनाको माघ ३० भनेर सच्याईसकेको छ।
समाधान के हो?
हामी जहिले पनि बिरोध गरेको मात्र देख्छौ। बिरोध मात्र गर्नुपर्ने अवस्था आउँछ । राज्य शासक आफ्नो मनोमानी ढंगले अगाडि बढिरहेको हुन्छ। सुनुवाइ नभएपछि आवाज उठाउन बाध्य हुन्छ। त्यो अरुको नजरमा विरोध भैदिन्छ। लोसरको बिषयमा त्यस्तै भएको छ। पटकपटक यसरी तिथिमिती फरक भैरहेको जानकारी गराईरहेको भए पनि सुनुवाइ नहुँदा अन्योल भएको छ। विक्रम सम्बतको शुरुआत महिना बैशाखबाट हुने भएकोले पात्रो तयार फागुन मै भईसक्छ। त्यो पात्रो तयार गर्न अघि पंचांगको छलफलपछि निर्णय भएर पात्रो प्रकाशन हुने गरिन्छ। कुरा यहीँबाट बिग्रीएका हुन्छ। यसरी पात्रो तयार पार्न अघि बसिने पंचांगको भेला छलफलमा सम्बन्धीत समुदायलाई पनि समाबेश गरेर पात्रो तयार गर्दा विवाद र अन्योल सिर्जना हुदैन। यदि पंचांगमा समाबेश गर्न नसकिए पनि सम्बन्धीत जाती समुदायको चाडपर्व लगायत तिथिमिती कहिले हुनसक्छ भनेर लिखित रुपमा अग्रिम माग गरेको खण्डमा पनि समस्या आउन सकिँदैन । हामी अरुले मागेको भरमा मात्र कुरेर बस्ने अर्को कमजोरी छ । आगामी वर्षको लोसर, चासोक, योमरी पुन्ही, साकेला लगायत कहिले पर्छ सो कुरा सम्बन्धित समुदायको संस्थाले बिज्ञ राखेर छलफल गरेपछि निर्णय गरेर पंचांगलाई उपलब्ध गराउन सकिन्छ।
अन्त्यमाः
स्थानीय सरकार धरान उपमहानगरपालिकाले यस वर्ष लोसरको अवसर पारेर सार्वजनिक बिदा गरिदिनु भएकोमा हार्दिक धन्यवाद दिनैपर्छ । पात्रोको कारणले हामिले गत महिनामै लोसर मनायौ।यस वर्ष पनि कोरोनाको महामारीको कारण शिङ्साबा समुदायले गत सालको जस्तै कुनै पनि औपचारिक कार्यक्रम गरेर सामुहिक रुपमा मनाउने वातावरण भएन।आगामी दिनमा स्थानीय सरकार धरान उपमहानगरसंग समन्वय परामर्श र अग्रिम सुसूचित गराएर सहज बनाउने बिश्वास दिलाउछौ। च्या – मो – लाङ लो ( फलाम – स्त्री – गोरु वर्ष)ज्यालो लोसरको सबैमा सुस्वास्थ्य, सुख शान्ति दीर्घायुको मंगलमय शुभकामना व्यक्त गर्दछु।
(लेखकः पोङ्स्युवा चिसेफायु साप्ताहिकका सम्पादक हुन्।) दिव्य रोशनी साप्ताहिक बर्ष १६ अंक ३९ बाट साभार

15,269 thoughts on “नेपाली पात्रो र लोसर बिदा