भोजपुर–सुनसरी सेवा समाजले भवन निर्माणका लागि साँगीतिक साँझ गर्ने

दिव्य रोशनी(धरान)/
भोजपुर–सुनसरी सेवा समाज, धरानले आफ्नै कार्यालय भवन निर्माणका लागि साँगीतिक साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ।
मंगलबार धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै समाजले भवन निर्माणका लागि साँगीतिक साँझ कार्यक्रमको आयोजना गर्ने जनाएको हो। पत्रकार सम्मेलनमा समाजका अध्यक्ष रेवतीरमण राईले समाजको सदस्यहरूको सेवा साथै विभिन्न कार्यक्रम सञ्चालनका लागि बहुउपयोगी भवन निर्माणका साथै आर्थिक संकलन गर्न सांगीतिक साँझ कार्यक्रमको आयोजना गर्न लागिएको बताए। उनले हालसम्म जग्गा व्यवस्था भइसकेको छ र भवन निर्माण प्रारम्भिक चरणमा पुगेको समेत जानकारी दिए।
समाजले आगामी भदौ २८ गते धरान–१५ स्थित चुम्लुङ हिममा सांगीतिक साँझ गरिने जनाएको छ। जसमा समाजले “भीषण मुकारुङ एकल सांगीतिक साँझ २०८२” नाम दिएको छ। कार्यक्रममा गायक भीषण मुकारुङले एकल प्रस्तुति दिनेछन् । उनले १५ वटाभन्दा बढी गीत गाउने समाजका अध्यक्ष रेवतीरमण राईले जानकारी दिए। उनले सबै भोजपुरे, धराने, सुनसरीबासी तथा देश–विदेशमा रहेका समाजसेवीहरुलाई कार्यक्रममा सहभागी भई सहयोग गर्न आग्रह समेत गरे।
२०७० सालमा स्थापना भएको भोजपुर सुनसरी सेवा समाजमा हालसम्म करिब १ हजार आजीवन सदस्य आवद्ध रहेका छन्। समाजले विपद् राहत, बिरामीको उपचार, स्वास्थ्य शिविर, रक्तदान, खेलकुद विकास, पर्यटकीय स्थलको प्रचार÷प्रसार जस्ता विभिन्न सामाजिक कार्य गर्दै आएको छ।
समाजले सांगितीक कार्यक्रमका लागी करिब ८५ लाख बराबरको टिकट बनाइएको पनि जनाएको छ। अध्यक्ष राईले यो सांगीतिक साँझ केवल मनोरञ्जनका लागि मात्र नभई समाजको भवन निर्माणको लागी भएकाले समाजको सपना साकार पार्न सबैको साथ र सहयोगको खाँचो रहेको बताए। उनका अनुसार हाल समाजले धरान १५ नं. वडा कार्यालयको सहयोगमा गणतान्त्रिक बस्तीमा उपमहानगरबाट प्राप्त जमिनमा सामन्य कटेरो बनाई कार्यालय सञ्चालन गर्दै आएको छ।
पत्रकार सम्मेलनमा गायक भिषण मुकारुङले यसअघि भोजपुरे सेवा समाज काठमाडौंको आयोजनामा २०७९ असोज ६ गते पहिलो एकल सांगीतिक साँझ कार्यक्रम सम्पन्न गरेको बताए। उनले सो कार्यक्रमले नेपाल जेष्ठ नागरिक संरक्षण संघ ट्याम्के मैयुङ ३ अन्नपूर्णका लागी एम्बुलेन्स खरिद गरेको समेत जानकारी दिए। “यो मेरो दोश्राो एकल सांगीतिक कार्यक्रम हुनेछ, जसले भोजपुर सुनसरी समाजको भवन निर्माणको लागि सहयोग जुट्ने आशा राखेको छु” उनले भने।
दुई दशकभन्दा लामो समयदेखि सांगीतिक यात्रामा रहेका मुकारूङले “विश्वासको बन्धन”, “सक्सेस”, “संवाद”, “माहौल”, “चन्द्रमुखी”, “एउटा सत्य” लगायतका एल्बम बजारमा ल्याएका छन्। गायक मुकारुङका “अँधेरीमा जुन फूल्दा”,“खोर्सानी डल्ले”, “चन्द्रमुखी”,“ए सिम्मा” लगायतका गीत चर्चामा रहेकाछन्। (दिव्य रोशनी साप्ताहिकबाट)