कुलुङ जातीको संस्कृति र पहिचान समेटिएको “कूलू रिदुम” पुस्तकको विमोचन
दिव्य रोशनी(धरान)/
कुलुङ जातीको संस्कृति र पहिचानको विषय समेटिएको “कूलू रिदुम” पुस्तकको धरानमा विमोचन गरिएको छ ।
शनिवार धरान ५ देवीगाउँ स्थित नेपाल किरात कलुङ भाषा संस्कृती उत्थान संघको भवनमा सो पुस्तक विमोचन गरिएको हो। प्रेमचन्द्र कुलुङद्धारा लिखित सो पुस्तकको एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथी आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले विमोचन गरेको थिए। कार्यक्रममा प्रमुख अतिथी गुरुङले पुस्तकसँंग किरातकालीन कुलुङ भाषा, संस्कृति उत्थान र पहिचान जोडिएको बताए। उनले कुलुङ जातीय अस्तित्व समेटन प्रतिष्ठानमा कुरा उठाउने बताउँदै आफ्नो तर्फबाट माग सम्बोधन गर्न तत्पर रहेको समेत बताए।
कार्यक्रममा संघका केन्द्रिय सदस्य संयोगान्त कुलुङले कुलुङ जातिलाई हालसम्म अन्य समुदायले “राई” समुदाय भनेर चिन्ने गरेपनि वास्तवमा कुलुङहरुको आफ्नै अलग्गै जाती, पहिचान, ऐतिहासिक भूमि, वंश–परम्परा, मातृभाषा, भेषभूषा, संस्कार, रीतिरिवाज रहेको बताए। उनले कुलुङ जातीलाई बेग्लै जातीमा सूचिकृत गर्न माग गरेपनि राज्यले बेवास्ता गरेको बताए।
सोहिक्रममा केन्द्रिय सदस्य कुलुङले किरात राई यायोक्खाले नै कुलुङ जातीलाई तल्लो स्तरमा राखेर कुलुङ जातीलाई अपमान गरेको समेत आरोप लगाए। उनले यायोक्खाले कुलुङ जातीको मागलाई सुनवाई नगरि एनजियो जस्तो गरेको कारण बहिस्कार गर्नुपर्ने समेत बताए। उनलेभने “यायोक्खाले कुलुङहरुको मर्म भावन समेटेन अब कुलुङ जातीका युवाहरु राजनैतिक रुपमा विकशित हुन तयार हुनुपर्दछ अनि मात्र हाम्रो मुद्धालाई स्थापित गर्न सकिन्छ।”
यसैगरी पुस्तकका लेखक प्रेमचन्द्र कुलुङले पुस्तकमा कुलुङको सभ्यता र संस्कृति उल्लेख गरिएको बताउँदै पुस्तकले कुलुङ भाषाको आवश्यक जानकारी दिनेसमेत बताए। संघका अध्यक्ष चन्द्र सिंह कुलुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कुलुङ समुदायका अगुवाहरुहरुको उपस्थिती रहेको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)