पब्लिक हाइ स्कुलका विद्यार्थी मोटिभेशनल तालिममा धुरु धुरु रोए
श्री पब्लिक हाइ स्कुल, धरानमा आयोजना गरिएको प्रेरणादायी (मोटिभेशनल) तालिमले विद्यार्थीहरूमा गहिरो प्रभाव पार्दै भावुक बनाएको छ । नेपालका प्रख्यात मोटिभेशनल वक्ता डा. ताराप्रसाद गिरी (डा. ताराजी) को प्रस्तुतिले विद्यार्थीहरू “धुरुधुरु रोएको“ दृश्यले कार्यक्रमको प्रभावशालीता झल्किएको थियो ।
विद्यालयका प्रधानाध्यापक डा. इन्द्र मोहन झाका अनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यार्थी, शिक्षक र अभिभावक लक्षित तालिमको आयोजना गरिएको हो । तालिमपछि सहभागी विद्यार्थीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको र तालिम अत्यन्त प्रभावकारी रहेको डा. झाले बताउनु भयो ।
यस किसिमको मोटिभेशनल तालिम काठमाडौंका नाम चलेका संस्थागत विद्यालयहरूमा मात्रै केन्द्रित हुँदै आएकोमा, धरानका सामुदायिक विद्यालय धरानको पब्लिक हाइ स्कुलले समेत कार्यक्रम आयोजना गरेकोमा डा. ताराजीले खुशी व्यक्त गरे । सहभागी विद्यार्थीहरूको अनुशासन र कार्यक्रम व्यवस्थापनले आफू गहिरो रूपमा प्रभावित भएको प्रतिक्रिया उनले दिनुभएको छ ।
शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म कक्षा १२ का करिब ४०० विद्यार्थी सहभागी भएका थिए । त्यसैदिन दिउँसो १ बजेदेखि ४ बजेसम्म कक्षा १० का साथै कक्षा ६ देखि १० सम्मका मोनिटरसहित ३२५ विद्यार्थीले तालिममा सहभागिता रहेको विद्यालयका एकेडेमिक इन्चार्ज वीरेन्द्र बहादुर शाहले जानकारी गारउनु भयो ।
शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म ३०० अभिभावक र दिउँसो १ बजेदेखि ४ बजेसम्म २५० जना शिक्षक तथा कर्मचारीका लागि छुट्टाछुट्टै सत्र आयोजना गरिएको कार्यक्रमका संयोजक तथा साइन्स तथा इलेक्ट्रिकल विभाग प्रमुख मोहन श्रेष्ठले उक्त जानकारी दिनु भएको छ ।
कार्यक्रमको शुभारम्भमा प्रधानाध्यापक डा. झाले सहभागीहरूलाई स्वागत गर्दै तालिमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्रकुमार राईले तालिमले विद्यार्थीहरूको व्यवहार र अध्ययनप्रति झनै लगाव बढाएको बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले विद्यालयको शैक्षिक गुणस्तर उकास्न अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिइएको उल्लेख गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विभिन्न निकायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।