विमल गुरुङ स्मृति पुस्तकालयद्वारा पुस्तक र कविता पठाउन आव्हान
दिव्य रोशनी(धरान)/
धरान १८ स्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले “विमल गुरुङ कृति पुरस्कार” का लागि पुस्तक र “राष्ट्रिय कविता महोत्सव” का लागि कविता पठाउन आव्हान गरेको छ।
पुस्तकालय संचालक समितिको बिहीबार बसेको पूर्ण बैठकले आगामी कात्तिक १९ गते सम्पन्न हुने ३४ औं राष्ट्रिय कविता महोत्सवमा कविता प्रतियोगिताका लागी नेपाली भाषीहरुलाई कविता पठाउन आव्हान गरिएको छ। पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले राष्ट्रिय कविता महोत्सवमा बिजेताहरुलाई क्रमशः प्रथमलाई प्रमाणपत्रसहित नगद २१ हजार रुपैयाँ, द्धितीयलाई १८ हजार रुपैयाँ र तृतीयलाई १७ हजार रुपैयाँ प्रदान गरिने बताए।
कविता महोत्सवमा सहभागी हुनलाई स्वदेश र विदेश बसेका नेपाली साहित्यकारहरु सबैका लागि खुल्ला गरिएको छ । कविहरुले अन्य कुनै पनि अनलाईन पोर्टल, सामाजिक संजाल, पत्रपत्रिका, कविता संग्रह वा पुस्तकमा प्रकाशित नभएको कविता पुस्तकालयको आधिकारिक इमेल bimal1234gurung @gmali.com मार्फत कविता पठाउन सक्ने छन् । कविताको शव्द संख्या यति नै हुनुपर्ने र निश्चित “कन्टेन्ट” मा लेख्नै पर्ने भन्ने नभएको पुस्तकालयले जनाएको छ।
यसैगरी पुस्तकालयले “विमल गुरुङ कृति पुरस्कार” का लागि २०८१ साल भरीमा नेपाली भाषामा प्रकाशित जुनसुकै विद्याका पुस्तक पनि पठाउन आव्हान गरेको छ। प्रतियोगितामा उत्कृष्ट ठहरिएका एक पुस्तकलाई विमल गुरुङ कृति पुरस्कार प्रदान गरिने पुस्तकालय व्यवस्थापित समितिका उपाध्यक्ष प्रदिप मेन्याङ्वोले बताए। उनले कृति पुरस्कार नगद २ लाख रुपैयाँसहित ताम्रपत्र र दोसल्ला रहेको समेत जानकारी दिए। उनका अनुसार यसअघि भारतीय नागरिक विजय कैलाशी राईको उपन्यास “मित्याङ्सा” र प्रकाश थाम्सुहाङको निबन्ध कृति “शब्दथुम” लाई उत्कृष्ट कृति घोषित गरिएको थियो।
यसैगरी विमल गुरुङ कृति पुरस्कार हालसम्ममा काङ्माङ नरेशको कविता संग्रह “तेप्लायु”, चन्द्र गुरुङको कविता संग्रह “जब एउटा मान्छे हराउँछ” ले प्राप्त गरिसकेको छ। श्रष्टाहरुले वि.स. २०८१ सालभरी प्रकाशित भएका आफ्नो चारप्रति कृति “कवि विमल गुरुङ स्मृति पुस्तकालय, धरान–१८, बुद्धचोक” मा सिधै पठाउनुपर्ने प्रावधान रहेको उपाध्यक्ष मेन्याङ्वोले बताए। कृति आगामी भदौं सम्ममा पठाईसक्नु पर्नेछ।
पूर्णबहादुर गुरुङ र श्रीमति सरस्वती गुरुङका एक्ला छोरोको रुपमा वि.स. २०२८ कार्तिक १९ गते हङकङको किङ्स पार्क अस्पतालमा विमल गुरुङ जन्मेका थिए। उनका बालापनका केही समयहरु र प्रारम्भिक शिक्षा हङ्कङ्कै गोर्खा आर्मी चिल्ड्रेन्स स्कूलबाट लिए। किशोर उमेरमै विमलले आफ्नो अध्ययनसंँगै कला, साहित्य, दर्शन, चिन्तन र लेखन आकर्षित हुँदै “दृष्टी साप्ताहिक” मा पत्रकारिता पनि गरेका थिए।
उनी बाँचेको १९ वर्ष ६ महिनासम्ममा विषेशगरी माक्र्सवादी सौन्दर्यशास्त्र र पाश्चात्य साहित्य र दर्शनसँंगै भारतीय दर्शन पनि अध्ययन गरेर समाजमा फरक विचार निर्माण गर्दै दर्जनौं शक्तिशाली कविताहरु लेखे। उनलाई कतिपय समालोचकहरुले नेपालको जोन किट्सको संज्ञा समेत दिएका छन्। उनको देहान्त भएसकेपछि ५० दशकमा “एक किलो जंगल” कविता चर्चाको विषय बनेको थियो।
२०४८ को आम निर्वाचनमा आमासंँग काठमाण्डौबाट धरान फर्कदा धादिङ्को जुकेपानीमा बस दुर्घटना हुँदा बैशाख २४ मा उनको देहान्त भएको थियो।
विमलको देहान्त पछि उनले अध्ययन गरेका र अध्ययन गर्न संकलन गरेका पुस्तकहरुलाई समेटेर गुरुङ दम्पतीले धरान १८ बुद्धचोकमा जग्गा खरिद गरी दुइतले पक्की भवन निर्माण गरेर “कवि विमल गुरुङ स्मृति पुस्तकालय” स्थापना गरेको पुस्तकालयका सचिव चन्द्र गुरुङले बताईन्। (दिव्य रोशनी साप्ताहिकबाट)