भेडेटारबाट शुरु भएको तीनदिने अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन इटहरीमा पुगेर सम्पन्न

दिव्य रोशनी(धरान)/
तीन दिने अन्तर्राष्ट्रिय ज्योेतिष वस्तु तथा तन्त्र सम्मेलन सोमवार सम्पन्न भएको छ।
गत शनिवार धनकुटाको भेडेटारबाट शुरु भएको तीनदिने अन्तर्राष्ट्रिय ज्योतिष वस्तु तथा तन्त्र सम्मेलन सोमवार सुनसरीको इटहरीमा पुगेर सम्पन्न भएको हो। शनिवार भेडेटारमा सम्मेलनको उद्धघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले गरेका थिए। उनले ज्योतिषको नाममा केही व्यक्तीहरुले दुरुपयोग गरिरहेकोले काउन्सिल बनाएर नियन्त्रण र नियमन गर्नुपर्ने बताए।
सोहिक्रममा प्रमुख अतिथी मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा तान्त्रिक अध्ययन गर्ने केन्द्रीय कार्यालय बनाए प्रदेश सरकारले पनि सहयोग गर्ने बताए। उनले ज्योतिष विद्या संस्कार र संस्कृति भएकाले यसको रक्षा गर्नु सबैको दायित्व भएको समेत बताए।
एक फरक प्रसंगमा मुख्यमन्त्री कार्कीले किराँत धर्म कोशी प्रदेशबाट सुरु भएकोले त्यसको उजागर गर्दै यसवर्षदेखी कोशी पर्यटन वर्ष मनाउन थालिएको बताए। उनले आफूलाई पहिचान विरोधीको आरोप लागेपनि आफू पहिचानको पक्षमा रहेको दावी गर्दै प्रदेश सरकारले किरातहरुको आस्थाको केन्द्र खुवालुङ र किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास भएको इलाममा विकासको काम गरिरहेको बतए। उनका अनुसार महागुरु फाल्गुनन्दको नाममा पाँचथरमा ६८ किमी लामो पदमार्ग निर्माण भइरहेको, धनकुटा र तेह्रथुममा १ सय किमीको लालीगुराँस पदमार्ग, इलाममा २० किमीको चियाबारी पदमार्ग र वराहक्षेत्रबाट भोजपुर खोटाङ हुँदै १ सय ६८ किमी लामो मुन्धुम पदमार्ग निर्माणको काम भइरहेको छ।
ज्योेतिष वस्तु तथा तन्त्र सम्मेलनको समापनभने कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा सुनसरीको ईटहरीमा सम्पन्न भएको थियो। समापन कार्यक्रमका प्रमुख अतिथी पूर्व मुख्यमन्त्री कार्कीले ज्योतिष विज्ञानलाई गहन अध्ययनको विषय बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै नेपालले विश्वका वैज्ञानिकलाई नेपाल ल्याएर ज्योतिषशास्त्रको अध्ययन गराउन सक्ने क्षमता रहेको बताए। उनले ज्योतिषीय भविष्यवाणी शब्दमा मात्र होइन, चित्रमा पनि देखाउन सकिने प्रविधि विकास गर्नुपर्नेमा समेत जोड दिए।


यसैगरी भारत सिक्किम राज्यका पूर्वमन्त्री जीएम गुरुङले सिक्किम र नेपालबीच जैविक विविधता तथा सांस्कृतिक समानता रहेको बताए। उनले पौराणिक पात्र हनुमानले सञ्जीवनी बुटी भेटेको पहाड सिक्किम नै हुन सक्ने सम्भावना रहेको दाबी गर्दै त्यस्तो जैविक विविधता आज पनि सिक्किममा पाइने जानकारी दिए।
सम्मेलनमा विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकनाथ पौडेल, दक्षिण एसियाली ज्योतिष महासंघका अन्तर्राष्ट्रिय समितिका सभापति लक्ष्मण पन्थी, दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष सहदेव विष्ट, नेपाल ज्योतिष परिषद्का अध्यक्ष कमलप्रसाद काफ्ले लगायत नेपाल साथै भारत, बंगलादेश, मलेसिया, हङकङ लगायतका देशबाट आएका ख्यातिप्राप्त ज्योतिषविद्, तन्त्र साधक, पण्डित, अनुसन्धानकर्ता साथै ज्योतिषका विद्वानहरूको उपस्थिति रहेको थियो।
सम्मेलनमा ज्योतिष वास्तु तथा तन्त्रको पूर्वीय दर्शनका विभिन्न क्रियाकलाप सञ्चालन गरिएको थियोभने सहभागीहरूले आ–आफ्ना देशका परम्परागत तान्त्रिक तथा ज्योतिष पद्धतिबारे अनुभव आदान÷प्रदान समेत गरेका थिए। सोही अवसरमा विभिन्न विधाका ज्योतिषी गुरुहरूलाई विभिन्न अवार्डद्वारा सम्मान समेत गरिएको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)