धरानमा विषादियुक्त फुलकोपी नष्ट गरियो
दिव्य रोशनी(धरान)/ धरानमा बिक्रीका लागी ल्याईएको फुलकोपीमा अत्यधिक मात्रामा विषादी भेटिएपछि २ हजार ४ सय १२ केजी फुलकोपी नष्ट गरिएको छ।
धरान १३ कृषि उपज बजारमा ल्याइएको २ हजार ४ सय ४२ केजी फुलकोपीमा ९७ दलमलब ४ प्रतिशत अर्गानोफ्स्फेट नामक विषादी भेटिएपछि मंगलवार विहान नष्ट गरिएको हो।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले गरेको परीक्षणमा मानव उपभोगका लागि अयोग्य ठहरिएपछि फुलकोपी तत्काल नष्ट गरिएको उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघाले जानकारी दिए।
यसअघि पनि कृषि बजारमा केही तरकारीमा विषादी भेटिए पनि यति धेरै मात्रामा विषादी भेटिएको यो पहिलो पटक हो। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई धरानका नायब प्राविधिक सहायक रुपेश रिजालले पालुङबाट आएको फुलकोपी परीक्षण गर्दा विषादी भेटिएको बताए । उनका अनुसार ३५ प्रतिशत भन्दा कम विषादी भएकालाई उपभोग योग्य मानिँदै आएको छ। ३५ प्रतिशत माथि ४५ प्रतिशत केही दिन क्वारेन्टईनमा राखेर बजार पठाउने गरिन्छ । ४५ प्रतिशत भन्दा बढी विषादी पाइएमा नष्ट गर्ने नियम भएको उनले बताए ।स्वास्थ्यका लागि यस्तो विषादी अत्यन्तै खतरनाक हुन्छ।
कृषि बजारमा गरिएको परीक्षणअनुसार सिधुवा, धनकुटाबाट ल्याइएको फुलकोपीमा ८.३९ प्रतिशत, गाजरमा १०.११ प्रतिशत, खिरामा ३०.७३ प्रतिशत, गोलभेंडामा २५.२१ प्रतिशत, बन्दाकोपीमा २९.६९ प्रतिशत र घिरौलामा ३०.७८ प्रतिशत विषादी अवशेष पाइएको छ।
नष्ट गरिएको विषादीयुक्त फुलकोपी धरान कृषि बजारमा रहेका व्यापारी सन्तोष ढकाल र लाले चौधरीको पसलमा भेटिएको हो। विषादीको घटना लगत्तै उपप्रमुख बेघाले हरेक व्यापारीले ल्याब टेस्ट गरेर मात्र बस्तु बेच्न कृषि बजारका व्यापारहरूलाई निर्देशन दिएका छन्।
Pingback: rybelsus prices