गोधुली फुटबल रनिङकपः धरान १४ फाईनलमा (भिडियो सहित)
दिव्य रोशनी(धरान)/ धरान १७ लाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै १४ नं वडा धरानमा जारी गोंधुली फुटबल रनिङकपको फाईनलमा प्रवेश गरेको छ।
मंगलवार राती धरान रंगशालामा भएको खेलमा धरान १७ नं वडालाई २ का विरुद्ध ३ गोल गर्दै धरान १४ गोधुली फुटबल रनिङकपको फाईनलमा प्रवेश गरेको हो। खेल संचालनको तेस्रो मिनेटमा धरान १७ का खेलाडीलाई डिबक्स एरियामा फउल गरेपछि रेफ्रि मोहम्मद फारोज अहमदले पेनाल्टी प्रहारका लागी अवसर दिएका थिए। तर फउल नभएको जनाउदै धरान १४ का खेलाडीहरुको विवादले खेल ३३ मिनेट सम्म अवरुद्ध बनेको थियो। भद्र सहमतीपछि संचालन गरीएको खेलमा धरान १७ का क्यापटेन दिवस सुनवारको फितलो पेनाल्टी प्रहारलाई धरान १४ का गोलकिपर राजिव खड्काले सहजै बचाउ गरेका थिए।
निकै नै प्रतिस्पर्धात्मक भएको खेलको पहिलो हाफको अतिरिक्त समय ५० औं मिनेटमा धरान १७ का कृष्ण राईले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए। तर त्यो अग्रता धेरैबेर टिक्न सकेन। धरान १४ का क्यापटेन विवेक राईले पहिलो हाफको अतिरिक्त समय ५५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याईपुर्याएका थिए।
यसैगरी खेलको दोस्रो हाफमा धरान १४ का निमेस तामाङले ६७ औं मिनेटमा गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाएका थिएभने धरान १७ का तर्फबाट सुशिल राईले १ सय ८ औं मिनेटमा गोल गर्दै टिमलाई २–२ को बराबरीमा ल्याईपुरयाएका थिए। यसैगरी धरान १४ का निमेश तामाङले खेलको अन्तिम समयमा निर्णायक गोल गर्दै टिमलाई ३–२ को विजयी दिलाउन सफल भएका थिए। खेलमा धरान १४ का विवेक राई म्यान अफ दि म्याच घोषित भए। उनले मेडल सहित नगद २५ सय हात पारे।
बुधवार हुने फाईनल खेल धरान १४ नं वडाका विरुद्ध १५ नं वडाका बिच हुने आयोजक संस्थाका उपाध्यक्ष सतिस केसीले बताए।
प्रतियोगितामा धरानका २० वटा वडामध्ये २ र ७ नं वडाले सहभागिता जनाएका छैनन्। प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन्भने उपविजेता टिमले नगद ७५ हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछन्। यसैगरी विजेता तथा उपविजेता टिमलाई धरान १८ नं वडाका वडाअध्यक्ष नरेन्द्र कुमार राई (प्रविन) द्धारा थप २५/२५ हजार प्रदान गरिने भएको छ। यसैगरी प्रतियोगिताका व्यक्तिगत पुरस्कारहरुमा वेस्ट प्लेयरले नगद १५ हजार, हाईस्कोररले नगद ७५००, बेष्ट डिफेण्डर, म्यानअफ दि म्याच, बेष्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्ट्राईकर, राईजिङ प्लेयर र बेस्ट मिडफिल्डरले जनही ५५०० प्राप्त गर्नेछन्।
कुल अनुमानित बजेट २४ लाख १८ हजार ३ सय ३५ रुपैया रहेको सो प्रतियोगिताको समापन समारोहमा १ जना उत्कृष्ट पत्रकारलाई सुवास राई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ। हालसम्म गोधुली रनिङकप धरान १९ नं वडाले सर्वाधिक ६ पटक जितिसकेको छभने ८ नं वडा र १७ नं वडाले ४/४ पटक जितेको छ।
२५ औं संस्करणमा आईपुग्दा क्लवले धरान नै पहिलो पटक रात्रीकालिन फुटबल खेल संचालन गरिरहेको छ।