राष्ट्रिय स्तरको ९ औं हराईजन बास्केटबल रनिङकप फागुन ९ देखी शुरु हुने
दिव्य रोशनी(धरान)/ राष्ट्रिय स्तरको ९ औं हराईजन बास्केटबल रनिङकप २०८१ यहि फागुन ९ गतेदेखी शुरु हुने भएको छ।
धरान १७ स्थित हराईजन क्लवको बास्केटबल मैदानमा हुने खेलमा राष्ट्रिय स्तरका ६ टिमको सहभागिता रहने क्लवका पूर्व अध्यक्ष तथा प्रतियोगिताका आर्थिक संयोजक वसन्त राईले बताए। शुक्रवार आयोजित पत्रकार सम्मेलनमा संयोजक राईले यसवर्षको प्रतियोगिता दुई समूहमा विभाजनगरी लिग चरण अन्तर्गत खेलाईने पनि जानकारी दिए। उनले लिग चरण अन्तर्गत हुने खेलका दुई शिर्ष समूहका विजेताहरुले उपाधीका लागी प्रतिस्पर्धा गर्ने पनि बताए।
यसैगरी पत्रकार सम्मेलनमा प्रदेश खेलकुद बोर्डकी सदस्य रोशनी राईले धरानका चोक चोकहरुमा बास्केटबल खेल हुने गरेको बताउँदै यसले बास्केटबलको लोकप्रियता बढाउदै लगेको बताईन्। उनीले नजिकिदै गरेको १० औं राष्ट्रिय खेलमा धरानबाट बास्केटबलको राम्रो टिम सहभागि हुने अपेक्षा समेत गरिन्।
धरान उपमहानगरपालिकाको संयोजन तथा धरान १७ नं वडा कार्यालयको विशेष सहयोगमा हुने प्रतियोगितामा सहभागिता जनाउन नेपालका विभिन्न भूगोलबाट विभिन्न बास्केटबल क्लवहरु आउने भएकाले यसले धरानको खेल पर्यटनमा र साँस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने क्लवको दावी छ। यसैगरी यस क्लवले विभिन्न कालखण्डमा विभिन्न राष्ट्रिय स्तरको कोच, रेफ्री र खेलाडीहरु उत्पादन गरेको गौरवमय ईतिहासहरु रहेको जनाएको छभने हाल केही विद्यालयहरुले बास्केटबल प्रशिक्षकहरुलाई नियुक्ति गरेर रोजगारी सृजना गरिरहेको पनि जनाएको छ।
प्रतियोगिताका विजेताले रनिङ ट्रफि सहित नगद १ लाख ५० हजार प्राप्त गर्नेछन्भने उपविजेता टिमले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। यसैगरी सर्वोत्कृट खेलाडीले नगद २५ हजार पाउनेछन्भने उदयिमान खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन्।
प्रतियोगितामा त्रिभूवन आर्मी क्लव काठमाण्डौ, विसाल मिलन केन्द्र काठमाण्डौं, धरान रातो, मोरङ बास्केटबल संघ, झापा बास्केटबल संघ र धरान टिम निलो सहभागि हुने आयोजकले जनाएको छ। गतवर्षको ८ औं संस्करणमा ब्रदर्स बास्केटबल धरान विजेता बनेको थियोभने युवा जागृति धरान उपविजेता बनेको थियो।