गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज नेपालको लेखा तालिम सम्पन्न
दिव्य रोशनी(धरान)/
गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज नेपालले आयोजना गरेको आधारभूत लेखा तथा लेखापढी व्यवस्थापनको लागी ३ दिने तालिम सम्पन्न भएको छ।
शनिवार धरान १५ निराजन बस्ति स्थित समाजको आफ्नै हलमा आयोजित तालिमको समापन कार्यक्रममा धरान १५ न.ं वडाका वडाअध्यक्ष नरेश कुमार ईवारम प्रमुख अतिथी रहेका थिए। उनले थोरै बजेटले पनि महिलाहरुलाई क्षमतावान बन्नका लागी तालिम एकदमै उपयोगी भएको बताए। मानव विकासक्रममा शिक्षण कृयाकलाप कहिल्यैपनि नसकिने रहेको उनले बताए।
सोहीक्रममा वडाअध्यक्ष ईवारमले वडाबाट क्षमतावान सिपमुलक विकासका लागी लगिएको बजेट भाषणभुषणमा मात्र सिमित रहेको बताउँदै त्यस्तो गर्न नहुने बताए। उनले यसअघि केही संस्थाहरुले कौशी खेती तालिम, मासुको अचार बनाउने तालिम, व्युटि पार्लर तालिम तथा सिलाई÷कटाईका तालिमहरु गराएपनि व्यवहारमा कार्यान्वय नगर्दा उपलब्धीमूलक हुन नसकेकोे बताए। कार्यक्रममा वडाअध्यक्ष ईवारमले गृह श्रमिकको संस्थाको भवन स्तरोन्नतीका लागी आफ्नो व्यक्तिगत तर्फबाट नगद ५ हजार १ रुपैयाँ दिने घोषणा समेत गरेका थिए।
यसैगरी कार्यक्रममा श्रुती टिएलओका अध्यक्ष डाकमान राईले यस तालिमले महिलाहरुको क्षमतामा वृद्धि भएको आफुले महशुस गरेको बताउँदै आफुले सिकेको कुराहरुलाई व्यवहारमा पनि उतार्न आग्रह गरे। त्यस्तै बमधारा खानेपानीका उपाध्यक्ष टेक बहादुर लिम्बुले महिलाहरुको क्षमता अभिवृद्धि गर्न संस्थाका अध्यक्ष प्रेम कुमारी राईको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनले समाजमा घटेका घटनाहरुलाई लिएर प्रहरी कहाँ जादा उजुरीहरु लेख्न पनि यस तालिमबाट सिकेका कुराहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विद्या देवानले स्वागत मन्तव्य व्यक्त गर्दै गृहणी महिलाहरुलाई लेखापढी व्यवस्थापनका लागी तालिम दिईएको बताईन्। उनले आफ्नो कामकाजका लागी आवश्यक लेखनमा स्तर वृद्धि गर्न यस तालिम सहायक सिद्ध भएको पनि बताईन्।
कार्यक्रममा सहभागीहरुको तर्फबाट संगीता नेपाली र कला राईले यस तालिमबाट हिसाब राख्न तथा लेखनमा स्तर वृद्धि गर्न सघाउ पुगेको बताईन्। यसैगरी तालिमका प्रशिक्षक लोकराज निरौलाले यस तालिमले महिलाहरुको दैनिक जिवनमा सहजता ल्याउने मात्र नभई बोल्न डराउने महिलाको क्षमतामा पनि अभिवृद्धि भएको बताए। तीनदिने तालिममा अर्का प्रशिक्षक कला लिम्बु पनि रहेकी थिईन्।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रेम कुमारी राईले गतवर्षहरुमा पनि संस्थाले महिला दिदी बहिनीहरुलाई उद्धघोषण कला तालिम प्रदान गरेको बताईन्। उनले महिलाहरुको आर्थिक, सामाजिक र सिपमूलक क्षमता अभिवृद्धिका लागी संस्थाले बेलाबेलामा तालिमको आयोजना गर्दै आएको बताईन्। (दिव्य रोशनी साप्ताहिकबाट)