धरान संगीत जात्रा सांस्कृतिक महोत्सव शुरु (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ आज पुष ७ गते आईतबारदेखी “धरान संगीत जात्रा सांस्कृतिक महोत्सव २०८१” शुरु भएको छ।
“गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन” भन्ने मूल नाराका साथ नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजना र त्रिवेणी महिला समूह धरान १५ को सहआयोजनामा महोत्सव शुरु भएको हो।
धरान १५ स्थित पर्यटकिय स्थल वगरकोट, एभरेष्ट लाइनमा आज पुस ७ गते आईतबारदेखि शुरु भएको महोत्सवको उद्धघाटन धरान १५ नं वडाका वडाअध्यक्ष नरेश ईवारमले गरेका छन्। उनले महोत्सवबारे वडा सदस्यहरुबाटै टिकाटिप्णी उठेपनि नियमसंगत प्रकृया पुरा गरेर शुरु भएको महोत्सवलाई सबैले सफल बनाउनुपर्ने बताए।
यसैगरी कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका सचिव किशन मास्के, मजदुर नेता भिम ज्वाला राई लगायतले महोत्सव सफलताको कामना गरेका थिए। उद्धघाटनमा किरात राई यायोक्खा धरान १५ नं वडा कमिटीको साकेला नृत्य र चौबिसे समाज धरानको च्याबु्रङ नाच समेत प्रदर्शन गरिएको थियो।


यहि पुष १७ गतेसम्म संचालन हुने धरान संगीत जात्रा सांस्कृतिक महोत्सवको आज पहिलो दिन रकहेड्स ब्याण्डको धमाकेदार प्रस्तुती रहने महोत्सवका संयोजक दिपचन्द्र राई (कान्छी) ले जानकारी दिए। साथै महोत्सव अवधीभर राष्ट्रिय कलाकारहरु सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ), अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय व्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड व्याण्ड, द क्राइसिस, उर्जा व्याण्ड, लासोज व्याण्ड, द फ्लो नेपाल लगायतको प्रस्तुति रहने उनले बताए।
उनका अनुसार ११ दिने साँस्कृतिक महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनुका साथै मौलिक र जातीय भेषभुषा सहितको सांस्कृतिक कार्यक्रम, नृत्य प्रस्तुति, जातीय परिकार सहितको अग्र्यानिक खाद्यान्न लगायतका ५० वटा स्टलहरु रहने छन् । उनले महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चाहरुदेखि सबै उमेर समुहका नागरिकहरु रमाउन सक्ने गरि रोटेपिङ, ड्रयागन, ब्रेक डान्स, डुंगा सयर, मिकिमाउस लगायतका खेल तामासाका सामग्रीहरुको व्यवस्था समेत गरिएको बताए।
महोत्सव प्रवेशका लागि दिउसोको समय निःशुल्क रहनेछ भने अपरान्ह ४ बजेपछि कालाकारहरुको प्रस्तुतिलाई मध्यनजर गर्दै प्रवेश शुल्क २ सय देखी ३ सय सम्म निर्धारण गरिएको नेचर क्लव धरानका अध्यक्ष कृष्ण राईले बताए। उनले गीत, सगीतको माध्यमवाट मनोरञ्जन प्रदान गर्ने र यस महोत्सवबाट बचेको रकम सामाजिक काममा सदुपयोग गरिने समेत जानकारी दिए।
महोत्सवका सहआयोजक त्रिवेणी महिला समूहका अध्यक्ष लक्कि राईको स्वागत मन्तव्य रहेको सो उद्धघाटन कार्यक्रम आयोजक नेचर क्लव धरानका अध्यक्ष कृष्ण राईको अध्यक्षतामा सम्पन्न भएको थियो।