धरानको सर्दु खोलामा छठपर्वको रौनक (हेर्नुहोस् भिडियोपनि)

दिव्य रोशनी(धरान)/ आज छठ पर्वको मुख्य दिन व्रतालुहरूले सूर्यको आराधना, उपासना र पूजा गरी अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य दिएका छन् ।
विहिवार व्रतालुहरुले धरानको सर्दुखोला र सेउतीखोला किनारमा बनाइएका छठ घाटमा सन्ध्या अघ्र्य दिएका हुन् । श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारी सहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिन्छ।
भोलि शुक्रवार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा सम्पन्न हुन्छ । छठ पर्वमा सूर्यको उपासनाका साथै षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ। छठ पूजाले सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ ।


यसवर्ष छठपुजा समितीले सर्दुखोलामा विशेष टेन्टको व्यवस्थागरी छठघाटलाई आकर्षक झकिझकाउ बनाएको थियो। गतवर्षको भन्दा यसवर्ष भक्तजनहरुको उल्लेख्यरुपमा सहभागिता रहेको थियो।