थाम्सुहाङको निबन्ध संग्रह “शव्दथुम” लाई विमल कृति पुरस्कार (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ इलामका कवि निबन्धकार प्रकाश थाम्सुहाङको निबन्ध संग्रह “शव्दथुम” लाई “विमल कृति पुरस्कार २०८०” प्रदान गरिने भएको छ।
बिहीबार कवि विमल गुरुङ स्मृति पुस्तकालयमा आयोजित पत्रकार सम्मेलनमा पुस्तकालय संचालन समितिले २०८० सालको “विमल कृति पुरस्कार” कवि निबन्धकार थाम्सुहाङको निबन्ध कृति “शव्दथुम”लाई प्रदान गर्ने जनाएको हो। पत्रकार सम्मेलनमा पुस्तकालयका अध्यक्ष पूर्ण बहादुर गुरुङले विमल कृति पुरस्कारका लागी दर्ता भएका १०२ पुस्तकहरु मध्ये थाम्सुहाङको निबन्ध कृति “शव्दथुम” उत्कृष्ट भएको बताए। उनका अनुसार कृति पुरस्कार लागी स्वदेश र विदेशबाट प्रकाशित नेपाली भाषाका १०२ पुस्तकहरू दर्ता भएका थिए। ति मध्ये एकसाता अघि १० उत्कृष्ट पुस्तक छनौट गरिएको थियो। निर्णायक समितीले १० उत्कृष्ट पुस्तकमध्ये थाम्सुहाङको निबन्ध कृति “शव्दथुम” लाई विमल कृति पुरस्कार प्रदान गर्न उचित भएको सिफारिस गरेको थियो।


निर्णायक समितिले थाम्सुहाङको निबन्ध कृति “शब्दथुम” ले पुर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहिनरुपमा उत्तारेको जनाएको छ। विमल कृति पुरस्कार कात्तिक २४ गते आयोजना हुने ३३ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५३ औं जन्मजयन्तीको अवसरमा प्रदान गरिने समितिका उपाध्यक्ष प्रदीप मेन्याङ्बोले बताए।
यसअघि पहिलो, विमल कृति पुरस्कार २०७८ काङ्माङ नरेशको कविता संग्रह “तेप्लायुङ” लाई प्रदान गरिएको थियोभने दोस्रो, चन्द्र गुरुङको कविता संग्रह “जव एउटा मान्छे हराउछ” र दार्जिलिङ्का विजय बान्तवा कैलाशीको कृति “मित्याङ्सा” लाई संयुक्त रुपमा प्रदान गरिएको थियो।
यसैगरी सोही अवसरमा ईटहरीका साहित्यकार तथा पत्रकार विवेक बिवस रेग्मीलाई यो बर्षको “युवा प्रतिभा सम्मान” प्रदान गरिने भएको छ ।त्यस्तै पुस्तकालयले सिक्किमका लेखक टिवि चन्द्र सुव्वा, १०३ बर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङ र अर्का ज्येष्ठ नागरिक विरेन गुरुङलाई पनि अभिनन्दन गरिने भएको छ ।
त्यस्तै राष्ट्रिय कविता महोत्सवमा आयोजित कविता प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने कविहरूलाई पनि क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने पुस्तकालयले जनाएको छ ।