आज घटस्थापनाः विधीपूर्वक जमरा राखिदै

दिव्य रोशनी(धरान)/ नेपालीहरुको महान् चाँड बडादशैंको पहिलो दिन आज घटस्थापना। घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी आज घटस्थापना गरिँदैछ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व दशैंको पहिलो दिन आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ। यसलाई जमरा राख्ने पनि भनिन्छ । घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आजैदेखि दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आव्हान गरी पूजा आरम्भ हुन्छ। दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा हुन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा रहिआएको छ।
दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ। दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरक फरक गरी नौ वटी कन्याको पूजा गरिन्छ। बडादसैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्रा्इन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन्।
यस वर्षको दशैंको टीका असोज २६ गते शनिबार परेको छ । विजयादशमीका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।