तेस्रो अन्तर्राष्ट्रिय रिकभरिङ फुट्सल प्रतियोगिता धरानमा शुरु

दिव्य रोशनी (धरान)/ तेस्रो अन्तर्राष्ट्रिय रिकभरिङ फुट्सल प्रतियोगिता धरानमा शुरु भएको छ।
सञ्जिवनी केन्द्र धरानको आयोजनामा विहिवार देखी धरान १६ स्थित बिबि फुट्सलमा तेस्रो अन्तर्राष्ट्रिय रिकभरिङ फुट्सल प्रतियोगिता शुरु भएको हो। हेल्प नेपालका डाईरेक्टर सागर श्रेष्ठ प्रमुख आतिथ्यतामा शुरु भएको प्रतियोगिताको उद्धघाटन खेल फस्ट स्टेप काठमाण्डौ र आश्रय काठमाण्डौका बिच भएको थियो। प्रतियोगितामा ओपन रिकभरिङ टिम, भेट्रान टिम र महिला टिम गरी २४ टिमको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछन्। जसमा ओपन रिकभरिङ तर्फ १४ टिम, भेट्रान रिकभरिङतर्फ ७ टिम र महिला रिकभरिङतर्फ ३ टिमले प्रतियोगितामा सहभागिता जनाउने सञ्जिवनी केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकारले बताए। उनले प्रतियोगितामा धरान, बेलवारी, विराटनगर, मोरङ, चितवन, काठमाडौ, भारतको सिलगढी, सिक्कम,दार्जिलिङ, गान्तोक लगायतका टिमहरुको सहभागीता रहेको बताए।


प्रतियोगितामा ओपन रिकभरिङ तर्फ विजेताले पुरस्कर नगद २ लाख, उपविजेताले नगद १ लाखसहित ट्रफी, प्रमाण पत्र र मेडल पाउने छभने भेट्रानतर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो पुरस्कार ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाउने छ। त्यस्तै महिला तर्फका विजेताले प्रथम पुरस्कार २० हजार र दोस्रोले १० हजार पाउने अध्यक्ष ताम्राकारले बताए। उनले प्रतियोगिताको व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडी र गोलकिपरले जनही नगद ५ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने बताए। यसैगरी ओपन रिकभरिङ प्रतियोगिता तर्फ सेमिफाईनल देखी म्यान अफ दि म्याच पुरस्कार प्रदान गरिनेछ। हरेक खेलको म्यान अफ दि म्याचले नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन्।


२०६५ सालमा स्थापना भएको यस संजिवनी केन्द्रले युवाहरुलाई लागु औषध दुव्र्यसनीवाट मुक्त गराउन परामर्श दिदैं आएको छ। खेलको माध्यमबाट युवाहरुलाई कुलतबाट सचेत गराउन प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ।