पत्रकार स्व.लम्जेल संघर्षशिलको जन्मदिनमा वृक्षारोपण र श्रद्धाञ्जलीसभा

दिव्य रोशनी(धरान)/ धरानका पत्रकार तथा साहित्यकार स्व. गम बहादुर लम्जेल(लम्जेल संघर्षशिल) को ४० औं जन्म जयन्तीको अवसरमा वृक्षारोपण तथा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।


शनिवार धरान १४ स्थित सगरमाथा बालविकास केन्द्रको परिसरमा वृक्षारोपण तथा श्रद्धान्जली सभाको आयोजना गरिएको हो। कार्यक्रममा पत्रकार स्व. लम्जेलकी श्रीमती जमुना श्रेष्ठले दलित जातीमा जन्मेर पनि स्व. लम्जेलले कथित उपल्लो जाती भन्दा उदाहरणीय काम गरेर गएको बताईन्। उनिले २०६८ सालदेखीको उनिसंगको सहयात्रा छोटो भएपनि अविष्मरणिय रहेको बताईन्। उनिले भनिन् “उहाँको सहयात्राले मैले मेरो बुवा,आमा, परिवार सबैलाई बिर्साईदियो।” उनिले स्व. लम्जेलले छोडेर गएका अधुरा सपनाहरुलाई आफुले साकार पार्न प्रतिष्ठान नै खडा गरेर लैजाने समेत उद्धघोष गरिन्।


यसैगरी कार्यक्रममा पारस लिम्बुले स्व. लम्जेलको जिवनीमाथि चर्चा गर्दै उहाँ माक्र्सवादी दर्शनको ज्ञान राख्ने व्यक्ति भएको बताउँदै उहाँ क्रान्तिकारी कम्युनिष्ट भएको बताए। उनले समाजको आमूल परिवर्तनमा लाग्नुभएका स्व. लम्जेलले छाडेर गएका अधुरा सपनाहरुलाई पुरा गरेमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।
कार्यक्रममा राजनैतिकर्मी राजेशमान श्रेष्ठ, साहित्यकार मचिन्द्र खत्री, श्रेष्ठ परिक्रमा, गौरव राई, हातेमालो उद्यमी महिलाका अध्यक्ष लिला ढकाल, डिप्लोमा हेण्डिक्राफ्टका संचालिका पूर्ण कुमारी मास्के, संचारकर्मी मनिता चाम्लिङ, दलितअधिकारकर्मी केशव सुनाम लगायतले स्व. लम्जेलको जिवनीको चर्चा गरेका थिए।
शिक्षक लोकराज निरौलाद्धारा संचालित कार्यक्रममा प्राध्यापक खेमराज खनालले स्व. लम्जेलको जिवनी वाचन गरेर सुनाएका थिए। कार्यक्रम समापन पश्चात स्व. लम्जेलको सम्झनामा बाल विकास परिसरमा वृक्षारोपण समेत गरिएको थियो।