धरानमा आईजिएफएफको अनुपम यात्रा (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ अन्तर–पुस्ता महिलावादी मन्च (आईजिएफएफ) ले सुनसरीको धरानमा अनुपम अभियान अन्तर्गत अनुपम यात्राको आयोजना गरेको छ।
महिला संजाल धरानको समन्वयमा धरान उपमहानगरपालिकाको गेटबाट निकालिएको अनुपम यात्राले धरानको छाता चौक, सिंहदेवी चौक, पुरानो बजार, देशिलाईन हुँदै लोकतान्त्रिक चौकमा पुगी कोणसभामा परिणत भएको थियो।


कार्यक्रममा आईजिएफएफका संयोजक सरु जोशीले अनुपम अभियानको मुख्य लक्ष्य भनेको न्यायिक र समतामूलक समाज बनाउन टेवा पुर्याउनु भएको बताईन्। उनले कुनैपनि पछाडि पारिएका समुदाय र महिलाहरुको आवाज बुलन्द गर्दै उनीहरुलाई राष्ट्रको हरेक तहमा निर्णायक भूमिकामा पुर्याउन र परमुखी विकासको कूलो फर्काउदै, आत्मसम्मान र आत्मनिर्भता बढाउने यस अभियानको उद्धेश्य रहेको बताईन्।


संयोजक जोशीका अनुसार आईजिएफएफले वि.सं. २०८० देखि २०८४ सम्मका लागि एक देशब्यापी महिलावादी “अनुपम अभियान” को शुरुवात गरेको छ। यो अनुपम अभियान अन्तर्गत यो दोस्रो वर्षमा, एकजुट हुने प्रकृयामा देशब्यापी यात्राहरु शुरु गरेको छ। जसको शुरुवात पूर्व देखि पश्चिमसम्मको बस यात्रा हालै चैत्र महिनामा सम्पन्न भएको छभने त्यही बसयात्रालाई पछ्याउँदै, प्रदेश, जिल्ला, पालिका र वडा भित्र यस्तै यात्राहरु वर्षभरि सम्पन्न हुनेछन्।


संयोजक जोशीले देशको विकासमा स्वतःस्र्फुत कसरी जुट्न सक्छौ भनेर अनुपमा यात्रामा हिडेको यो एउटा विशुद्ध सामाजिक संस्था भएको बताईन्। उनले महिला, दलित, यौनिक तथा अल्पसंख्यक, मधेशी, जनजाती लगायत सबै सिमान्तकृत समुदायलाई जनसंख्याको आधारमा संविधानले “समानुपातिक सहभागिताको हक हुन्छ” भनेर भनिएतापनि पछिल्लो चुनावले महिलाहरुको संख्या घटदै गएकोमा चिन्ता समेत व्यक्त गरिन्। उनले भनिन् “दलितहरुको उपस्थिती वडा सदस्यहरुमा सिमित बनेको छ। प्रत्यक्ष निर्वाचनमा देशभरीबाट ९ जनामात्र महिलाहरुले प्रत्यक्षमा जितेका छन्।” राजनीतिक दलहरुले पनि पुरुषलाई मात्र टिकट दिने र र मतदाताहरुले पनि पुरुषलाई नै भोट दिने गरेका कारण पनि नेतृत्व तहमा महिलाहरुपनि आउनुपर्छ भनेर अभियान नै चलाएको उनको भनाई छ। यसवर्ष यात्रै यात्रा गर्ने लक्ष्य अनुरुप अहिले ३३ वटा जिल्लामा अनुपम यात्रा गरिएको बताउँदै उनीले हामी पार्टीमा, जातीमा र भूगोलमा विभाजित भएका कारण महिलाहरु झनै कमजोर हुने भएकाले सह नेतृत्वका लागी एकअर्कामा हातेमालो गर्दै धरानमा आईपुगेको बताईन्।
यसैगरी कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शरिन तामाङले पार्टीले टिकट दिएपछि महिलाहरुले जित्नसक्ने हैसियत पनि राख्नुपर्ने बताईन्। उनले आफुले नसक्ने ठाउँमा बल गरेर नहुने बताउँदै आफुले सक्ने ठाउँमा मागेर हैन खोसेर पनि लिनुपर्ने बताए।


त्यस्तै धरानका निवर्तमान उपप्रमुख मञ्जु भण्डारीले लिंग, जातको आधारमा हुने विभेदलाई पन्छाउँदै संविधानले प्राप्त गरेको अधिकारलाई अंगाल्नुपर्ने बताए। उनले देशमा गणतन्त्र आएपछि सबै वर्गले न्याय पाउने भनेर सोचेपनि अझैपनि महिलाहरुका लागी लोकतन्त्र नआएको बताईन्। उनले भनिन् “महिला सबैभन्दा पहिला उत्पीडनमा रहेकाले यसको अगुवाई महिलाले नै गर्नुपर्छ। महिलाहरु एकजुट नभएकै कारण राष्ट्रपति र उपराष्ट्रपतिमा महिलाको उपपिस्थती छैन।” पार्टीले निर्णय गर्दा महिलाहरु चुप लागेकै कारण धेरै स्थानिय तहमा उपप्रमुख पनि पाउन नसकेको उनको भनाई थियो।
यसैगरी कोणसभामा स्वागत मन्तव्य व्यक्त गर्दै सामाजिक सुरक्षा जालोका संयोजक प्रेम कुमारी राईले घाँस दाउराको भारी बोक्न सक्ने महिलाहरु पदको भारीपनि बोक्न सक्षम रहेको बताउँदै २०८४ को चुनावमा महिलाहरुलाई निर्णायक तहमा पुर्याउन सम्पूर्ण महिलाहरु एकजुट हुनुपर्ने बताईन्। (दिव्य रोशनी साप्ताहिक)