किरात राई यायोक्खा सुनसरीले १५ दिनसम्म साकेला उँभौली पर्व मनाउने

दिव्य रोशनी(धरान)/ किरात राई यायोक्खा सुनसरीले १५ दिनसम्म साकेला उँभौली पर्व मनाउने भएको छ ।
बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै यायोक्खा सुनसरीले सो कुराको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले भोली जेठ १० गते देखी शुरु हुने साकेला पर्व जेठ २६ गते सम्म आयोजना हुने बताए। उनका अनुसार भोली जेठ १० गते धरान १४ स्थित हाङ बुद्धिकर्ण रायको दरबारमा पुजागरी शुरुहुने साकेला पर्व जेठ २६ गते धरान १७ स्थित साकेला पार्कमा सम्पन्न हुनेछ।


समापनको अवसरमा यायोक्खाले नेपालको राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राईलाई नगद १ लाख ५ हजार ८४ रुपैया सहित सम्मानपत्रले सम्मन गर्ने भएको छभने राष्ट्रिय एथलेटिक्स प्रशिक्षक पार्वती राईलाई पनि नगद सहित सम्मान गर्ने भएको छ । त्यस्तै महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख चन्द्र कुमार राई, धरानको साकेला पार्कको नक्सा डिजाइन गर्ने इन्जिनियर पारसमणि राई र गोर्खा सैनिक सेवामा एमबिई उपाधि प्राप्त सुवास राईलाई पनि यायोक्खाले सम्मानित गर्ने भएको छ ।
पत्रकार सम्मेलनमा यायोक्खा जिल्ला सचिव नवीन राईले १५ दिने सम्म मनाईने साकेला पर्व सुनसरीका तरहरा, इटहरी, पकली, प्रकाशपुर, वराहक्षेत्र, भरौल, रामधुनी, बराहक्षेत्र र धरान लगायतका स्थानमा साकेला पर्व मनाईने जानकारी दिएका थिए।
प्रकृति पुजक किरात राईहरु प्रकृति र प्राकृतिक परिवर्तनहरुलाई आधार मानी यो समयमा चराचुरुङगी तथा जनावरहरु बैशाख देखी लेकतिर उभो लाग्ने साथै अन्नबालीहरु लगाउने समय भएकोले संसारमा सुख शान्ति होस् लगाएको बालीहरु सप्रियोस भन्ने कामना गर्दै बैशाख पूर्णिमा वा साकेला पूर्णिमालाई उभौली नामले मनाउने गर्दछन्।