पानवारी शतवार्षिकी महोत्सवको तयारी पुरा

दिव्य रोशनी(धरान)/ सयपत्रि ब्वाईज युनियन क्लवको आयोजना तथा धरान उपमहानगरपालिका ६ नं वडा कार्यालयको संयोजनमा हुन लागेको “पानवारी शतवार्षिकी महोत्सव २०८०” को तयारी पुरा भएको छ।
यही फागुन २६ गतेदेखि चैत २ गते सम्म पानवारी स्थित सरस्वती मार्गमा हुन लागेको शतवार्षिकी महोत्सवबारे शुक्रवार आयोजित पत्रकार सम्मेलनमा आयोजक सयपत्रि ब्वाईज युनियन क्लवका उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजेन्द्र न्यौपानेले पानवारीमा मानव बसोबास गरेको सय वर्ष पुगेको अवसरमा शतवार्षिकी महोत्सवको आयोजना गरिएको बताए। उनले पानवारीको ईतिहास अहिलेको पुस्तालाई थप चिनारी गराउनको लागि पनि महोत्सवले थप सघाउ पुर्याउने बताए।
यसैगरी पत्रकार सम्मेलनमा कोशी प्रदेशका सांसद रमेश बस्नेतले अग्रजहरुबाट जानकारी पाए अनुसार वि.सं १९७०÷८० को दशकदेखि पानवारी आवादीको हिसावले वसोवास शुरु भएको आधार मान्दा पानीवारी सयवर्ष पुगेको बताए। त्यस्तै ६ नं वडाका वडाअध्यक्ष भुपेन्द्र भट्टराईले वडामा जनप्रतिनिधीहरु विजयी भएर आएपछि सम्पूर्ण कामको बाडफाँडगरी शिक्षा, स्वास्थ्य र खेलकुदमा पानवारीले फड्को मारेको बताउदै पानवारीको पहिचानका लागी आयोजना हुन लागेको महोत्सवलाई सबै पानवारीबासीहरु मिलेर सफल बनाउनुपर्नेमा जोड दिए।


महोत्सवकै अवसर पारेर कोशी प्रदेश स्तरीय छैंठौ भलिवल प्रतियोगिताको पनि आयोजना हुने क्लवका महासचिव केदार वस्नेतले वताए। उनका अनुसार प्रतियोगितामा विजयी हुने टिमलाई १ लाख रुपैयाँ र ३५ तोला चाँदीको रनिङ शिल्ड प्रमाणपत्र प्रदान गरिने भएको छभने उपविजेतालाई नगद ५० हजार र प्रमाणपत्र प्रदान गरिने छ। यसैगरी महोत्सवमा झाँकी प्रदर्शनी र साँस्कृतिक र्याली, रस्सी तान, कविता तथा नृत्य प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविर साथै दैनिक साँझ राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने छ। यसैगरी महोत्सवमा स्थानीय उत्पादन र सहुलियत बजारको स्टल समेत रहने छभने रोटेपिङ, कोलम्बस, ड्रागन र मिकी माउस जस्ता बाल उद्यानहरु समेत रहेको छ।
पानवारी कृषि उर्वरभूमि पनि हो। यहाँ उत्पादन हुने पानमारा मन्सुली चामल अहिले पनि ब्राण्ड रहेको छ। साविकको पाँचकन्या गाविस अन्र्तगत वडा नम्बर १,२ र ३ लाई समायोजना गरेर धरान उपमहानगरपालिका अन्र्तगत वडा नम्बर ६ मा पानवारी पर्दछ । पूर्वमा मोरङ जिल्लाको केरावारी गाउपालिका सम्म यसको सिमाना जोडिएको छ। राष्ट्रिय गौरवको आयोजना मदनभण्डारी राजमार्ग पानवारी हुँदै जाने भएकाले हाल आएर पानवारी शहर उन्मुख हुँदै गएको छ।