जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस विशेष कार्यक्रम गरी मनाइयो

दिव्य रोशनी/ नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस “विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीयरूपमा सशक्तिकृत ः जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा” भन्ने मूल नाराका साथ देशव्यापी रूपमा मनाइएको छ ।
मंगलवार नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भौतिक रूपमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला तहबाट भर्चुअल रूपमा सहभागिता रहेको थियो । रेडक्रसका युवा स्वयंसेवकहरूको सक्रियता र व्यवस्थापनमा सञ्चालित सो कार्यक्रमको उद्घाटन युवा स्वयंसेवकहरू रविना चौंलागाईं र सुरजकुमार सिंहले संयुक्त रूपमा गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं राष्टिूय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालको सभापतित्वमा भएको सो कार्यक्रममा सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल प्रमुख अतिथि रहनुभएको थियो।कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष प्राध्यापक नेपालले रेडक्रसमा आवद्ध जुनियर युवाहरूलाई मानवीय सेवाका विभिन्न गतिविधिहरूमा सहभागी गराउँदै उनीहरूको सीप र दक्षता अभिबृद्धि गरी अगाडि ल्याउने संस्थाको उद्देश्य रहेको बताउनुभयो । जलबायु परिवर्तनबाट उत्पन्न समस्यालाई सम्बोधन गर्न हाल रेडक्रसका युवाहरूबाट सञ्चालन भइरहेको परिवर्तक (द चेन्जमेकर) अभियानबाट महत्वपूर्ण योगदान पुग्ने बताउँदै अभियानको पूर्ण सफलताको कामना गर्नुभयो ।
यसैगरी रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले सोसाइटीले नीतिगत र कार्यक्रमगत तहमा युवाहरूको भूमिकालाई विधानमा कसरी व्यवस्थित गरेर लैजान सकिन्छ भनेर छलफल र सुझाव संकलन गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रमका सभापति एवं राष्टिूय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालले जुनियर युवा रेडक्रसको इतिहासमाथि प्रकाश पार्दै सबै जिल्लाका शिक्षण संस्था र समुदायमा जुनियर तथा युवाहरूको संलग्नतामा मानवीय सेवा प्रदान गर्ने सञ्जालको रूपमा नेपाल जुनियर र युवा रेडक्रस सर्कलहरूको स्थापना, विकास र विस्तार हुँदै आएको बताउनुभयो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपाल रेडक्रस सोसाइटी जुनियर युवा विभागका निर्देशक धर्मदत्त विडारीले जलबायु परिवर्तनका क्षेत्रमा रेडक्रसका युवाहरूद्वारा सञ्चालित परिवर्तक (चेञ्जमेकर) अभियानका बारेमा जानकारी गराउने, अभियानलाई देशव्यापी बनाउने र अन्य मानवीय सेवाका क्षेत्रमा युवाहरूको सहभागितालाई अझ बढाउने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो। कार्यक्रममा अभियानका क्रममा युवाहरूद्वारा तयार पारिएका जलवायु परिवर्तनसम्बन्धी ७ वटा भिडियोहरू प्रदर्शन गरिनुका साथै सुझावहरू संकलन गरिएको थियो । कार्यक्रममा जुनियर युवा रेडक्रसको सुदृढीकरण, स्रोत संकलन र परिवर्तक अभियानलाई रेडक्रस सञ्जालमा जोड्ने विषयहरूमा युवा प्रतिनिधि, रेडक्रसका केन्द्रीय पदाधिकारी, कर्मचारीहरू र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधिहरूको सहभागितामा समूहगत छलफल गरिनुका साथै निष्कर्षहरू प्रस्तुतीकरण गरिएको थियो ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापा, केन्द्रीय सदस्यहरू नारायण तिमिल्सिना, राजेन्द्रमान ताल्चाभँडेल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, उपकार्यकारी निर्देशक सुदर्शन अधिकारी, निर्देशक एवं विभागीय प्रमुख र कर्मचारीहरू, काठमाडौं उपत्यकाका जिल्ला शाखाका पदाधिकारी र सदस्यहरू, युवा प्रतिनिधिहरू र महासंघको नेपालस्थित कार्यालयका प्रतिनिधि र साझेदार राष्ट्रिय सोसाइटीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
‘म सेवा गर्छु’ भन्ने मूल मन्त्रका साथ २०२१ साल फागुन २२ गतेका दिन जुनियर युवा रेडक्रसको स्थापना भएको हो । हाल देशभरमा ६ हजार ६ सय ३२ जुनियर तथा युवा रेडक्रस सर्कलमा ९ लाख ७० हजार ३ सय १० जुनियर युवा सदस्यहरू आवद्ध भई मानवीय सेवाका गतिविधिहरूमा संलग्न भइरहेका छन्।