धरान एक्सपो सम्पन्न, दुई करोड बढीको कारोबार

दिव्य रोशनी(धरान)/ सुनसरीको व्यवसायीक, व्यापारिक, कृषि, औद्योगिक, शैक्षिक, साहित्यिक, सूचना तथा प्राविधिक र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन भएको धरान एक्स्पो २०७९ को शनिवार औपचारिक समापन भएको छ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ बाट धरान रङ्गशालामा सुरु भएको एक्स्पो नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किराँतीको प्रमुख आतिथ्यमा समापन गरिएको हो।
समापन कार्यक्रमका प्रमुख अतिथि पर्यटनमन्त्री किराँतीले धरानको साख फर्काउन सबै लाग्नु पर्ने बताए। पछिल्लो समयमा धरानमा केही छैन भन्ने तर्क हाबी भइरहेको भन्दै मन्त्री किराँतीले दृष्टिकोण परिवर्तन गर्न सबैलाई आग्रह गरे ।‘धरानमा केही पनि छैन भन्ने एक किसिमको तर्क धेरै हाबी हुन थालेको छ । यसलाई सबै मिलेर चिर्न आवश्यक छ’ मन्त्री किराँतीले भने, ‘धरानमा केही छैन भन्दा पनि के चाहीँ छैन ? भन्ने दृष्टिकोण सबैले बनाउनु पर्छ ।’


लाहुरेको सहर, फेसनको सहर, कला–सँस्कृतिको सहरका रुपमा परिचित धरानको चौतर्फी विकासमा सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिए। धरान एक्स्पो लगायतका प्रदर्शनीले उत्पादनको बजारीकरणमा सहयोग गर्ने र नयाँ उद्यमीलाई स्थापित ब्राण्डबाट अनुभव लिन सहयोग गर्ने भएकाले यसको आवश्यकता र औचित्य बढ्दै गएको उनले बताए ।
एक्सपोका अतिथि पूर्व वाणिज्य मन्त्रि मीन विश्वकर्माले सुन्दर धरानलाई विकासमा सुन्दर बनाउन नसकेको बताए। उनले यसतर्फ सबैले आवश्यक ध्यानदिन आग्रह गर्दै पर्यटनमन्त्री किराँतीको समेत ध्यानाकर्षण गराए। प्रकृतिले धरानलाई सबै कुरा दिएको र उद्योग वाणिज्य लगायत संघ संस्थाले समृद्धीका लागि निरन्तर प्रयास गरिरहेको भएपनि दलीय मतभेद–विरोध, संघीय, प्रदेश सरकारको योजनभित्र धरान–सुनसरी क्षेत्र नभएको कारण यस क्षेत्रको विकास हुन नसकेको उनको भनाई थियो।
नीजि क्षेत्रको व्यापारिक प्रवद्र्धन गर्ने फरक उद्देश्यसहित आयोजना गरिएको एक्स्पो सफलतापूर्वक सम्पन्न भएकोमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले धरानबाट श्रम संस्कृति सुरु भएको बताउदै यसलाई नेपाल सरकारले विकास गरिनुपर्ने बताए।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष एवम् धरान एक्स्पोका संरक्षक विजय श्रेष्ठले एक्स्पोलाई एक लाख बढी अवलोकनकर्ताले अवलोकन गरेको र दुई करोड बढीको कारोबार भएको जानकारी दिए।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फागुन ११ गते औपचारिक उद्घाटन गरेको एक्स्पोमा नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका गरी एक सय ३० स्टल प्रदर्शनीमा राखिएको थियो।

12 thoughts on “धरान एक्सपो सम्पन्न, दुई करोड बढीको कारोबार

टिप्पणीहरू are closed.