बाढीमा जोखिम मोल्दै ढुंगा संकलन गर्छन् सर्दुका सुकुम्बासी

दिव्य रोशनी(धरान)/ विगत केहीदिनदेखि धरानमा अत्याधिक मात्रामा वर्षा भईरहेको छ। वर्षाले हरेकवर्गलाई प्रभावित बनाएपनि सर्दुखोला किनारमा बस्ने सुकुम्बासीहरुमा भने खुसियाली छाएको छ। रातभरीको वर्षापछि बिहान नहुँदै सर्दुले बगाएर ल्याएका मझौला खालका ढुंगाहरु संकलन गर्न स्थानिय तोप बहादुर विश्वकर्मा सर्दुखोला तर्फ निस्कन्छन्। उनीसँगै सर्दुमा देवी गाउँका ११ घरपरिवार ढुंगा संकलन गरि बेचेर आफ्ना परिवार पाल्नुपर्ने दिनचर्या नै बनेको दुखेसो उनी सुनाउँछन्।
सर्दु खोला किनार सुकुम्बासी बस्तीमा बसेर ढुंगा टिप्न उनलाई रहर हैन। ज्याला मजदुरी नभएपछि बर्खामा ढुंगा संकलन गर्नु आफुहरुको बाध्यता भएको गुनासो समेत उनी दिव्य रोशनीलाई सुनाउँछन्। “यसो खाने मेलो हो, ढुंगा टिपेर धनी बन्नुपनि छैन” उनले भने । “खोला किनारमा बसेर ढुंगा टिप्नु भनेको आफ्नो खाडल आफै खनेजस्तै हो। तरपनि बाध्यता छ। ठुला जागीर खाउभने पढाई छैन, के गर्नु, अलिकती ढुंगा टिप्यो, बेच्यो यो त हाम्रो परिवार पाल्ने दिनचर्याको काम नै बनेको छ” उनले भने। उनी अघि थप्छन्–“स्थानिय सरकारले सानोतिनो जागरि दिए हामीलाई पनि ढुंगा टिप्न कहाँ रहर लाग्छ र?” उनले प्रश्न गरे। १० वर्षदेखी यही खोलाछेउ सुकुम्बासीमा बसेर ढुंगा गिटी टिप्दै आएको बताउने तोप बहादुरले १ महिनाको अन्तरमा १० ट्याक्टर ढुंगा बटुल्ने गरेको बताए।
अहिले ढुंगा टिप्न केटाकेटी देखी ६० वर्षसम्मका वृद्धावृद्धाहरुपनि सर्दुखोलामा भेटिन्छन्। ढुंगा टिप्नभने त्यती सजिलो छैन। ढुंगा टिप्दा कहिलेकाही हात खुट्टामा चोटपटक लाग्ने गर्दछ। ढुंगा टिप्दा खुट्टाको कान्छी औला भाँचिएको देखाउँदै मिठीमाया विकले भनिन् “ढुंगा टिप्न गाह्रो छ नानी, ६० वर्षको उमेरमा पनि ढुंगा खोज्न हिड्छु। धेरै नसकेपनि सकेको टिप्छु।” उनी एकल महिला हुन्। उनीसँगै उनको छोराबुहारी दुवै जना ढुंगा टिप्ने र गिटी कुटेरै जिवनयापन गर्दै आएका छन्।
विशेषगरी असारदेखी भदौसम्म पर्ने पानीले बगाएर ल्याएको ढुंगा सर्दु किनारमा बस्ने सुकुम्बासीहरुलाई अहिले टिप्न हतारो छ। धरानको सर्दुखोला मास्तिर चुरे क्षेत्रमा पर्ने भएकालेपनि हरेकवर्ष वर्षायाममा खोलाले ढुंगा बगाएर ल्याउने गर्दछ। वर्षा रोकिंदै गएपछि सर्दुमा ढुंगा टिप्नेको ताती नै लाग्ने गर्दछ। बिहिवार परेको पानीले बगाएर ल्याएको ढुंगा टिप्न शुक्रवार बिहानैदेखी सर्दुखोलामा मानिसहरको ताती रहेको थियो। कुनैपनि अपरिचित व्यक्ति आएर सोधखोज गरेमा, फोटो खिच्न थालेमा आफुले दुखःगरेर बटुलेको ढुंगा नगरपालिकाले उठाईपो दिने हुन् कि ? भनी ढुंगा टिप्न छाडेर सर्तक हुन्छन्। शुक्रवार समाचार संकलनका क्रममा ढुंगा टिप्दै गरेकि गोमा विकले महंगीले आकाश छोईसकेको बेला सामान्य मजदुरी नपाएपछि बाध्यतावस आफुले ढुंगा टिप्नुको विकल्प नभएको बताईन्। “दुःखी गरिबले के गर्नु, काम छैन, बर्खाको सिजनमा मात्रै ढुंगा पाईने हो, हाम्रो जिवनको आशा भनेकै खोला भईसक्यो” उनले भने। परिवार पाल्न समस्या भएपछि ढुंगा टिपेर परिवार पाल्नुपर्ने बाध्यता रहेको उनले सुनाईन्। बर्खाको सिजनमा तिन जनाले २ दिनमा एक ट्याक्टर ढुंगा संकलन गर्न सकिने पनि उनले बताए। बर्खाको समयमा ढुंगा टिपेर गुजारा गर्दै आएकि उनले अन्य सिजनमा भने गिटी कुटेर परिवार पाल्दै आएको बताईन्।
यसैगरी १२ कक्षासम्म अध्ययन गरेका नविन सिंगौरे पनि खोलामा ढुंगा टिप्दै गरेको अवस्थामा भेटिए। कलेज पढ्दा पढ्दै आर्थिक अवस्थाले बिचैमा पढाई छाडेका सिंगौरेले पनि आफ्ना बुवाआमाले अंगालेको पेशालाई समात्न आईपुगेको बताए। उनले भने “जागरि खाउ, चिनजान छैन, जीवन चलाउन ढुंगा टिप्नुको विकल्प छैन।” रातभरी पानी परेमा बिहानै सबैले मिलेर ढुंगा टिप्ने गरेको उनी बताउँछन्।
सुकुम्बासी बस्तीका अधिकांश समुदाय आर्थिक अवस्था दयनिय भएकै कारण खोलामा ढुंगा टिप्न जानुपरेको स्थानिय नर बहादुर राई बताउँछन्। रहरले कोही पनि ढुंगा टिप्न नआएको बताउने राईले घरमा खान नपाएरै खोलाको ढुंगा टिप्ने गरेको बताए। घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनी वैदेशिक रोजगारका लागि दुईटक गरी ८ वर्षसम्म मलेसिया गएपनि कमाउन नसकिएको बताए। “विदेशमा धेरै पैसा फल्छ भनेर विदेश गईयो तर साहुको ऋण तिर्न र घरखर्च चलाउन मै कमाएको पैसा सकियो” उनले भने। अब उमेरले पनि नेटो काटेपछि जे जस्तो भएपनि परिवारसंँगै बसेर दुःखजिलो गर्ने सोंच बनाएको बताए। उनका अनुसार उनको परिवारले ३ दिनमा एक ट्रयाकटर ढुंगा संकलन गर्दै आएको छ। सरदर वर्षको ३ महिना ढुंगा संकलन गर्दै आएका उनीहरुले ३ महिनामा १० देखी १२ ट्याक्टर ढुंगा संकलन गर्ने गरेको उनी बताउँछन्। तर कहिलेकाही महिनौ दिनमा पनि ढुंगा खरिदका लागि कुनैपनि ट्याक्टर नआउदा भने समस्यामा पर्ने गरेको उनको भनाई छ। उनको पारिवारीक अवस्था दयनिय त छँदैछ। त्यसमा पनि ८ र १० वर्षका एक छोरा र एक छोरीमा पायल्स रोग भएपछि महिनामा २५ हजार बराबरको औषधीमुलोमै खर्च हुने गरेको उनले दुःखेसो सुनाउँछन्। उनीहरुको खर्चको जोहो गर्ने ठाउँ नै सर्दु खोला बनेको छ।
नगरपालिकाले नटिप्न उर्दी जारीगरेपनि आफुहरु दुई छाकका लागि ढुंगा टिप्न बाध्यतामा रहेको उनले बताए। आफुहरुले खोलाको बिच भागको मात्र ढुंगा टिपेको बताउँदै उनले आफुहरुले नटिपे खोलाले बगाउने र तलतिर ट्याक्टरहरुले रातारात ढुंगा गिटी चोरी निकासी गर्ने भएकाले आफुहरुले नै टिपेको समेत बताए। २५ वर्षदेखी यही सर्दुखोलामा ढुंगा टिपेर गिटी कुटेर मजदुरी गर्दै आएको बताउने उनले बर्खाको सिजनमा मात्रै ढुंगा टिप्ने र अन्य सिजनमा गिटी कुटेरै परिवार पाल्दै आएको दुःखेसो समेत पोखे।
यता स्थानिय जनप्रतिनिधी धरान २० न.ं वडाका वडाअध्यक्ष पदम बहादुर लिम्बुले खोलाको ढुंगा टिपेर स्थानियवासीलाई तत्काल आर्थिक लाभ मिलेपनि दिर्घकालिन रुपमा यसले ठुलो असर पार्ने बताए। सर्दुखोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई स्थानिय सरकारले रोजीरोटी दिन नसकेकै कारण उनीहरु ढुंगा टिप्न बाध्यता भएको बताउँदै उनले भने “सिमित स्रोत साधनले ठुला आयोजनाहरु संचालन हुन सकेको छैन। तथापी स्थानिय स्तरमा आउने योजनाहरुमा सुकुम्बासी परिवारलाई रोजगारीका लागि विशेष प्राथमिकतामा राखेका छौ।”
धरानको सर्दुखोला चुरेक्षेत्रमा परेकालेपनि सर्दुमा ढुंगा गिटी संकलन गर्न मनाही छ। ढुंगा संकलन गर्नु गैर कानुनी हो। धरान उप–महानगरपालिकाका मेयर हर्कराज राईले धरानका चुरे क्षेत्रमा पर्ने खोलामा नदी जन्य पदार्थ संकलन र बिक्री वितरण गर्न रोक लगाएपनि खोलाले बगाएर ल्याएका ढुंगाहरु संकलनगरी जिवीकोपार्जन गर्न धरान १३, ११, १७ र २० नं वडाका सुकुम्बासीहरु दिनरात खोलाको भेलमा पनि पर्वाह नगरी ढुंगा संकलन गर्दै आएका छन्।(साभारः दिव्य रोशनी साप्ताहिक, वर्ष १८ अंक १६बाट)

8 thoughts on “बाढीमा जोखिम मोल्दै ढुंगा संकलन गर्छन् सर्दुका सुकुम्बासी

टिप्पणीहरू are closed.