साना व्यावसायबाट अत्मनिर्भर बन्दै मनि कुमार

मनिता चाम्लिङ
“लौ आयो है हार्पिक, फिनेल, झोल साबुन । साहुजी हार्पिक फिनेल लिनुहुन्छ?” भनि घरघर पसल पसलमा अनुरोध गर्दै हिड्ने धरान १६ निवासी मनि कुमार चाम्लिङ राईको हरेक दिनको दिनचर्या यसरी नै बित्ने गर्दछ।
उमेरले ६६ बसन्त पार गरेका मनि अहिले पनि युवा जस्तै दिनरात काममा खटिएका छन्। उमेर ढल्कदै गएपनि उनको जोश जाँगर भने युवाको झंै जोशिलो छ। “काम गरेर खान के को लाज?” भन्ने मनि कुमार अहिले उद्यमी हुने प्रयासमा रहेका छन्। युवाहरु रोजगारका लागि पासपोर्ट बोकेर विभिन्न मेनपावर धाईरहेका बेला मनि कुमार भने आफ्नै घरको एक कोठामा उत्पादन गरेका सामानहरु बेच्न बजार, चौक, गल्लीहरुका सडक नापी रहेका छन्। “लौ आयो ह,ै धरान मै बनिएको हार्पिक, फिनेल, झोल साबुन” भन्दै धरानका बजारबजार, गल्ली गल्लीहरुमा भेटिन्छन्।
२० वर्षअघि एक एनजिओले दिएको तालिमलाई अहिले उनले सदुपयोग गरिरहेका छन्। गत चैत्र महिनामा सालपा बहुआयमिक लघु उद्योग व्यवसाय दर्ता गरी बैशाख देखी हार्पिक, फिनेल, झोल साबुनको उत्पादन शुरु गरेका राईले दैनिक २ हजार देखि ५ हजारसम्मको हाराहारीमा सामान बिक्री गर्दै आएका छन्। गत बैशाखमा ५ हजार रुपैयाँको कच्चा पदार्थ खरिद गरी व्यवसाय शुरु गरेका राईले ४ महिनाको अवधिमा घरखर्च चलाउँदै ५० हजार बढीको व्यवसाय बिस्तार गरिसकेका छन्।
शुरुमा घरमै किराना पसल चलाउँदै आएका राईलाई ग्राहकहरुले उधारोमा खाईदिंदा उनले किराना व्यवसाय नै बन्द गर्नुपर्यो। दैनिक नगदमा भन्दा पनि ग्राहकहरुले उधारोमा सामान लगिदिंदा व्यवसाय घाटामा परेको उनले बताए। तर जहाँ ईच्छा त्यहाँ उपाय भने झंै उनले २० वर्ष अघि तालिममा लिएको सर्टिफिकेटलाई व्यवहारमा उतार्ने सोंच लिए अनि त्यसमा नै निरन्तर लागि परे। उनका अनुसार शुरुशुरुमा त उनलाई र्हािर्पक, फिनेल, झोल साबुन बनाउन निकै मुस्किल पर्यो। जति बनाउँदै गयो उती बिग्रने, सावा नै नरहने देखेपनि उनले हारभने मानेनन्। अन्त्यमा उनी सफल भएरै छाडे। उनी अहिले दैनिक बिहान ४ बजे उठेर सामान मिलाउने र ७ बजेदेखी सफारीमा राखेर बजार डुलाउने गर्दछन्। उनी १२ बजे खाना खाएर फेरी बजार डुल्न निस्कन्छन् र सामान बेचेर ५ बजे घर फर्किन्छन्। त्यसपछि उनको घरमा नै सामान बनाउने काम शुरु हुन्छ। काम गर्दा गर्दै कहिले काही रातको ९÷१० नै बज्ने गर्दछ।


सामान बनाउन त्यती सजिलो भने छैन। फिनेल, हार्पिक र झोल साबुन बनाउन केमिकल प्रयोग हुने भएकाले त्यसको मात्रालाई सन्तुलनमा राख्नु त छँदैछ त्यसमा पनि नराम्रो गन्ध आउने केमिकलले घाटी नै अठ्याउने गरेको उनी बताउँछन्। उनी भन्छन् “दुईवटा मास्क लगाएर पनि हुँदैन, केमिकल र एसिडको गन्धले घाटी नै अठ्याउँछ।” तर पनि यसैमा उनले आफ्नो जीवन गुजारा गर्ने भविष्य देखेका छन्। उनले पहिले–पहिले सामान सफारीमा बेच्न एकजना ड्राभर पनि राखेका थिए। तर चालकले सफारी दुर्घटनामा पारेपछि उनी आफैले सफारी चलाउँदै आएको बताउँछन्।
उनले फिनेल, हार्पिक, झोल साबुन सबैको मुल्य एक सय रुपैयाँ राखेका छन्। तर होलसेलमा खरिद गर्नेहरुका लागि प्रति मुल्य ८० रुपैयाँमा पनि दिने गरेको उनले बताए। उनलाई व्यवसायमा श्रीमती र छोराले पनि सघाउँदै आएका छन्। उनले दुःख गरेर भएपनि एक छोरीलाई युके लण्डनमा उच्च शिक्षाको लागि पठाएका छन्भने छोरा पनि युके नै जाने तरखरमा रहेको उनले सुनाए।
“मासिक कती कमाउनुहुन्छ ?” भन्ने प्रश्नमा राईले आफुले त्यसको हिसाब÷किताब नै नगरेको बताए। उनले सामान बेचेको पैसाले घरखर्च चलाउँदै बचेको पैसा व्यवसायमा लगानी गरेको बताए। उनले सामान बनाउन कच्चा पदार्थ विराटनगरबाट लिएर आउने गरेका छन्। महंगीले सबै सामानमा मुल्यवृद्धि भएपनि आफुले बनाएको सामान सस्तोमा बिक्री गर्न बाध्य भएको उनले दुःखेसो पोखे। उनले सामाजमा अझैपनि रंगीचंगी सामान मात्रै खरिद गर्ने परम्परा रहेकोले राम्रा सामान उत्पादन गरेपनि बाहिरी आवरण खोल आकर्षक झिलीकमिलीक भएमात्र ग्राहकले खरिद गर्ने गरेको गुनासो पोखे। उनले भने “बाहिरी जिल्लाबाट आउने सामान आफ्नो सामान भन्दा गुणस्तर ज्यादै कम भएपनि ग्राहकले खरिद गर्छन्।” उनी थप्छन्– “मैले सामानको भाँडोमा होईन् त्यसको गुणस्तरमा ध्यान दिने गरेको छु। साथै बजार मुल्यभन्दा सस्तोमा पनि बेचिरहेको छु। एक पटक प्रयोग गर्नेहरुले फेरी फेरी पनि खरिद गरिरहेका छन्।”
काम गर्न पाए आफुलाई फुर्तिलो महशुस हुने गरेको बताउने राई यसभन्दा अघि खोटाङ अनि सिक्क्मि गएर किताबहरु बेच्ने गरेको उनले बताए। उनी आफैले किरात रुवोदुङ चाम्लिङ निनाम्बुँवाछा वंशावली पुस्तक समेत प्रकाशित गरिसकेका छन्। बजारमा सामान बेच्नेक्रममा उनले चाम्लिङ राईहरुको पाछा संकलन पनि गर्दै आएको राईले बताए। उनले संकलन गरेको चाम्लिङ राईहरुको पाछा खोेटाङबाट प्रकाशित हुने “सितिमी” पत्रिका (चाम्लिङ भाषामा अगुल्ठो) मा लेख्दै आएका छन्। उनी सितीमी पत्रिकाका धरानका प्रतिनिधी समेत हुन्। परिवारका जेठा दाजु ब्रिटिस लाहुरेभएपछि २०३५ सालमा खोटाङबाट सपरिवार धरान झरेका थिए। उनी अहिले धरान १६ विधान मार्गमा सपरिवार बस्दै आएका छन्।
युवाहरुलाई शन्देसः
विदेश गएर भाँडा माझ्ने, ट्वाईलेट सोहर्न नहिचिकिचाउने युवाहरुलाई आफ्नै देशमा परिश्रम गर्नुपर्ने सुझाव उनि दिन्छन्। “युवाहरुलाई सबैभन्दा बिगार्ने भनेको बुवा आमा नै हुन्”। उनले भने “खाली विदेश पठाउन खोज्छन्, अर्काको छोराछोरीले यती कमायो, उती कमायो भनेर विदेश पठाउन मात्रै प्रोत्साहन गर्छन, त्यो राम्रो परिपाटी होईन।” उनले परिश्रमगरे स्वदेशमा नै सुनको फल टिप्न सकिने भएकाले स्वदेशमा नै परिश्रम गर्न आग्रह गरे। “अरुको के कुरा गर्नु मेरो छोरा नै यहाँ काम गर्न लजाउछ” उनले भने “काम भनेको सानो, ठुलो हुदैन मिहेनत गर्नु पर्छ। परिश्रमको फल मिठो हुन्छ।”
राईले उत्पादन गरेका सामानहरु धेरैजसो स्कुलहरुमा बिक्री हुने गरेको छ। एउटै स्कुलमा २ हजार बढीको सामान बिक्री हुने गरेको उनले बताए। आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको बताउने राईले बजारमा भन्दापनि गाउँ एरियामा बढी बिक्री हुने गरेको बताए। कहिलेकाही फोनबाट पनि अर्डर आउने गरेको उनले सुनाए।
सरकारले व्यावसायीहरुसंग कर लिने मात्रै होईन कच्चा पदार्थखरिदमा छुटको व्यावस्था दिनुपर्ने उनको माग रहेको छ। साथै साना रोजगारमुखी व्यावसायलाई सहयोग गरिनुपर्ने समेत बताए।
दैनिक जिवनमा प्रयोग हुने हार्पिक, फिनेल, लुगा, भाडा धुने झोल साबुन, जुनसुकै ठाउँमा पनि सदाबहार चलिरहने भएकोले यस्ता सामानहरु ग्राहकको रोजाईमा पर्ने गर्दछन् । साथै थोरै लगानीबाटै सुरु गर्न सकिने यस्ता व्यावसायबाट सजिलै आत्मनिर्भर बन्न सकिने राईको कथन छ।(साभारःदिव्य रोशनी साप्ताहिकबाट)

23 thoughts on “साना व्यावसायबाट अत्मनिर्भर बन्दै मनि कुमार

टिप्पणीहरू are closed.