तिनदिने भेडेटार फुड फेष्टिवल पुष १६ देखि

दिव्य रोशनी(धरान)/ प्रदेश नं. १ कै रमणिय पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तिनदिने भेडेटार फुड फेस्टिवल हुने भएको छ।
‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्रयाउने हाम्रो चाहना’ भन्ने नाराका साथ अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसर पारेर होटल एशोसिएशन अफ भेडेटारले यही पुष १६ देखि १८ गतेसम्म ९ औं भेडेटार फुड फेस्टिवलको आयोजना गर्न लागेको हो।
आज सोमवार भेडेटारमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्था होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले विगतका वर्षहरुमा झै यसवर्षपनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षितगरी अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसर पारेर पुस १६ देखि १८ गतेसम्म तिनदिने भेडेटार फुड फेस्टिवलको आयोजना गर्न लागिएको बताए। अध्यक्ष रुम्दालीका अनुसार फुड फेस्टिवलमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरु प्रर्दशनीमा राखिने भएको छ।


फेस्टिवलमा आउने पाहुनालाई बस्नको लागि भेडेटारका होटलहरुले १० प्रतिशत छुटदिने भएको छ। फेस्टिबलमा जिप लाईन, प्याराग्ल्याईडिङ र हेलिकप्टरबाट भेडेटार फन टुर विशेष आकर्षण रहेका छन् । जसमा महोत्सव अवधीभर प्याराग्लाईडिङमा ३० प्रतिशत, हेलिकप्टर फन टुरमा १० प्रतिशत र जिपलाईनमा १५ प्रतिशत छुट रहेको छ। यसका साथै मुलघाटदेखि सुनसरीको चतरासम्म तमोर नदिमा ¥याफ्टीङ सेवा तथा पाथिभरा मन्दिर, नमस्ते झरना लगायत ऐतिहासिक साँगुरीगढि घुम्ने र आसपासको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रसम्म पुग्ने प्याकेज रहेको छ।
फेस्टिबलमा राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरुको गीत, नृत्य प्रस्तुती समेत रहने भएका छन्। समुन्द्रि सतहबाट १४२० देखि १७०५ मिटरको उचाइमा रहेको भेडेटार क्षेत्र नजिकैका पर्यटकीय क्षेत्र जस्तै साँगुरी यक,पाथीभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जेबजार,शैलुङ डाँडा, आत्मा घर,थुम्की, थाउजेण्ड बिग बुद्ध, अजङ्गको वरको रुख, सूर्योद्धय बौद्धविहार गुम्बाको दर्शन गर्न पाउनेछन्।