पदयात्रा संगै सामाजिक कार्यमा सेवक अभियान धरान

मनिता चाम्लिङ
दिव्य रोशनी (धरान)/ “वाक फर हेल्थ” अर्थात् “स्वास्थ्यको लागि पदयात्रा” भन्ने नाराका साथ शुरु भएको सेवक अभियानले अहिले पदयात्रासंँगै सामाजिक कार्य समेत गर्दै आएको छ।
२०७२ सालदेखि स्वयंसेवीको रुपमा सामाजिक गतिविधिहरु गर्दै आएको सेवक अभियानले २०७४ सालदेखि पदयात्रा समेत शुरु गरेको हो। प्रत्येक शनिवार धरान २ स्थित सिंहदेवी चौकबाट शुभारम्भ हुने पदयात्राले सामाजिक कार्य गर्र्न कहिल्यै छुटाएको छैन। तत्कालिन समयमा मेयर स्व.तारा सुब्बाले समेत पैदल हिडेर शुरु गरेको पदयात्रा अभियान शनिबार १ सय ८९ औं हप्तामा आईपुगेको छ।
केही समयअघिसम्म आफ्नो पदयात्रालाई धरानमा मात्रै सिमित गर्दै आएको सेवक अभियानको १ सय ८८ औं हप्ता (पदयात्रा) को गन्तव्यभने धनकुटाको उत्तरपानी स्थित सुस्त मनस्थिति स्रोत कक्षाका लागि तय गरेको थियो।


गत शनिवार सेवक अभियानको पदयात्री टोलीले चतराको मोटरबोट हुँदै धनकुटाको सिम्लेसम्म त्यसपश्चात् सिम्लेबाट ५ घण्टाको पदयात्रा स्थानीय खड्गबहादुर मगरकोे गाईडमा गरेका थिए। उक्त पदयात्रामा सेवक अभियानको उद्धेश्य उक्त दिन श्रोत कक्षामा रहेका ३५ जना भिन्न क्षमताका बालबालिकालाई जाडोमा लगाउने न्यानो स्वेटर वितरण गर्नेे थियो। पदयात्राको रुटमा परेको उक्त विद्यालयका विद्यार्थीहरुलाई न्यानो स्वेटर वितरण गर्ने आफुहरुको लक्ष्य रहेको अभियानका अध्यक्ष राजीव हलवाईले बताए।
उक्त न्यानो स्वेटर हाईकर्स (पदयात्रा) टोलीको व्यक्तिगत प्रायोजनबाट खरीद गरी वितरण गरिएको हो। पदयात्रामा पुगेकी रञ्जु ठकुरीले भिन्न क्षमता भएका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताईन्।


२०५१ सालमा स्थापना गरिएको यस श्रोत कक्षामा उनीहरुलाई व्यक्तित्व विकासका शिक्षाहरु प्रदान गरिंदै आएको श्रोत कक्षाका प्रधानाध्यापक भूपेन्द्र भण्डारीले बताए। अहिले जाडो महिना भएकोले उनीहरूलाई ओढ्ने लुगाको ठुलो समस्या भएको प्रधानाध्यापक भण्डारीले बताए। यहाँ ५ वर्षका बालबालिकादेखि १८ वर्षसम्मका युवायुवतीहरु रहेको विद्यालयका हेरालु आस्था लिम्बूले बताईन्। यहाँ भिन्न क्षमता (सुस्त मस्थितिका) का बालबालिकाहरुलाई राखिने गरिएको छ।
स्रोत कक्षामा आयोजित कार्यक्रममा शहिदभुमि गाउँपालिकाका अध्यक्ष मनोज राई, सदस्य सोम थापा मगर लगायतले सेवक अभियानको अध्यक्ष लगायत पदयात्रामा गएका सम्पूर्ण टोलीलाई फुलको माला र अबिर लगाई स्वागत गरेका थिएभने उनीहरुले सेवक अभियानको सामाजिक कार्यको प्रशंसा समेत गरेका थिए।
यसैगरी सेवक अभियानले शुक्रबार धनकुटाको चौबिसे गाउँपालिकामा रहेका विभिन्न पाँच विद्यालयका ४ सय ८८ विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा स्वेटर, टोपी र स्टेशनरी वितरण गरेको छ। अध्यक्ष हलवाईका अनुसार राजारानीस्थित पुष्य माविका ३ सय ७९ जना, जलकन्या माविका ४० जना, थाप्रोङस्थित जनशिक्षा सदन प्राविका १८ जना, तिलिगाउँस्थित दुर्गा तिलिङ प्राविका २६ जना र शिखरपुरस्थित वराह प्राविका २५ जना विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरिएको हो।


पुष्य माविमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खगेन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचालले विद्यार्थीहरुलाई कपडा, शैक्षिक सामग्री वितरण गरेका थिए। गाउँपालिका, हिमालयन बैंक र अर्विन एण्ड ब्रदर्ससँगको सहकार्यमा विद्यार्थीहरुलाई कपडा तथा शैक्षिक सामग्री वितरण भएको अध्यक्ष हलवाईले जानकारी दिए।
उनका अनुसार गत वर्ष पनि जाडो समयमा सेवक अभियानले पाँचथरका १ हजार ७ सय ५१, सोलुखुम्बुका २ सय, ओखलढुंगा र खोटाङका ८÷८ सय बढी विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको थियो।


मानव सेवामा समर्पित सेवक अभियान धरानसँंग जोडिएका अभियन्ता, पदयात्रीहरु केवल यात्रा गर्न मात्र होईन, उनीहरुले पदयात्रासँगै सामाजिक कार्यलाई समेत निरन्तरता दिने गर्दछन्। पदयात्राका क्रममा सेवक अभियानले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरी सामुदायिक विद्यालयप्रति विद्यार्थीहरुको आकर्षण समेत बढाउँदै आएका छन्।
स्वास्थ्य संँगै ग्रामिण पर्यटकीयस्थलको उजागर तथा प्रर्वद्धनमा टेवा पुर्याउँदै आएको सेवक अभियान धरानले धरान र आसपासको जिल्लामा रहेका ग्रामिण पर्यटकीय क्षेत्रहरुको पहिचान गर्ने र रुट पत्ता लगाएर पदयात्रीहरुलाई हरेक शनिवार पदयात्रामा लैजाने गरेको छ। (साभारःदिव्य रोशनी साप्ताहिक धरान, वर्ष १७ अंक ३२ बाट)