धरान ३ गल्ली टोलका घरघरमा यःमरी उत्सव मनाईने

नेवार जातिको विशेष पर्व यःमरी पुन्हीको अवसरमा धरान ३ स्थित गल्ली टोलका घर घरमा यःमरी उत्सव मनाइने भएको छ।
धरानको चिनीया चोकस्थित पालिका तरकारी बजारदेखि उत्तरतर्फ रहेको गल्ली टोल, शंखधर साख्वा मार्गमा यही पुष ४ र ५ गते यःमरी उत्सव मनाइन लागेको हो। आईतवार दिउँसो ४ बजेदेखि शुरु हुने उत्सव ५ गते साँझसम्म हुने आयोजकले बताएको छ। विगतका वर्षहरुमा हरेकवर्ष नेवाः देय दवु धरानको आयोजनामा यःमरी उत्सवको आयोजना गरिएपनि कोभिड १९ को कारण केहीवर्ष यःमरी उत्सव रोकिएको थियो। तर गतवर्ष कोभिड केही साम्य भएसंँगै सामान्य घरघरमै यःमरी उत्सवको आयोजना गरिएसंँगै यसवर्षपनि यःमरी उत्सवलाई निरन्तरता दिईएको स्थानिय युवा सन्दिप श्रेष्ठले बताए। उनले यसवर्ष घरघरमा हुने यःमरी उत्सवको विशेष आकर्षण यःमरी, समयबजी लगायतका नेवारी परिकारहरु हुने समेत बताए।
उनका अनुसार यःमरी उत्सवलाई कोरोना संक्रमण शुन्य नभएसम्म ठुलो उत्सवको रुपमा मनाउन नपाए पनि यसवर्ष यःमरी उत्सवलाई निरन्तरता दिनको लागि आयोजना गरिएको हो। शंखधर मार्ग, गल्ली टोल धरानको ऐतिहासिक ठाउँ भएपनिअहिले ओझेलमा परेकाले उजागर गर्नको लागि यसपटक पनि उक्त ठाउँमा यःमरी उत्सव गर्न लागेको उनले बताए।
पत्रकार सम्मेलनमा ३ नं वडाका वडाअध्यक्ष आशा कुमार श्रेष्ठले पाकेको अन्नवाली पितृहरुलाई चढाएर मात्र खाने चलन अनुसार नेवार जातिले विशेष परिकार यःमरी बनाएर खाने गरेको बताए। उनले चामलको पिठो बनाएर त्यसभित्र तिल र सख्खर हालेर यःमरी खाने चलन भएको समेत बताए। गतवर्ष भएको यःमरी उत्सवमा अन्य समुदायको पनि उत्साहजनक सहभागिता रहेकाले यहाँका समुदायमा यमरी उत्सवको आयोजना गर्न थप उत्साह जागेको उनको भनाई छ।
यसैगरी नेवाः देय दवुका केन्द्रीय सदस्य अनिल मास्केले नेवारहरुको बाक्लो बस्ती भएको र ऐतिहासिक ठाउँ भएकोले गल्ली टोल, शंखधर मार्गमा यसपाली पनि यःमरी उत्सवको आयोजना गरिएको बताए।उनले उत्सवलाई रौनक थप्नको लागि स्थानीय युवाहरुद्धारा दाफा भजनसंँगै लाखे नाच, लाखे मास्क प्रदर्शनी, धिमे बाजा, ठाकठुके समेत प्रर्दशन हुने बताए।