विश्व आदिवासी दिवसमा धरानमा त्रिदिवसिय कार्यक्रमको घोषणा

दिव्य रोशनी/ नेपाल आदिवासी जनजाति महासंघ धरानले त्रिदिवसीय कार्यक्रमको घोषणा गरेको छ।
आज मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै धरान नगर अध्यक्ष हेमराज जिमी याक्खाले विश्व आदिवासी दिवसको अवसरमा त्रिदिवसीय कार्यक्रमको घोषणा गरेको बताए। उनले यहि साउन २२ गतेदेखी २४ गतेसम्म विविध कार्यक्रम हुने समेत बताए। उनका अनुसार साउन २२ गते बिहीबार आदिवासी जनजाति युवा महासंघ धरानको आयोजनामा बिहान ९ बजेदेखि ३ बजेसम्म धरान १६ स्थित किरात याक्खा छुम्मा संघीय भवनमा निःशुल्क आँखा शिविर सञ्चालन हुनेछ। त्यस्तै साउन २३ गते शुक्रबार राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ धरानको आयोजनामा बिहान ७ बजेदेखि १२ बजेसम्म धरान २ स्थित लोकतान्त्रिक चौतारीमा रक्तदान कार्यक्रम हुनेछभने सोही दिन दिउँसो ३ बजे धरान १६ स्थित धरान रंगशालामा परिषद् समूह र धरान उपमहानगरपालिका समूहबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना हुनेछ। यसैगरी त्रिदिवसिय कार्यक्रमको अन्तिम दिन साउन २४ गते शनिबार विहान १०ः३० बजे धरान १२ स्थित पब्लिक हाईस्कुलको खेल मैदानबाट आदिवासी महिला तथा आदिवासी युवा महासंघ र परिषद् आबद्ध १३ आदिवासी जनजातीय संघसंस्थाहरुको झाँकीसहित र्याली सुरु भई धरान १५ स्थित चुम्लुङ हिममा पुगी बृहत सभा सांस्कृतिक कार्यक्रम सहित सम्पन्न हुनेछ।


बृहत सांस्कृतिक सभामा धरानका नगरप्रमुख हर्कराज राईको प्रमुख आतिथ्यता रहनेछभने उपमेयर अईन्द्रविक्रम बेघाको विशेष आतिथ्यता रहने छ। यसैगरी कार्यक्रममा आदिवासी आन्दोलनका अगुवा एवं बुद्धिजीवी प्राडा. कृष्ण भट्टचन प्रमुख वक्ता रहने महासंघ नगरअध्यक्ष याक्खाले बताए।
“प्राकृतिक स्रोत, जल, जमिन र जंगलभाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर” भन्ने मूल नारासहित ३१ औं विश्व आदिवासी दिवस मनाउन लागिएको छ।
पछिल्लो समय आदिवासी जनजाति/मूलवासी समुदायमाथि राज्य र यसका अंगहरूबाट सिलसिलाबद्ध आक्रमण भइरहेको जनाउदै महासंघले यस विरुद्ध प्रतिरोधात्मक आन्दोलन छेड्दैै आत्मसम्मान, पहिचान, अधिकार र अस्तित्वका लागि एकताबद्ध भएर लड्न सबै आदिवासी समुदायमा हार्दिक आहवान समेत गरेको छ।