गर्मी बढेसँगै भेडेटारमा पर्यटकहरुको घुँईचो

मनिता चाम्लिङ/
दिव्य रोशनी (धरान)/

अत्याधिक गर्मी बढेसँंगै चिसोमा रमाउन धनकुटाको भेडेटारमा पर्यटकहरुको घुँईचो लाग्न थालेको छ। गर्मीकै कारण तराई लगायत छिमेकी देश भारत विहारबाट समेत गर्मी छल्नकै लागि भेडेटारमा आएपछि पर्यटकहरुको घुँईचो लाग्ने गरेको हो।
गत शनिवार भेडेटारको चिसोमा रमाउन आउने पर्यटकहरुको सवारी साधनका कारण केहीबेर ट्राफिक जाम नै परेको थियो। हजारौंको संख्यामा गर्मी छल्न भेडेटार पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरु भेडेटारको चिसोमा रमाए।
भारत विहारकी सुनिता साह सपरिवार भेडेटारको चिसोमा रमाउन र प्राकृतिक सुन्दरतालाई नियाल्न भेडेटार आएको बताउँछिन्। उनले विहारमा अत्याधिक गर्मी भएकै कारण केहीबेर गर्मी छल्न भएपनि भेडेटार आएको बताउँदै भन्छिन्–“प्रायः वर्षमा एकपटक भेडेटार आएकै हुन्छु। यहाँ आएपछि एकछिन् भएपनि विहारको सबै गर्मी भुल्छु।” उनीहरु भेडेटारमा केहीबेर घुमफिरगरी नमस्ते झरना गएर फर्किने पनि उनले बताईन्।
भेडेटार वास्तवमै प्रकृतिले दिएको गहना हो। छिन्छिन्मै कुहिरो लाग्ने र घाम लाग्ने भएकालेपनि जोकोही एकपटक भेडेटार जानेलाई फेरिपनि जान बाध्य तुल्याउँछ। छिमेकी राष्ट्र भारत विहारका मात्र नभई नजिकका छिमेकी जिल्लाका आन्तरिक पर्यटकहरुको पनि भेडेटारमा उत्तिकै भिड लाग्ने गर्दछ।


यसैक्रममा विर्तामोड झापाकी सेमरिका राईपनि भेडेटारको संखपार्कमा टिकटक बनाउँदै गरेकि भेटिईन्। उनले भेडेटारको चिसो मौसमसँगै प्राकृतिक मनोरम दृश्य नियाल्नकै लागि पनि भेडेटार आएको बताइन्। उनले भनिन् “उता (विर्तामोड) अत्याधिक गर्मी छ, कुल मौसममा टिकटक बनाएपछि अरुपनि छक्क परोस् न।”
गर्मी छल्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुले भेडेटार घुमेर यहाँको अर्गानिक सागसब्जी समेत किनेर लैजाने गरेका छन्। जसका कारण भेडेटारका होटल, खाजाघर मात्र नभई सडक पेटी र टहरामा थापिएका तरकारी पसलहरुको समेत मजाले व्यापार चलेको छ।
धरानबाट गर्मीछल्न गएका आन्तरिक पर्यटकहरु भेडेटारमा नै सिमित हुने गरेतापनि धरान बाहिरका शहरबाट आएका पर्यटकहरु भेडेटारमात्र सीमित रहँदैनन्। उनहरु भेडेटारमा रहेको स्काईवक, पाथीभरा मन्दिर,साँगुरीगढी, थुम्की, सुर्योदय बुद्ध विहार, आत्मा घर, नाम्जे पुग्ने गरेका छन्भने १÷२ दिनको बिदामा घुम्न आउने पर्यटकहरु नमस्ते झरना, ओख्रे भ्यू टावर र राजारानी ताल लगायतका स्थानमा समेत पुग्ने गरेका छन्। अन्य दिनभन्दा बिदाको दिन भेडेटारमा अत्याधिक पर्यटकहरुको भीड बढ्ने गरेको छ।
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षितगरी होटल एशोसिएसन भेडेटारले अंग्रेजी नयाँवर्षको अवसरमा ३ दिने फुड फेस्टिबलको आयोजना गर्दै आएको छ। फुड फेस्टिवलको अवसरमा विशेषगरी भारतको विभिन्न जिल्लाबाट पर्यटकहरु आउने गरेको होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले बताए। उनले अहिले दैनिक २ देखि ४ हजार पर्यटक आउने भएपनि बिदाको समयमा अझ बढी आउने गरेको समेत जनाए।
गर्मी छल्न भेडेटार आउनेको संख्या अहिले हरेक दिन बढ्दै गएको छ। भेडेटारको शितल मौसम साथै यहाँको मनोमोहक दृश्यहरुलेपनि पर्यटकहरुलाई लोभ्याउने गर्दछभने गतवर्षदेखी संचालनमा आएको स्काइवाकले पर्यटकहरूलाई थप आकर्षित गरिरहेको छ।(दिव्य रोशनी साप्ताहिकबाट)