पानीको अभाव झेलेका विजयपुरवासी पाईप तान्न उर्लिए (भिडियो सहित)

मनिता चाम्लिङ/
दिव्य रोशनी (धरान)/
खानेपानीको अभाव झेल्दै आएका विजयपुरवासी शनिबार खानेपानीको पाईप तान्न उर्लिएका छन्।
धरानवासीको खानेपानी समस्यालाई हल गर्न भरमग्दुर प्रयास गर्दै आएका मेयर हर्क साम्पाङले शनिवार धरान १४ विजयपुरको पञ्चकन्या जंगलमा खानेपानी पाईप तान्न आव्हान गरेसंँगै विजयपुरवासीहरु पाईप तान्न उर्लिएका हुन्।
मेयर साम्पाङको हरेक श्रमदानमा सहभागी हुने सयौंको संख्याका श्रमदाताहरु संगै विजयपुरवासीहरुले पाईप तान्न सहभागी रहेका थिए। वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई सहित वडासदस्य तथा स्थानियवासीले सेउती खोला नजिकै सर्दुखर्दुबाट ल्याएको पानी ल्याउन पाईप तानेका थिए।
धरान १४ का वडा अध्यक्ष भट्टराईले विजयपुरवासीलाई खानेपानी खुवाउन श्रमदानका लागी मेयर साम्पाङलाई आग्रह गरेपछि प्राविधिकको राय पश्चात् स्थानिय जनसहभागिता सहित श्रमदाताहरुको सहयोगमा ६ ईन्चको पाईप १२ सय मिटरसम्म तानिएको जानकारी दिए। उनले श्रमदान मार्फत ल्याईएको पानी टंकीमा खसाएपछि डाँडा गाँउ र हातिसारमा वितरण गर्नका लागि कनेक्सन तयारी अवस्थामा राखिएको समेत जानकारी दिए। उनका अनुसार स्थानियवासीहरुलाई श्रमदानमा अन्त जान नसकेपनि आफ्नो वडामा हुँदा सहभागी हुनुपर्छ भनेर अनुरोध गरेपछि पाईप तान्न स्थानियवासीको लर्को नै लागेको हो। अध्यक्ष भट्टराईले भने “सबैलाई धन्यवाद दिन चाहन्छु। आज श्रमबाट धेरै काम भएको छ, हिजो कर्मको रुपमा श्रम गरिन्थ्यो तर आज श्रमको अभियानमा जोडिएर विकास गरिएको छ।” वडाअध्यक्ष भट्टराईले कतिपय ठाउँमा बजेटले पनि नहुने कुरामा श्रमको अभियान एकदमै राम्रो भएको बताए। श्रमदान अभियानमा ७० देखी ९१ वर्षसम्मका श्रमदाताहरु पाईप तान्न आएका थिए।
हरेक कुरालाई बजेट बनाएर टेण्डर गरेर मात्र नहुने अध्यक्ष भट्टराईको भनाई छ। श्रमको अभियानले ६/७ लाख बजेटको काम बचत भएको उनले बताए। “श्रमबाट राम्रो परिणाम देखिएको छ, त्यो जोगिएको पैसा राज्यको हो, त्यो पैसा अन्यत्र पनि लगाउन सकिन्छ” उनले भने। सुन्दर समाजको परिकल्पना गर्ने होभने कसैको पनि रिस, डाह नगर्न साथै सबैले एक अर्काको अस्तित्व स्विकार्नपनि उनले आग्रह गरे।


४० वर्षअघि २ सय घरधुरीका लागी ल्याईएको पानी अहिले १२/१३ सय घरधुरीले पिउनुपर्ने बाध्यता रहेको छ। यस श्रमदान अभियानबाट ल्याएको पानीले विजयपुरवासीको आधा समस्या हल हुने अध्यक्ष भट्टराईको दावी छ। उनका अनुसार विजयपुरमा १ लाख क्षमताको पानी टंकी रहेको छभने अर्को टंकी पनि निर्माण गरिंदैछ।
मेयर साम्पाङको श्रमदानमा पहिलो पटक सहभागी स्थानियवासी पुनम भट्टराईले पहिला पहिला टिभीमा श्रमदान गरेको देखेपनि यसपटक आफ्नै वडामा पहिलो पटक सहभागी भएको बताईन्। उनले यसपटक आफ्नै ठाउँमा आफ्नै आँखाले देख्दा साह्रै रमाईलो लागेको बताउँदै पानी आएपछि वडामा धेरै सहजाता आउने विश्वास व्यक्त गरिन्।
त्यस्तै विजयपुरवासी कमला कोईरालाले पानी खान पाईने भएपछि एकदमै खुसी लागेको बताईन्। उनले ३० वर्षअघिदेखी पानी बोकेर खानुपरेको बाध्यता हट्ने आशा पलाएको बताईन्। त्यस्तै धरान छाताचौक स्थित माईक्रोटेक कम्प्युटर प्रालीका संचालक तथा विजयपुरवासी निरज घिमिरे पनि पसल छाडेर श्रमदानमा आएका थिए। उनले आफ्नै टोलमा भएको श्रमदानमा आफ्नो जिम्मेवारी सम्झेर आएको बताए। यस्तै स्थानियवासी तथा पब्लिक हाईस्कुलका शिक्षक जीवन कोईरालाले चिप्लो बाटोमा लड्दै पड्दै कुवाबाट पानी बोक्ने गरेको बताउँदै श्रमदानबाट पानी ल्याएपछि विजयपुरमा पानीको अभाव नहुनेमा आफु आशावादी रहेको बताए।
विजयपुरका साहित्यकार मणि सुन्दर खत्री दाहालले धरानकै गौरवको रुपमा रहेको धार्मीक वडा विजयपुरमा एकदमै पानीको समस्या रहेकोले यस अभियानले सार्थकता पाए विजयपुरवासीको मुहारमा खुसी छाउने बताए। “अहिले दिन बिराएर ४५ मिनेट देखी १ घण्टा पानी आउने गरेको छ” उनले भने। मेयर साम्पाङ निर्वाचित भएर आएपछि पानी खुवाउने अभियान अनुरुप अहिले व्यापकरुपमा काम भएकोले अब पानी खान पाईने आशा जागेको बताए। यसैगरी स्थानियवासी प्रकाश पोख्रेलले श्रमदानले आफ्नो शारिरीक स्वास्थ्य संँगै विकास पनि हुने भएकाले श्रमदान नेपालभरी नै हुनुपर्ने बताए।
श्रमदानमा पाईप तान्न स्थानियवासी ज्येष्ठ नागरिक ९१ वर्षिय बिर्ख बहादुर श्रेष्ठ(डंगोल) पनि सहभागी थिए। उनले १९९०/९१ सालमा बडाहाकिम जुद्ध शमसेर पिण्डेश्वर मन्दिरमा जल चढाउन आउदा पुजारीले पानीको दुःख सुनाएपछि विजयपुरमा पहिलो पटक पानीको धारा खसालिएको बताए। जसमा दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर र सार्वजनिक धारा गरी विजयपुरमा ७ वटा पानीका धारा जोडिएका थिए। २००८ सालमा राजा त्रिभुवन र युवराज महेन्द्र पिण्डेश्वरमा सवारी हुँदा पानी र बाटोको लागी थप पहल गरिएको उनको भनाई छ। उनले पिण्डेश्वर मन्दिरमा रहेको ईनार २०३८/३९ सालमा जिर्णोद्धार गरि पानीको लागी सहज बनाएका थिए। केही समय अघि उनी कोकाहाबाट खानेपानी ल्याउन पाईप तान्न विष्णुपादुकामा पनि पुगेका थिए। उनले खानेपानी अभियानका लागी ११ हजार १ सय २५ रुपैयाँ सहयोग पनि गरेको बताए। विभिन्न ठाउँमा हुने श्रमदानमा पुगेका श्रेष्ठ पहिलो पटक आफ्नै ठाउँमा श्रमदान हुँदा झनै खुसी लागेको बताए। लौरो टेकेर पाईप घिर्सादै रहेका श्रेष्ठले कोशीबाट पानी ल्याउने हर्क साम्पाङको ईच्छापुरीको कामना समेत व्यक्त गरे।


मेयर साम्पाङको श्रमदानमा धरानवासी मात्र नभई जनता बहुमुखी क्याम्पस उदयपुरबाट पनि बिएसडब्लुमा अध्ययनरत ६० जना विद्यार्थीहरु अवलोकनका लागी आएका थिए। क्याम्पसको नेतृत्व गर्दै आएका उदयपुरका पत्रकार बुद्धि चाम्लिङले धरानका राम्रा कुराहरुको अनुशरण गर्नपनि यसपटकको श्रमदानमा विद्यार्थीहरु लाई सहभागी गराईएको बताए। उनले स्थानिय सरकार बजेटको अभावमा कमजोर भएकाले मन हुने र धन हुनेहरुले गरेको सहयोगसँंगै श्रमदान अभियानले विकास निर्माणमा धेरै नै सघाउ पुग्ने दावी गरे।
धरानवासीको खानेपानी समस्यालाई समाधान गर्ने बाचा गरेर मत पाएका मेयर साम्पाङले निर्वाचित भएपछि पहिलोपटक श्रमदान मार्फत् पकुवा खोलाबाट खानेपानी ल्याएका थिए। त्यसपछि सर्दु–खर्दु, निशाने, भालु खोला, तामाखाम, कोकाहा भाग १ र कोकाहा भाग २ गरी आधा दर्जन खोलाबाट पानी ल्याईसकेका छन्। यसैक्रममा शनिवार विजयपुरवासीहरुलाई खानेपानी खुवाउन वृहत रुपमा श्रमदान अभियानको आयोजना गरिएको थियो। “धराने जनता एक हौं, जय श्रमदान” भन्दै गीत गाउँदै डाँडा पाखामै रमाईलो गर्दै श्रमदाताहरु पाईप तान्न व्यस्त देखिन्थे।
“ओरोलोमा होसियार है, बिस्तारै है, बाटो अप्ठ्यारो छ।” श्रमदाताहरुलाई सचेत गराउँदै थिए वडाअध्यक्ष भट्टराई। (दिव्य रोशनी साप्ताहिकबाट)

टिप्पणीहरू are closed.