धरानमा डेंगुको त्रास, अपनाउ सतर्कता !

दिव्य रोशनी(धरान)/ मनसुनी वर्षा शुरु भएसँंगै धरानमा डेंगुको त्रास फैलिएको छ। गतवर्ष डेंगुले आक्रान्त बनेको धरानमा डेंगु संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो।
अहिले धरानमा डेंगुको प्रकोप फैलिन शुरु भएको छ। अहिले धरानमा डेंगुका बिरामीहरु भेटिन थालेका छन्। गतवर्ष जेष्ठको अन्तिम सातादेखी डेंगुको प्रकोप फैलिएको थियोभने यसवर्ष असारदेखी देखिन थालेको छ। तर विगतका वर्षहरुमा झंै डेंगु प्रकोपलाई फैलिन नदिन धरान उपमहाननगरपालिकाले बेलैमा सर्च एण्ड डिष्ट्रोय (खोज र नष्ट गर) अभियान सँंगै फगिङ पनि शुरु गरेको छ। बिहिवार मात्रै मेयर हर्क साम्पाङको अगुवाईमा धरान १६ को पुल चौकमा सरसफाई अभियानसंँगै डेंगुका लार्भा खोज र नष्ट गर अभियान पनि शुरु गरिएको छभने शुक्रवार धरान १५ को विशाल चौकमा पनि लागुऔषध दुव्यर्सन विरुद्धको सचेतना अभियान कार्यक्रम पश्चात् डेंगुका लार्भा खोज र नष्ट गर अभियान संचालन गरिएको छ। जसमा थुपै्र स्थानहरुमा डेंगुका लार्भाहरु भेटिएको थियो। डेंगु सफा पानीमा बस्ने र अण्डा पनि सफा पानीमा नै कोरल्ने भएकाले सर्च एण्ड डिष्ट्रोय अभियानमा डेंगुका लार्भाहरु देखिएका पानीका भाडा, गमलाका प्लेटहरु खाली गरिएको थियो।
मेयर साम्पाङले डेंगु नियन्त्रणका लागी स्थानिय सरकारले मात्र नसक्ने बताउँदै डेंगु नियन्त्रणका लागी स्थानियवासी आफैपनि जागरुक हुनुपर्ने बताए। उनले भने “धरानमा पानीको अभाव भएको सबैलाई थाहा छ, पानीको जोहो गर्दा पानी छोपेर राखौं, खुल्ला नराखौं। डेंगुका लार्भाहरु देखिए पानीको भाँडोलाई घोप्टाऔं।”
धरानमा पानीको समस्या भएकै कारण पानीको जोहो गर्नेक्रममा भाँडाको बिर्को नलगाई पानी राख्ने गरेका कारणले पनि डेंगु फैलिने गर्दछ। साथै वर्खायाममा परेको पानी खाल्डाखुल्डीमा जम्ने र त्यसलाई घरपरिवारका मानिसहरुले पनि वास्ता नगरेकै कारण डेंगु फैलिनमा मद्धत पुगेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए। उनले धरानमा डेंगु फैलिन नदिन स्थानियवासी आफै सचेत भई सेकसम्म पानीको भाँडोलाई बिर्को लगाउनुपर्ने जानकारी गराए।
डेंगुले विशेषगरी दीर्घ रोगीहरुलाई समस्यामा पार्ने गरेको छ। तथापी युवाहरु पनि डेंगु संक्रमणबाट अलग रहन सकेका छैनन्। डेंगु रोगको उपचार खासै नभएपनि यसका लागी सिटामोल र जीवनजल नै उत्तम औषधी भएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए। तथापी गम्भिर प्रकृतिका बिरामीहरुलाई स्लाईन पानी चढाइने उनी बताउँछन्।
धरानमा किन फैलिन्छ डेंगु?
उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख मेहेताका अनुसार धरान डेंगुका लागी उचित बास स्थान भएको शहर हो। नजिकै चारकोशे जंगल, ओसिलो ठाउँ र पानीको अभावले गर्दा पानीको जोहो गर्नेक्रममा खुल्ला भाडामा पानी स्टोर गरिंदा डेंगुको संक्रमण फैलिने गर्दछ। स्वास्थ्यकर्मीहरुका अनुसार एडिस जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट यो डेंगु संक्रमण फैलने गर्दछ। विशेषगरी वर्षात्को समयमा फैलने यो डेंगु सफा पानीमा मात्र बस्ने र अण्डा पार्ने यो प्रजातीको लामखुट्टेले विशेषगरी दिनमा मात्रै मानिसलाई टोक्ने गर्दछ। विश्व स्वास्थ्य संगठन (डब्लु एचओ) का अनुुसार डेंगु प्रकोपलाई न्यून बनाउन अन्तिम विकल्प भनेकै सर्च एण्ड डेस्ट्रोई अभियान हो। नछोपी राखिएका भाडाका पानीहरु पोखाउने, डेंगुले फूल नपारोस् भन्नका लागी औषधीहरु छर्किने उपाय नै अन्तिम विकल्प हो।
तर जनता आफै सचेत नहुने र फगिङ अभियान मात्रै डेंगु विरुद्धको समाधानको उपाय भनेर बुझ्दा धरानमा संक्रमणदर बढ्ने गरेको स्वास्थ्य महाशाखा प्रमुख मेहेताको भनाई छ। उनले फगिङ अभियान तत्कालका लागी राम्रो देखिएपनि यसले पानीमा रहेका डेंगुका लार्भाहरु नष्ट नगर्ने तर आम मानिसमा श्वासप्रश्वासमा दीर्घकालिन असर पुर्याउने बताए।
विगतका वर्षहरुमा धरानमा देखिंदै आएको डेंगु रोग गतवर्ष भने अचाक्ली बढेको थियो। गतवर्ष धरानका सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमा डेंगु रोगका बिरामीहरुले भरिन थालेपछि स्थानिय सरकार धरान उपमहानगरले शिविर नै संचालन गरेको थियोभने सुनसरी उद्योग वाणिज्य संघ लगायत धरानका वडा कार्यालयहरुले समेत डेंगु संक्रमण उपचारका लागी शिविर नै संचालन गरेको थियो। उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख मेहेताका अनुसार गतवर्ष धरानमा ७ जना महिला र ६ जना पुरुष गरी १३ जनाको डेंगु संक्रमणबाट मृत्यु भएको थियोभने १६ हजार भन्दा बढी डेंगुबाट संक्रमित बनेका थिए। यसवर्ष धरानमा डेंगुको प्रकोपलाई रोक्न स्थानिय सरकार सँंगै धरानवासीहरु पनि चनाखो हुनुपर्ने अवस्था आएको छ। विगतका वर्षहरुको गल्तीबाट पाठ सिकेर यसवर्ष समयमा नै डेंगुको प्रकोपलाई रोक्न सरोकारवाहरु सबैजनाको साथ र सहयोगको जरुरी देखिएको छ।(दिव्य रोशनी साप्ताहिकबाट)