गोधुली फुटबल रनिङकपः धरान १५ विजयी
दिव्य रोशनी(धरान)/ धरानमा जारी वडास्तरिय गोधुली फुटबल रनिङकप अन्तर्गत तेस्रो दिनको खेलमा धरान १५ नं वडा विजयी भएको छ।
शनिवार राती धरान रंगशालामा भएको खेलमा धरान ८ नं वडालाई ० का विरुद्ध २ गोलले पराजित गर्दै धरान १५ नं वडा विजयी बनेको हो। खेलमा धरान १५ का तर्फबाट एरिक गुरुङले पहिलो हाफको २५ औं मिनेटमा गोल गरी टिमलाई १ गोलको अग्रता दिलाएका थिए।
मध्यान्तर सम्म १ गोलको अग्रता लिएको धरान १५ ले दोस्रो हाफको ३९ औं मिनेटमा २ गोलको अग्रता लिएको थियो। जसमा धरान ८ का निवास थापा मगरले आत्मघाती गोल गरेका थिए। निकै नै प्रतिस्पार्धात्मक भएको खेलमा दुबैटिमबाट गोल गर्ने राम्रा अवसरहरुभएपनि सदुपयोग गर्न नसक्दा थप गोल भएनन्। खेलमा धरान १५ का एरिक गुरुङ घोषित भए। उनले नगद १५ सय हात पारे।
आईतवारको पहिलो खेल धरान १४ नं वडाका विरुद्ध ९ नं वडा र दोस्रो खेल धरान ४ का विरुद्ध १ नं वडाका बिच हुने आयोजक संस्थाका उपाध्यक्ष सतिस केसीले बताए।
प्रतियोगितामा धरानका २० वटा वडामध्ये २ र ७ नं वडाले सहभागिता जनाएका छैनन्। प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन्भने उपविजेता टिमले नगद ७५ हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछन्। यसैगरी विजेता तथा उपविजेता टिमलाई धरान १८ नं वडाका वडाअध्यक्ष नरेन्द्र कुमार राई (प्रविन) द्धारा थप २५÷२५ हजार प्रदान गरिने भएको छ। यसैगरी प्रतियोगिताका व्यक्तिगत पुरस्कारहरुमा वेस्ट प्लेयरले नगद १५ हजार, हाईस्कोररले नगद ७५)), बेष्ट डिफेण्डर, म्यानअफ दि म्याच, बेष्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्ट्राईकर, राईजिङ प्लेयर र बेस्ट मिडफिल्डरले जनही ५५०० प्राप्त गर्नेछन्।
कुल अनुमानित बजेट २४ लाख १८ हजार ३ सय ३५ रुपैया रहेको सो प्रतियोगिताको समापन समारोहमा १ जना उत्कृष्ट पत्रकारलाई सुवास राई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ। हालसम्म गोधुली रनिङकप धरान १९ नं वडाले सर्वाधिक ६ पटक जितिसकेको छभने ८ नं वडा र १७ नं वडाले ४÷४ पटक जितेको छ।
२५ औं संस्करणमा आईपुग्दा क्लवले धरान नै पहिलो पटक रात्रीकालिन फुटबल खेल संचालन गरिरहेको छ।