विकासमा ओझेल धरान २० नं वडा

मनिता चाम्लिङ/
दिव्य रोशनी(धरान)/ भौगोलिक विकटताका कारण धरानको २० नं. वडा विष्णुपादुका विकासको क्रममा अझैपनि ओझेलमा परेको छ।
भौतिक पूर्वाधार लगायत स्वास्थ्य र शिक्षाले अग्रणी बनेको धरानसंँग गाँभिएको साविक विष्णुपादुका गाविस (हाल वडा नंं २०) अझैपनि भौतिक पूर्वाधारले पछाडी रहेको छ। यस विष्णुपादुकालाई सुगम शहर धरानको दुर्गम क्षेत्र भनेर पनि चिनिन्छ। सर्दुखोलादेखी साढे ४ किलोमिटरमा रहेको भन्ञ्याङसम्म सवारी आवागमनमा केहि सुविधा भएपनि अन्यत्र बाटोको सहजता छैन।
साविक विष्णुपादुका गाविस धरानसंँग गाँभिएपनि विकासले अझैपनि विष्णुपादुकालाई धरानसंँग जोड्न सकेको छैन। बाहिरबाट हेर्दा सुविधा सम्पन्न देखिने धरान बजार वास्तवमा, विष्णुपादुकामा पुगेपछि कुनै दुर्गम पहाडी क्षेत्रमा पुगेको महशुस हुन्छ। दुई साता अघिमात्र धरानका महिला जनप्रतिनिधीहरुको संजालले धरान २० स्थित खैरेमा लैंगिक हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रम लिएर जाँदा महिला जनप्रतिनिधीहरु आफै पनि छक्क परेका थिए।


धरान ३ नं. वडाकी महिला वडा सदस्य उषा सुब्बाले यस २० नं. वडाको खैरे भन्ने ठाउँमा आउदा भिरबाट लडि झर्ने डरैडरका बिच आईपुगेको बताउँदै यस वडाका जनताहरु सँधै डरैडरको जोखिम मोलेर बजारका लागी धरान झर्न बाध्य भएको बताईन्। उनले बाटोको असहजताका कारण गाडीबाट ३/४ ठाउँमा ओर्लिएर हिड्दै आएको समेत बताईन्। उनले भने “जसरी हामीलाई हाम्रो ज्यानको माया भएर गाडीबाट ओर्लिए जस्तै यहाँका स्थानियवासीहरुमा पनि आफ्नो ज्यानको माया भएपनि बाध्यताले आफ्नो दैनिकी चलाउनु परेको छ। यहाँका जनताले दुःख पाएका छन्, अब स्थानिय सरकारको पनि यस क्षेत्रमा विशेष ध्यान जानु पर्दछ।”
धरान २० दुर्गम एरियामा भएपनि धरानको अन्य वडा जस्तै सुगम वडा बनाउनुपर्ने उनको भनाई छ। “हामीले भञ्ज्याङ, गोर्खा स्मृति पार्क, चिण्डे डाँडा भनेर मात्र विष्णुपादुकालाई बुझेपनि वास्तविक विष्णुपादुका वडा त्यो होईन रहेछ।” उनले भनिन्। उपमहानगरपालिका भएपनि यहाँका जनता कति दुःख कष्ट सहेर बसेका रहेछन् भनेर जान्न खेरै पुग्नुपर्ने उनले बताईन्। उनले यहाँका जनताले आफ्ना जनप्रतिनिधीहरुलाई समस्या पुर्याउन नसकेको भन्ने आफुले बुझेको बताउँदै धरानका अन्य वडाका नागरिक जस्तै यस वडाका नागरिकले पनि स्थानिय सरकारले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित हुन नहुने बताईन्। सोहीक्रममा उनले बजारको सुगम ठाउँमा स्वास्थ्य चौकी खोलेर माग फारम भर्दै औषधी वितरण गरिरहेका वडाहरुभन्दा भौगोलिक विकटताका कारण पिछडिएको यस २० नं. वडाको स्वास्थ्य चौकीहरुमा पर्याप्त मात्रामा औषधी उपलब्ध हुनुपर्ने बताईन्।
यसैगरी १४ नं. वडा सदस्य तथा न्यायिक समितीका सदस्य झरना पौडेल सुनुवारले आफै जनप्रतिनिधी भएपनि धरानको २० नं. वडाको खैरेमा आफु पहिलोपटक पुगेको बताईन्। उनले यो २० नं. वडा धरान उपमहानगरपालिकाको वडा भनिरहँदा पश्चिमको कुनै एक दुर्गम जिल्लामा पुगेजस्तो लागेको बताईन्। उनले भने “२ घण्टाको कच्ची पहाडी बाटोको सफरमा आफुलाई फर्कौ जस्तो लागेको थियो। यस्तो दुर्गम स्थान ल्याएको भन्दै साथीहरुसंँग रिसाउँदै दाह्रा किट्दै आईपुगे।” उनले २० नं. वडाको यस खैरेको विकटतालाई हेरेर उपमहानगरले विशेष योजना ल्याउनुपर्ने बताए।
त्यस्तै धरान ८ का वडा सदस्य तथा कार्यपालिका सदस्य सावित्री परियारले भूगोलको आधारमा दुर्गम क्षेत्र मानिएको २० नं. वडालाई उपमहानगरपालिकाले उपेक्षा गरेको बताईन्। उनले यस २० नं. वडामा आईपुग्दा आफु कुनै दुर्गम क्षेत्रमा आईपुगेको जस्तो लागेको बताईन्। उनले भनिन् “२० नं. वडालाई अन्य सुगम वडाजस्तै बनाउन सम्पूर्ण महिला जनप्रतिनिधीहरुले पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता गर्दछु।”
स्वास्थ्य र शिक्षाले समृद्ध शहर धरान भएपनि पछि गाँभिएको साविक विष्णुपादुका (हाल धरान २० नं. वडा) भौगोलिक विकटताका कारण कति पछि परेको भनेर देखाउन पनि धरान १५ का वडा सदस्य तथा कार्यपालिका सदस्य एवं सामाजिक महाशाखा संयोजक सिर्जना नेपालको नेतृत्वमा धरानका सम्पूर्ण महिला जनप्रतिनिधीहरुलाई विष्णुपादुकाको खैरे भन्ने स्थानमा पुर्याएकी थिईन्। उनले भौगोलिक विकटाताका कारण २० नं. वडाका जनताहरु उपमहानगरवासी भएर पनि दुःखमा रहेकाले यहाँका जनताले पनि अन्य वडाका नागरिकले जस्तै सुख सुविधा पाउनुपर्छ भनेर जनप्रतिनिधीहरुलाई खैरेमा पुर्याएको बताईन्।
यसैगरी २० नं. वडाका सदस्य पञ्चमी माया राईले धरानको २० नं. वडामात्र यस्तो विकट वडा भएकोले यसको विकासका लागी धरानका अन्य जनप्रतिनिधी महिलाहरुले साथमा साथ दिनेमा आफु विश्वस्त रहेको बताईन्।
यसैगरी संचारकर्मीहरु सँंगको भेटमा स्थानिय शान्ति माया राईले धरानको दुर्गम क्षेत्र मानिएको खैरेमा बिरामी हुँदा सिटामोल औषधी लिनपनि २/३ घण्टाको दुरी तय गरेर बजार झर्नुपर्ने बाध्यता रहेको सुनाईन्। उनले २ घण्टाको बाटो हिडेर वडाको स्वास्थ्य चौकी पुगे पनि आफुले चाहेको औषधी नपाउने भएकाले बजार नै पुग्नुपर्ने बाध्यता सुनाईन्। टाउको दुख्ने समस्याले सताएपछि टाउकोमा सलको फेटा बाँधेर आएकी उनले बजारबाट ल्याएको औषधी खाएपछि केहिछिन सन्चो हुने पछि उस्तै टाउको दुख्ने समस्या रहेको सुनाईन्। अहिलेसम्म डाक्टरलाई नजचाई औषधी लिएर खाँदै आएकी शान्तिमायाले भनिन् “अहिलेसम्म डाक्टरलाई जँचाएर औषधी खाएको छैन, सिटामोल खाएपछि एकछिन सन्चो हुन्छ पछि फेरि त्यस्तै।” शान्तिमायाका अनुसार तत्काल बिरामी भएमा रातको समयमा एम्बुलेन्स आउन सक्ने अवस्था छैन।


त्यस्तै स्थानियवासी सोम माया राईले हिउँदमा बाटोको केही सहजता भएपनि बर्खायाममा खोलामा पहिरो जाने भएपछि पिकअप गाडीहरुपनि नचल्ने बताईन्। उनले बाटोको असहजताकै कारण गर्दा गाउँघरमा उब्जनी भएको मौसमी फलफुल तथा तरकारी बिक्रीका लागी धरान बजार लैजान नसकेको गुनासो समेत गरिन्। त्यस्तै अर्का स्थानियवासी मुना राईले धरान बजार झर्न र बिरामी हुँदा छिटो छरितोका लागी बाटोको समस्या रहेकोले आगामी वर्षको बजेटमा यस सडकलाई विशेष प्राथमिकता दिन स्थानिय सरकार संँग आग्रह गरिन्।
सडक अभावकै कारण यस खैरे बस्तीमा विद्यार्थीहरुको संख्यापनि दिनानुदिन खस्कँदै गईरहेको छ। अलि हुनेखानेहरु बजारमा डेरा लिएर पढ्ने र हुँदाखानेहरु मात्र यहि रहेका विद्यालयहरुमा पढ्ने भएकाले विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न धेरै बाँकी रहेको सूर्र्याेदय आधारभूत विद्यालयकी प्रधानाध्यापिका कमला देवानले बताईन्।
उनले विद्यालयमा अझैपनि बालमैत्री खानेपानी धारा, शौचालय निर्माण गर्न मुख्य समस्या रहेको समेत सुनाईन्। उनका अनुसार यस प्राथमिक विद्यालयमा कक्षा १ देखी ५ सम्ममा १८ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन्। यस स्थानमा एउटा पनि बालविकास केन्द्र छैन। शिक्षक दरबन्दिको अभावका कारण दुईजना शिक्षिका सहित एक जना सहयोगीले विद्यालय संचालन गर्नुपरेको उनको भनाई छ। उनले केही सहयोगी व्यक्ति तथा संस्थाहरुले विद्यार्थीहरुलाई स्कुल ड्रेस र शैक्षिक सामाग्री प्रदान गर्दै आएपनि विद्यालयमा खेलकुद सामाग्री र बाल उद्यानहरु चिप्लेटी र पिङको पनि आवश्यक्ता रहेको बताईन्।
यसैगरी विद्यालय व्यवस्थापन समितीका अध्यक्ष देउ बहादुर राईले कक्षा ५ पछि यहाँका विद्यार्थीहरु २ घण्टा लामो दुरी पार गरेर भालढुंगा माविमा पढ्न जाने गरेको बताए। उनले विद्यालयको स्तरोन्नतीका लागी संघिय सरकारका प्रतिनिधी अशोक राई, प्रदेश सांसद विजय राई र समानुपातिक सांसद यसोदा कायस्थलाई यस स्थानमा ल्याएर देखाएको बताए। विशेषगरी बाटोको सहजताका लागी वडामा निवेदन दिएपनि वडाको बजेट सानो भएकाले कुखुरालाई कनिका छरेको जस्तो मात्र भएको उनको भनाई छ। उनले धरानका अन्य वडाका जनप्रतिनिधीहरुले पनि यस स्थान पनि धरानै भएकाले २० नं. वडालाई पनि नजर लगाईदिन अनुरोध समेत गरे।
यसैगरी धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले २० नं. वडा भौगोलिक दृष्टिकोणले पनि विकट तथा दुर्गम वडा भएकाले हरेक १५/१५ दिनमा गाँउघर क्लिनिक संचालन गर्दै आएको बताए। उनले सामान्य प्राथमिक उपचार गर्नपनि धरान बजार झर्नुपर्ने बाध्यतालाई हटाउन स्वयंसेविकाहरुलाई प्राथमिक उपचारका सामाग्रीहरु उपलब्ध गराईएको समेत बताए। वडाको स्वास्थ्य चौकीमा नेपाल सरकारले तोकेका औषधीहरु टेन्डर आव्हान गरेर गरिने भएकाले कहिलेकाही ढिलो हुने गरेको उनले स्विकारे।
धरानको सर्दुखोला देखी शुरु हुने २० नं वडा भञ्ज्याङ सम्मको ५ किलोमिटर बाटोको सहजता भएपनि त्यसपछि खैरे सम्मको चण्डी सडकमा यातायात आवागमनमा सहजता छैन। भञ्ज्याङदेखी भुल्केसम्म रहेको करिब १० किलोमिटर जिर्ण सडकलाई मर्मत सम्हारका लागी वडाले हरेक वर्ष ५/६ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको वडाअध्यक्ष पदम लिम्बुले बताए। उनले यसक्षेत्रको सडक स्तरोन्नतीका लागी पहल भईरहेपनि प्रदेश र केन्द्र सरकारको ध्यानाकृष्ट हुन नसकेको दुःखेसो सुनाए। उनले भने “२० नं. वडा भौगोलिक हिसाबले पनि विकट तथा दुर्गम वडा भएकाले विशेष बजेटको व्यवस्था गर्न कार्यपालिका बैठकमा सबै जनप्रतिनिधीहरुको ध्यानआकर्षण गराउँदै आएको छु तर पनि उहाँहरु चुप लाग्नु हुन्छ, तपाईहरुले पनि देख्नु भएकै हो, हामी सुगम शहरको दुर्गम वडाका जनप्रतिनिधी हौं, सायद कसैको नजर २० नं. वडामा पुग्न नसकेको होला।” उनले यस क्षेत्र भौगोलिक विकटता भएपनि लाली गुराँसलाई संरक्षण गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउन सकिने उनको भनाई छ।
भुल्के देखी खैरे, भञ्याङ हुँदै धरान ११ स्थित मंगलबारेसम्म कठिनताले पिकअप भ्यानहरु चल्ने गर्दछ। बिहान सबेरै धरान बजार झर्ने र दिउँसो फर्कने भएकाले यात्रुहरुपनि गाडीको हुटमा बसेर जोखिमताका साथ यात्रा गरेको भेटिन्छन्। अपर्झट बिरामी हुँदा अथवा कुनै भवितव्य घटना भएमा यात्रु बाहक साधन नभेटिने भएकाले यहाँका बासिन्दाहरु धरान झर्ने र उपचार गर्ने कुरा एकादेशको कथा मात्र बनेको छ। त्यसैले यसतर्फ स्थानिय सरकारको विशेष पहलकदमी हुन आवश्यक देखिन्छ । (दिव्य रोशनी साप्ताहिकबाट)