धरान बजारलाई चलायमान बनाउन एक्स्पोको आयोजना हुने
दिव्य रोशनी(धरान)/ धरानका उद्योग व्यवसायको विकास र विस्तारसंगै आर्थिक गतिविधिलाई चलायमान बनाउन धरान एक्स्पो २०८१ को आयोजना हुने भएको छ।
सुनसरी उद्योग वाणिज्य संघद्धारा धरानको आर्थिक गतिविधीहरुलाई चलायमान बनाउन एस्पोको आयोजना गर्न लागिएको हो। आईतवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विजय श्रेष्ठले धरानको बजारलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउन सक्ने धरान एक्सपो– २०८१ आयोजनाको तयारी औपचारीक रूपमा शुरू भएको जानकारी दिए। उनले विगत २ वर्ष देखि निरन्तर आयोजना भईरहेको एक्स्पोमा यसवर्षपनि कोशी प्रदेशका १४ वटै जिल्लाका व्यापारी व्यवसायी तथा सर्वसाधारणहरूले सहजरुपमा अवलोकन गर्न सकिने समेत बताए।
धरान एक्सपो २०८१ मा सुनसरीका सबै स्थानीय तह, मोरङ, झापा, इलाम उदयपुर, धनकुटा तेह्रथुम, संखुवासभा, भोजपुर लगायत कोशी प्रदेशका सबै जिल्ला, छीमेकी मुलुक भारतका नजिकका जिल्ला तथा शहरहरूबाट अवलोकन, व्यापार व्यवसायका लागि मानिसहरू आउने अपेक्षा गरेको संघले जनाएको छ। एक्स्पोको तयारीका क्रममा धरान बाहेकका जिल्ला, नगरपालिका, गाउँपालिकाका उद्योगी, व्यवसायी, कृषक तथा आमनागरिकहरूलाई आकर्षित गर्न प्रचार कार्य सुरु भइरहेको एक्सपोका मुल संयोजक गोपाल श्रेष्ठले बताए। उनले यस एक्सपोबाट धरानमा सुस्ताएको बजारलाई चलायमान बनाउने, व्यापारी, उद्यमी व्यवसायीमा आशाको सञ्चार गर्ने तथा धरानको व्यापारीक, व्यवसायीक शाख पुनर्जिवित गर्न योगदान पुर्याउने विश्वास लिएको समेत बताए।
पुष २५ गते देखि माघ ५ गते सम्म धरान रंगशाला परिशरमा सञ्चालन हुने एक्स्पोमा स्थानिय उत्पादनको व्यापारलाई प्राथामिकता दिइएको छभने भारत पाकिस्तान र बंगलादेशका समेत स्टल रहने छन्। एक्स्पोमा पर्यटन, स्वास्थ्य, साहित्य संग सम्बन्धी स्टल पनि रहनेछ। एक्स्पोमा पर्यटन, कृषी, स्वरोजगार सम्बन्धी, वित्तिय संस्था संग गोष्ठी तथा प्रशिक्षण कार्यक्रम समेत रहेनछ। एक्सपोमा दैनिक २०,००० मानिसले अवलोकन गर्ने अनुमान गरिएको छभने एक्स्पोमा व्यापारीक एवं सर्वसाधारणको किनमेल सहित १० करोड रूपैयाको हाराहरीमा कारोबार हुने अनुमान सुनसरी उवासंघले गरेको छ।
एक्स्पोलाई सफल बनाउन ५०१ सदस्य रहेको आयोजक समितीले जनाएको छ। एक्स्पोलाई स्थानिय सरकार धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, संघीय सरकार र नेपाल उद्योग बाणिज्य महासंघको सहयोग रहेको छ। एक्स्पोमा १४२ वटा स्टल रहने छन्। एक्स्पोको सुरक्षाका लागी सिसीटीभी जडान गरीएको छभने दैनिक २० जना शसस्त्र प्रहरी, १० जना नेपाल प्रहरी तथा २० जना निजी सेक्युरेटी गार्डले सुरक्षा प्रदान गर्ने व्यवास्था मिलाएको संघका अध्यक्ष विजय श्रेष्ठको भनाई छ।
एक्स्पोमा हरेक दिन राष्ट्रिय कालाकारहरूको सांगितीक कार्यक्रम समेत रहने संघले जनाएको छ ।