चासोक तङ्नाम उत्सवको उद्धघाटनः कोशी नामाकरण अस्विकार

दिव्य रोशनी(धरान)/ किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितीद्धारा आयोजित पाँच दिने चासोक उत्सव सोमवार एक कार्यक्रम माझ उद्धघाटन गरिएको छ।
धरान १५ स्थित चुम्लुङ हिममा आयोजित चासोक उत्सवको उद्धघाटन कोशी प्रदेश सभा सदस्य तथा पूर्व प्रदेश मन्त्री खिनु लङ्वाले गरेकि हुन्। कार्यक्रममा प्रदेश सभा सदस्य लङ्वाले एमाले, माओवादी र काँग्रेसले कोशी नामको प्रस्ताव गरे पनि प्रदेश सभामा ४ सांसदले किरात–लिम्बुवान नाम प्रस्ताव गरेको बताईन्। उनिले कोशी नामकरण गणितीय आधारमा भए पनि सडकमा त्यसलाई स्वीकार नगरेको आवाज उठिरहेको समेत बताइन्।


नेकपा एकीकृत समाजवादीकी सांसद रहेकि प्रदेश सभासदस्य लङ्वाले लिम्बु र मैथिल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा मान्यता दिने सबै प्रक्रिया पुरा गरी प्रदेश सभामा आफूले विधेयक समेत पेश समेत गरिसकेको बताईन्। उनिले सरकार परिवर्तनपछि अहिले बनेको सरकारले कार्यान्वयन गर्ने चासो नदिएको बताईन्।
यसैगरी कार्यक्रममा किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले प्रदेश सरकारले कोशी नाममा सहमति जुटाउन वार्ता समिति बनाएको हो भने संघर्ष समितिले अस्वीकार गर्ने बताए। उनले कोशी नाम खारेज गरेर पुनः नामकरणमा छलफल गर्न तयार भएमा मात्र वार्ता हुनसक्ने समेत जनाए। त्यस्तै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुवेर खापुङले चासोक उहिले घर घरमा पूजा अर्चनाको रूपमा मनाउने परम्परा रहेपनि अहिले एकैसाथ पर्वको रूपमा मनाउने प्रचलन बढेको बताए।
कार्यक्रममा लामो समय देखी लिम्बु भाषाका सांस्कृतिक कार्यक्रममा मातृभाषाको गायन प्रस्तुत गर्दै आएकी लिम्बु भाषाकी प्रसिद्ध गायिका सुनिता मिभकलाई २५ हजार रुपयाको ‘किरात याक्थुङ चुम्लुङ उदय कला पुरस्कारबाट पुरस्कृत गरिएको थियो । त्यस्तै चुम्लुङको क्यानडा शाखाले प्रदान गर्दै आएको १५/१५ हजार राशिको “लिम्बु भाषा लिपी छात्रवृत्रि” पुरस्कार सेसेहाङ फियाक र अञ्जना नेम्वाङलाई प्रदान गरिएको थियो। उक्त पुरस्कार कक्षा ११/१२ मा ऐच्छिक मातृभाषा लिम्बु लिएर उत्कृष्ट अंकमा परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई प्रदान गरिदैं आएको छ ।


यसैगरी कार्यक्रममा सिक्किमका लिम्बु भाषा/लिपिका लेखक तथा साहित्यकार हर्कबहादुर खाम्दाक लिम्बुलाई “किरात याक्थुङ चुम्लुङ किरात सिरिजंगा पुरस्कार” प्रदान गरिने घोषणा गरिएको छ । २५ हजार राशिको उक्त पुरस्कार लिम्बु भाषा र लिपिका लेखक, साहित्यकारलाई प्रदान गरिदैं आएको छ। त्यस्तै सोही अवसरमा सुनसरी जिल्ला तथा धरानमा किरात याक्थुङ चुम्लुङ स्थापना कालदेखी हाल सम्म योगदान गर्दै आएका अग्रजहरूलाई कदरपत्र प्रदान गरिएको थियो।


सो उद्धघाटन समारोह चुम्लुङ धरान नगर अध्यक्ष तीर्थ मादेम्बाको सभापतित्वमा सम्पन्न भएको थियो। चासोक उत्सव अन्तर्गत मंगलवार केलाङ प्रदर्शनी तथा यालाङ/पालाम/ख्याली साँस्कृति कार्यक्रम हुनेछन्भने बुधवार याक्थुङ जन्य खेलहरु पक्लुङ लेप्पा, तोङ आप्मा, लि आप्मा आदि हुनेछन्भने विहवार हुने समापन कार्यक्रममा आदिवासी जनजाती महासंघ आवद्ध संघसंस्थाहरुको साँस्कृतिक प्रदर्शनी हुनेछन्।