प्रथम धरान खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना हुने

दिव्य रोशनी(धरान)/ धरान ब्याडमिन्टन क्लबको आयोजनामा प्रथम धरान खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना हुने भएको छ ।
बिहीबार पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक टंक बहादुर लिम्बुले यही असोज १७ गते देखि १९ गतेसम्म प्रथम धरान खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना हुने बताए। उनले प्रतियोगितामा नेपालको ७७ वटै जिल्लाका २ सय टिमका ६०० जना खेलाडी सहभागी हुने जानकरी दिए । उनका अनुसार प्रतियोगितामा ३ विभागीय टिम पनि सहभागी हुनेछन्।
प्रतियोगितामा ब्याडमिन्टन खेलमा सर्वाधिक पुरस्कार राशि राखिएको संयोजक लिम्बुको दाबी छ। जसमा खुल्ला पुरुष डबलतर्फका विजेता जोडीले १ लाख १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्भने उपबिजेताले ५५ हजार नगद, र तेस्रो हुने दुई जोडीले १५÷१५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।


यसैगरी प्रतियोगितामा खुल्ला भेट्रान्स (४५ प्लस), सुपर भेट्रान्स (५५ प्लस) र लेडिज डबल्स, मिक्स डबलका विजेताले ६५ हजार, उपबिजेताले ३३ हजार र तेस्रो हुने दुई जोडीले ११÷११हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्।
आयोजकले टिम दर्ता शुल्क खुल्ला मेन्स डबल, भेट्रान ४५ प्लस, सुपर भेट्रान ५५ प्लसका लागि ३ हजार रुपैयाँ, मिक्स डबल ओपनमा २५ सय र खुल्ला लेडिज डबल्सका लागि २ हजार रुपैयाँ निर्धारण गरिएको जनाएको छ। यसैगरी प्रतियोगिता अन्तर्गत धरानका खेलहरु भने अशोज ११ र १२ गते नै शुरु हुनेछ। प्रतियोगिताका खेलहरू धरान १३ स्थित अमर सेवा समाजको कभर्डहलमा सञ्चालन हुनेछ।