कोभिड संक्रमितका आफन्तका लागि विपीमा कुरुवा घर बनाईने

दिव्य रोशनी (धरान)/ वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड अस्पताल नजिकै विरामीको आफन्तलाई लक्षित गर्दै अस्थायी कुरुवा घर निर्माण गरिने भएको छ।
धरान उपमहानगरपालिकाको मेयर तिलक राईको अगुवाईमा कोभिड अस्पतालमा रहेका विरामीको आफन्तका लागि कुरुवा घर निर्माण गरिने भएको हो। कोभिड अस्पतालमा विरामी कुरुवा घर नभएको कारण विरामीको आफन्तलाई व्यापक रुपमा समस्या भएको जनगुनासो आएपछि कोभिड अस्पताल पछाडि रहेको खाली जग्गामा अस्थायी ट्रष्टको कुरुवा घर निर्माण गरिन लागेको नेपाली कांग्रेस धरानका सचिव श्याम पोख्रेलले जानकारी दिए।
सचिव पोख्रेलका अनुसार वीपी प्रतिष्ठानसँग समन्वय गरी धरानमा मानवीय र सामाजिक कार्यमा सधै क्रियाशिल रहेका मारवाडी सेवा समिति र नेपाल अग्रवालको सहकार्यमा कुरुवा घर निर्माण गरिने लागिएको हो । अस्थायी विरामी कुरुवा घर १८ फिट चौडाई र ८० फिट लम्बाईको हल, शौचालय र स्नान कोठासहितको सुविधा सम्पन्न हुनेछ। मारवाडी सेवा समाजका अध्यक्ष अनिल अग्रवालका अनुसार कुरुवा घर निर्माणका लागि ईन्जिनियरले आज शुक्रवार स्टिमेट तयार पार्नेछभने भोली शनिबारबाट भवन निर्माण सुरु गरिने अध्यक्ष अग्रवालले जानकारी दिए। निर्माण सम्पन्न भएपछि कोभिड संक्रमितका आफन्तका लागि कुरुवा घरले केही हदसम्म सहज वातावारण सिर्जना गर्ने उनले बताए। कुरुवा घरको स्टिमेट तयार पार्न धरान उपमहानगरपालिकाका वरिष्ठ ईञ्जिनियर सुरज श्रेष्ठ र वीपी प्रतिष्ठानका ईञ्जिनियर निर्मल अधिकारीलाई जिम्मेवारी दिईएको छ।
भवन निर्माण हुने जग्गाको स्थलगत अनुगमन गर्न धरान उपमहानगरपालिकाका मेयरसहित, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, मारवाडी सेवा समाज र नेपाल अग्रवालका प्रतिनिधिहरु मोतिलाल अग्रवाल, अनिल अग्रवाल, पवन अग्रवाल, अस्पताल निर्देशक डा. गौरी शंकर शाह पुगेका थिए ।

 

टिप्पणीहरू are closed.