जिप्रका धनकुटालाई थापा दम्पतीद्धारा ४ रोपनी जग्गा प्रदान
विजय सन्तोषी राई
दिव्य रोशनी/ धनकुटा जिल्लाको पाख्रिवास नगरपालिका ८ मुगामा प्रहरी चौकी स्थापनाका लागी सोही वडाका समाजसेवी थापा दम्पतीले ४ रोपनी जग्गा प्रदान गर्नुभएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटामा जग्गादाता सोही वडा स्थायी घर भई हाल अमेरिकामा बस्दै आउनु भएका समाजसेवी समन्त भद्र थापा र उहाँकी धर्मपत्नी रस्मी थापाले मुगा प्रहरी चौकी स्थापना गरी भवन निर्माणका लागी ४ रोपनी जग्गा प्रदान गर्नुभएको हो। आज मंगलवार जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख एसपी सरत कुमार थापा क्षेत्रीलाई समाजसेवी थापा दम्पतीले एक समारोहका विच जग्गाधनी पूर्जा हस्तान्तरण गर्नुभएको थियो।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी सरत कुमार थापा क्षेत्रीले जग्गा प्रदान गर्नु हुने समाजसेवी थापा दम्पतीलाई खादामाला लगाई सम्मान गर्नुभएको थियो भने पूर्वमन्त्री सुनिल वहादुर थापालाई जग्गा प्रदान गराउन विशेष भूमिका निर्वाह गर्नु भएकोमा धन्यवाद दिनुभएको थियो। यसैगरी जग्गादाता समाजसेवी थापा दम्पतीलाई जग्गा प्रदान गर्नु भएकोमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक किशोर तामाङ प्रहरी अधिकृत लगायतले समेत धन्यवाद दिनु भएको थियो। जग्गा धनीपूर्जा हस्तान्तरण कार्यक्रमको संचालन प्रहरी निरिक्षक किशोर तामाङले गर्नुभएको थियो।
उक्त जग्गा उपलब्ध गराउन पूर्वमन्त्री राष्टपती रामचन्द्र पौडेलका राजनैतिक सल्लाहकार नेपाली कांग्रेसका केन्द्रिय कार्यसम्पादन समितिका सदस्य सुनिल वहादुर थापाले विशेष भूमिका निर्वाह गर्नु भएको थियोे।
धनकुटा जिल्लाका पाख्रिवास नगरपालिका क्षेत्रमा एउटा मात्र प्रहरी चौकी रहेको छ भने भोजपुर र धनकुटाको सिमानाको क्षेत्र समेत मुगा रहेकाले शान्ति सुरक्षा अझ बलियो बनाउनका लागी मुगामा प्रहरी चौकी स्थापना गर्न अति आवाश्यक भएको र त्यस क्षेत्रका नागरिकहरुको समेत विशेष माग भएकाले उक्त क्षेत्रमा चौकी स्थापना गर्नका लागी प्रक्रिया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालयल धनकुटाका एसपी सरत कुमार क्षेत्री थापाले जानकारी दिनुभयो।
सो अवसरमा पूर्वमन्त्री तथा राष्ट्रपती रामचन्द्र पौडेलका राजनैतिक सल्लाहकार नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य सुनिल वहादुर थापा, वरिष्ठ समाजसेवी डा. अरुण थापा, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा भूमि समस्या समाधान आयोग धनकुटा जिल्लाका सदस्य विजय सन्तोषी राई, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य समाजसेवी असित नर सिंह थापा, जिल्ला सदस्य समाजसेवी मिनवहादुर कार्की, धनकुटा काठमाण्डौ सम्पर्क समितिका वरिष्ठ उपसभापती समाजसेवी कुमार थापा, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक किशोर तामाङ लगायत प्रहरी अधिकृत तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुको उपस्थिति रहेको थियो ।
जग्गाधनी समाजसेवी थापा दम्पतीले आज मंगलवार मालपोत कार्यालय धनकुटामा आफ्नो नाममा रहेको जग्गाबाट ४ रोपनी जग्गा कित्ताकाट गरी उक्त जग्गा जिल्ला प्रहरी कार्यालय धनकुटाको नामा पास गरिदिनु भएको हो।