स्कुल डान्स आईडलको फाईनलमा सिनियर र जुनियरबाट १०/१० जना प्रवेश

दिव्य रोशनी(धरान)/
युनाईटेड डान्स एकेडेमी (युडिए) धरानद्वारा आयोजित स्कुल डान्स आईडलको फाईनलमा सिनियर र जुनियरबाट १०/१० जना प्रतिस्पर्धीहरु प्रवेश गरेका छन्। शनिवार धरान ९ स्थित होटल रत्न ईनमा सम्पन्न सेमिफाईनलमा सिनियरतर्फ कक्षा ६ देखी १० सम्मका २२ जनाबाट १० जना र जुनियरतर्फ कक्षा ५ सम्मका २१ जना प्रतिस्पर्धीहरुबाट १० जना फाईनलमा प्रवेश गरेका छन्।उनीहरु दर्शकले दिएको सर्वाधिक भोटका कारण छानिएरफाईनलमा प्रवेश गरेका थिए। किनभने यसपटक फाईनल प्रवेशका लागी सेमिफाईनलमै भोटिङ सिस्टम अपनाईएको थियो।
प्रतियोगिताको जुनियरतर्फको फिनाले आगामी भदौ महिनाको अन्तिम साता सम्पन्न गरिने भएको छभने सिनियर तर्फको ग्राण्ड फिनाले तिहार पछि मात्रै सम्पन्न गरिने युडिएका व्यवस्थापक विजय प्रसाद ढकालले बताए। प्रतियोगिताको अडिसन गत बैशाख २६ गते धरानको युएन स्कुलदेखी शुरु गरी जेठ २२ गते नवोदय स्कुलमा पुगेर सम्पन्न गरिएको थियो। प्रतियोगिताको अडिसनमा धरानका निजी तथा सरकारी विद्यालय गरी ५७ विद्यालयहरुबाट ६ हजार भन्दा बढीले सहभागिता जनाएका थिए।
प्रतियोगितामा सिनियरतर्फ प्रथम हुनेले नटराज ट्रफि सहित नगद १ लाख, २५ तोला चाँदीको क्राउन पाउनेछन्भने पुरुष प्रथम भएमा क्राउनको सट्टा चाँदीको आकर्षक लकेट पाउनेछन्। यसैगरी द्वितीय र तृतीय हुनेले क्रमशः नगद ५० हजार र २५ हजार सहित आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन्।
यसैगरी जुनियर तर्फका बिजेताले नटराज ट्रफीका साथमा नगद ५० हजार, १० तोला चाँदीको क्राउन पाउनेछन्भने दोस्रो र तेस्रो हुनेले क्रमशः नगद २५ हजार र १५ हजार सहित आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन्।


यसअघिको स्कुल डान्स आईडल प्रतियोगिताको पहिलो सिजन २०७२ मा सेन्ट जोसेफ स्कुलका सरिना केसी, दोस्रो सिजन २०७३ मा डिपोट स्कुलका विमस पौडेल, तेस्रो सिजन२०७४ मा लिवर्टी स्कुलका सोनु तामाङ, चौथो सिजन २०७५ मा लोटस स्कुलका अनिसा राई, पाँचौ सिजन २०७६ मा आवरहोम स्कुलका करिस्ता राई, छैटौं सिजन २०७९ मा पर्वत बोर्डिङ स्कुल धरान १९ कि महिमा लिम्बु, सातौं सिजनमा आवरहोम स्कुलकी रिन्छेन गुरुङ र आठांै सिजनमा सुनाखरी स्कुलकी चारु राई बिजेता भएकी थिईन्।
यसैगरी स्कुल डान्स आईडल जुनियरतर्फको पहिलो सिजनमा ब्लोसम मन्टेश्वरीका याङचोमा लिम्बु, दोस्रो सिजनमा ज्ञानोदय स्कुलका पासाङ तामाङ, तेस्रो सिजनमा आवरहोम स्कुलकी रिन्छेन गुरुङ, चौथो सिजनमा भिक्टोरी बोर्डिङ स्कुलकी लेमी राई र पाँचौ सिजनमा पर्वत बोडिङ स्कुलकी आयुमा राई, छैटौ सिजनमा पर्वत स्कुलकी सुविन्सा राई विजयी भएका थिए।
युडिएका प्रबन्ध निर्देशक सन्तोष तामाङले विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गराउन प्रतियोगिताको आयोजना गरिएको बताए। उनले यस्ता प्रतियोगिताले कला र संस्कृतिको पनि जगेर्ना हुने बताए।
धरान ९ का निवर्तमान वडाअध्यक्ष रत्न बहादुर कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा युडिएले नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा तीज विशेष दर खाने कार्यक्रमको समेत आयोजना समेत गरेको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)