धरानमा ३१ औंं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाईयो

दिव्य रोशनी (धरान)/ “प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि जनजातिको अधिकार सुनिश्चित गर, युएनडिआरआइपी र आइएलओ १६९ सम्बन्धी सर्वाेच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर” भन्ने मूल नारासहित धरानमा ३१ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस मनाईएको छ।
नेपाल आदिवासी जनजाती महासंघ नगर समन्व्य परिषदको आयोजनामा धरान १२ चतरालाई स्थित पब्लिक हाइस्कुलको खेलमैदानबाट निकालिएको विभिन्न जातजातीको झाँकी र्यालीले बजार परिक्रमा गर्दै धरान १५ स्थित चुम्लुङ हिममा पुगी सांस्कृतिक कार्यक्रम सहित आदिवासी दिवस मनाईएको हो। कार्यक्रममा प्रमुख वक्ता एवं समाजशास्त्री प्रा.डा. कृष्ण भट्टचनले आईएलओ १६९ अनुमोदन गर्ने देश नेपाल एसियामा नै पहिलो भएपनि २०७२ को संविधानमा आदिवासीका हक र अधिकार धेरै नै कुण्ठित गरेको बताए। उनले संविधानमा आदिवासी विरुद्ध ११ वटा प्रावधान रहेको बताउँदै आदिवासी विभेदकारी २३ वटा, आदिवासीलाई बहिस्करण गर्ने ४९ वटा र कल जातीय सर्वोच्च्ता गर्ने ५ वटा प्रावधान रहेकाले नयाँ संविधानलाई कालो संविधानको रुपमा लिएको समेत बताए। उनले भने “आदिवासीलाई नेपालको संविधानले देख्दैन, सुन्दैन र थाहा पनि पाउदैन। अहिले बाहुनवादीले आफुलाई सर्वोच्च र आदिवासी जनजाती र दलितहरुलाई निकृष्ट रुपमा देखेको छ, जुन आदिवासीहरुलाई पाच्य हुँदैन।”


सोहिक्रममा प्रमुख वक्ता प्राडा. भट्टचनले हालैमात्र सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं. १६९ र आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणपत्र, २००७ को व्यवस्था कार्यान्वय गर्न साथै राष्ट्रिय कानून बनाउन तीनै तहको सरकारलाई निर्देशनात्मक आदेश दिएको समेत बताए। एक फरक प्रसंगमा उनले रमाईलो गीतको किस्सा सुनाउँदै “एक कान्छा मलाई सुनको तारा झारिदेउन….” भन्ने बोलको गीतलाई आदिवासी अधिकारको लयमा ढाल्दै “ए एमाले कान्छा, ए कांग्रेस कान्छा, ए माओवादी कान्छा, ए रास्वपा कान्छा” हामीलाई स्वायत्तताको आत्मनिर्णय अधिकारको धारा खसाई देउन” भन्दा प्रत्युत्तरमा राजनीतिक दलहरुले “त्यो तारा मात्र हैन जुन पनि झारी दिउला” लाई “त्यो आत्मनिर्णयको अधिकारलाई विखण्डनकारी खसाईदिउला” भन्ने जवाफ आउने बताए।
यसैगरी कार्यक्रममा विशेष अतिथी धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले संघिय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाले आदिवासी जनजातीहरुलाई पूर्ण अधिकार नदिएपनि २०४७ सालको संविधानले दिएको अधिकार भन्दा धेरै नै अधिकार पाएको बताए। उनले यहि संविधानले दिएको अधिकारलाई उपयोग गर्दै थप अधिकार प्राप्त गर्ने दिशातर्फ सबै आदिवासीहरु अगाडी बढ्नुपर्ने समेत बताए। उनले भने “यहि संविधान र व्यवस्थाले दिएको अधिकार प्रयोग गरेर सासंद भएका साथीहरु बेला बेला म कुन धरातलबाट आए भन्ने बिर्सेर यही व्यवस्था माथि विष बमन गर्ने काम गरेका छन्। तर म भन्छु, हाम्रा भाषिक अधिकार साँस्कृतिक अधिकार, धार्मिक अधिकार, जमिनको अधिकारको कुरा गरिरहँदा जायज आवाजहरुलाई सत्तामा पुगेकाहरुलाई सुन्ने बनाउन हामी सबै एक भएर लाग्नुपर्छ।”


यसैगरी धरान १५ न.ं वडाका वडाअध्यक्ष नरेश ईवारम, नेपाली कांग्रेस धरान नगरसभापति श्याम पोख्रेलले लगायतले हिजो राणाकालमा आदिवासीहरुलाई संस्थागत रुपमा संगठित हुन नपाएपनि अहिलेको व्यवस्थालाई पनि बेवास्था गरे फेरि राणाकालिन युगमा फर्किनुपर्ने भएकाले आदिवासी जनजातीहरु चनाखो हुनुपर्ने धारणा राखेका थिए।
नेपाल आदिवासी जनजाति महासंघ धरान नगर समन्वय परिषद्की उपाध्यक्ष सीता राईको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा महासंघ नगरका संस्थापक अध्यक्ष कर्ण तमु र पूर्व अध्यक्षद्वय चित्र थापा मगर र सुवास हुक्पाचोङवाङलाई कदरपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न जातिको भाषा, भेषभूषा र संस्कृति झल्काउने साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो।


महासंघ नगर परिषदका अध्यक्ष हेमराज याक्खाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख मेयर हर्कराज राईलाई प्रमुख अतिथीको रुपमा निमन्त्रणा गरिएतापनि पनि शनिबार (श्रमबार) भएकोले बाढीबाट धरान ११ को बस्ति जोगाउन वृहत श्रमदान भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन्।
यसैगरी विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजातिको युवा महासंघ धरानले बिहिवार धरान १६ स्थित याक्खा छुम्माको भवनमा निःशुल्क आँखा परिक्षण कार्यक्रमको आयोजना गरेको थियोभने शुक्रवार राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ धरानले भानुचौकमा रक्तदान कार्यक्रम समेतको आयोजना गरेको थियो। जसमा ५२ पिण्ट रगत संकलन भएको थियो। यसैगरी सोहिदिन दिउँसो धरान उपमहानगरपालिका कर्मचारी र आदिवासी जनजाती महासंघ नगर परिषद बिच मैत्रीपूर्ण फुटबल खेलको समेत आयोजना गरेको थियो। दिव्य रोशनी साप्ताहिकबाट)