“विगतको व्यापारिक साखलाई पूर्नस्थापना गर्न चाहन्छु” अध्यक्षका प्रत्यासी गोपाल श्रेष्ठ
दिव्य रोशनी(धरान)/ सुनसरी उद्योग वाणिज्य संघको यही असार ३० गते हुन लागेको निर्वाचनमा अध्यक्षका प्रत्यासी गोपाल श्रेष्ठले धरान र आसपास क्षेत्रको विगतको व्यापारिक साखलाई पूर्नस्थापना गर्न आफुले अध्यक्षमा उम्मेद्धवारी दिएको बताएका छन्।
धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी श्रेष्ठले धरान र आसपास क्षेत्रको विगतको व्यापारिक साखलाई पूर्नस्थापना गर्ने र सुनसरीमा थप लगानी बृद्धि गर्न सहजीकरण गरिने बताए। उनले पहाडी सडकसँग जोड्ने दु्रत व्यापारिक राजमार्ग, पर्यटन र खानेपानीको स्थायी समाधान गर्न सकिने साथै बहुपयोगी परियोजना धरान लेउती सुरुङ्ग मार्गको निर्माण प्रक्रियामा पहल गर्ने पनि प्रतिवद्धता जनाए।

पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी श्रेष्ठले २६ बुँदे प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका छन्। उनले धरानमा रहेको ढुवानी तथा लोड–अनलोड समस्यालाई समाधान गर्न पहल गर्ने साथै उद्योगी व्यवसायीहरुको सुरक्षालाई प्राथमिकता दिदै सामुहिक बीमा तथा राहत कोष व्यवस्थापनमा पहल गर्ने, संघको विधानलाई समय सापेक्ष संशोधन गर्ने, धरान कोसेली घर निर्माण गर्ने, धरानका होटल तथा रेष्टुरेष्टहरु १२ बजेसम्म खोल्ने वातावरण बनाउन पहल गर्ने लगायतका रहेका छन्।
पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी श्रेष्ठले आफ्नो टिमलाई सबै उद्योगी, व्यवसायी, व्यापारीहरुको र पुर्वअध्यक्षहरुको समर्थन भएकोले साझा उम्मेद्वारकोरुपमा आफुले उम्मेद्धवारी दिएको बताए। संचारकर्मीहरुको एक जिज्ञासामा उनले कार्यसमितिमा २ कार्यकाल पदाधिकारी भई सकेका व्यक्ति मात्रै अध्यक्ष हुन पाउने व्यवस्था रहेकोले विपक्षीहरुको भनाई सिण्डिकेट प्रथा नभएको जिकिर गरे। उनले भने “ मलाई संस्थाको हितमा र व्यवसायीहरुको हितमा काम गर्न सक्छ भन्ने आधार देखेर नै पुर्वअध्यक्षहरुले साथ र समर्थन दिएको हो, यसमा कुनै सिण्डिकेट छैन।”
अध्यक्षका प्रत्यासी श्रेष्ठको टिममा उद्योगतर्फ सदस्यहरुमा कृष्ण पाठक, प्रभात खतिवडा, विष्णु वराल र महेन्द्र प्रधान रहेका छन्भने वाणिज्यतर्फ सदस्यहरुमा अमित अग्रहरी, किसन मास्के, जयप्रकाश शर्मा, नविन राजभण्डारी, रामस्वरुप शर्मा, विवेक अग्रवाल, शशी साह, शैलेशकुमार आचार्य (प्रमोद) र वणिज्य महिलातर्फ बर्षा अग्रवाल रहेका छन्।
यसैगरी एशोसिएटतर्फ सदस्यहरुमा अशोक जैन, मनिष अग्रवाल र ललितकुमार अग्रवाल रहेका छन्भने बस्तुगततर्फको सदस्यहरुमा नविनकुमार तामाङ र नारायण लिम्बु रहेका छन्। उद्योग महिलातर्फ भने मीना राई मगर निर्विरोध भइसकेको छिन्।