धरानमा हुने रोजगार मेलामा १०७८ कामदारको माग( भिडियो सहित)
दिव्य रोशनी(धरान)/ धरान उपमहानगरपालिकाको आयोजनामा हुन गईरहेको २ दिने रोजगार मेलामा विभिन्न संघसंस्थाबाट १०७८ जना कामदारको माग भई आएको छ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा यहि बैशाख ११ र १२ गते धरान १२ स्थित पब्लिक हाईस्कुलको खेल मैदानमा हुने रोजगार मेलामा विभिन्न कम्पनि तथा संघसंस्थाहरुबाट १०७८ जना कामदारको माग भईआएको हो। मंगलवार धरान उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत गंगा प्रसाद चौलागाईले नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्य अनुरुप धरानमा २ दिने रोजगार मेलानको आयोजना हुन लागेको बताए। उनले मेलामा विभिन्न कम्पनि तथा संघसंस्थाबाट ठुलो मात्रामा कामदारको माग भई आएको समेत जनाए। प्रमुख प्रशासकिय अधिकृत चौलागाईका अनुसार कम्प्युटर अपरेटर १० जना, लोखापाल १७ जना, सेल्स २२ जना, कुक ५० जना, वेटर १०० जना, पिसिएल नसं ९ जना, एएनम÷सीएमए ११ जना, मेशिन अपरेटर १६ जना, फ्याक्ट्री मजदुर २३० जना, शिक्षक ५, मिस्त्रि ६६, कार्यालय/प्रशासन ४४, चालक ५, सुरक्षा गार्ड ३००, मार्केटिङ १०, मजदुरी ७१, सूचना प्रवधि ३५, हाउस किपिङ१०, कुखुरा पालन २, मोवाईल टेक्निसियन १३, मार्केटिङ एजेन्ट ५० र मार्केटिङ म्यानेजर २ जना गरी १०७८ जना कामदारको माग भई आएको छ।
धरान उपमहानगरपालिकामा हुन लागेको यस मेलाले विद्यार्थी तथा युवाहरुलाई वृत्ति परामर्शको सेवा प्रदान गर्ने तथा रोजगारीको खोजीमा रहेका युवा जनशक्ति र रोजगारदातालाई एकै स्थामा ल्याई आ–आफ्नो अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउने उपमहानगरपालिकाले जनाएको छ।
यसैगरी मेलामा प्रशासनिक क्षेत्रका व्यक्तिका साथै श्रमिक वर्गको समेत सहभागिता रहने यस मेलामा उद्योग/व्यवसाय, तालिम प्रदायक संस्था लगायत अन्य क्षेत्रका रोजगारदाता लगायत उद्योग वाणिज्य संघको समेत सहभागिता हुनेछ।
अध्ययन पश्चात स्वदेशमा रोजगारी खोज्नु वा उद्योगाधन्दा खोल्नुभन्दा दक्ष जनशक्ति पलायन हुने क्रममा रहनु र अर्कोतर्फ उद्योग/व्यवसाय लगायतका क्षेत्रले जनशक्तिको अभाव भोग्नु परिरहेको वर्तमान अवस्थामा आयोजना गर्न लागिएको धरान रोजगार मेलाबाट रोजगारदातालाई आवश्यक्ता अनुसारको जनशक्ति उपलब्ध हुनेछभने रोजगारीकै खोजीमा युवाशक्तिलाई विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न मद्धत पुग्ने आयोजकको विश्वास छ। स्थानिय जनशक्तिलाई स्थानिय स्तरमै रोजगारी उपलब्ध गराउने अभिप्रायले आयोजना गर्न लागिएको मेलामा ५ हजार जनासम्मको सहभागिता रहने अनुमान गरिएको छ।
उपमहानगरपालिकाले आयोजना गर्न लागेको मेलाबाट विद्यार्थी तथा युवाहरुले वृत्ति परामर्श सेवा पाउने, बरोजगार युवाहरुले विभिन्न उद्योग व्यवसायमा रोजगारी प्राप्त गर्ने, रोजगारदाताले उपलब्ध जनशक्तिबारे जानकारी पाउने र तालिम प्रदायक संस्थाबाट प्रदान गरिने सीपमूलक तालिम र अवसरको जानकारी पनि पाउने उपमहानगरपालिेकाले जनाएको छ।
यसैगरी मेलाका आकर्षणहरुमा रोजगार सम्बन्धि जानकारी तथा सूचना र सम्भावित रोजगारदाता संग प्रत्यक्ष भेट हुने, सीप र योग्यता अनुसारको रोजगारीको सम्भावना, व्यक्तिगत प्रोफाईल बनाउने र अन्र्तवार्ता सहित रोजगारीको व्यवस्था, आफुले रोजेको र लिन चाहने सीपमुलक तालिम सम्बन्धि जानकारी रहेका छन्।
पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासालाई समेट्दै प्रमुख प्रशासकिय अधिकृत चौलागाईले अहिलेसम्म उपमहानगरपालिकामा १५ सय ८२ जनाले बेरोजगार फारम भरिसकेको बताउदै तथ्यांक अझै बढ्न सक्ने बताए।