खादामा साँस्कृतिक जन्य तस्विरको चर्चा

मनिता चाम्लिङ/
दिव्य रोशनी (धरान)/
धरानका महिला दिदीबहिनीहरुले उत्पादन गरेको संस्कृति झल्काउने खादाले चर्चा पाउन थालेको छ।
विभिन्न जातिय संस्कृतिको चित्र सहितको खादाले धरानका कार्यक्रमहरुमा चर्चा पाउन थालेको हो। यो संस्कृतिजन्य खादा कुनै ठुलो उद्योगले चलाएको पनि होईन। धरान ११ संघर्ष चौक स्थित एउटा घरको कोठामा १८ जना दिदी बहिनीहरुको समूहले बनाएको खादा उद्योग अहिले चलिरहेको छ।
धरान ११ स्थित तुलसा मल्टिपल ट्रेनिङ एण्ड रिसर्च सेन्टरमा उत्पादन भईरहेको नेपाली ढाका कपडाको खादामा लिम्बु समुदायको सिलाम साक्मा, किरात राई जातीको वावु(चिण्डो), सुम्निमा पारुहाङको तस्विर, नेपालको झण्डासँंगै धरानका मेयर हर्क साम्पाङले बिरुवा रोपेको र ढुंगा बोकेको तस्विर समेत देख्न सकिन्छ।
धरानका मेयर हर्क साम्पाङले महिलाहरुलाई स्वाबलम्बी बनाउन नेपाली खादा तालिम अन्तर्गत मेयर कोषमा बजेट नै छुट्याईदिएका थिए। मेयर साम्पाङको भिजन अन्तर्गत महिला उद्यमीहरुको कोषमा बजेट छुटिएपछि ६५ दिने तालिम अभियान संचालन गरिएको सेन्टरका संचालिका तुलसा सुब्बाले बताईन्।उनले विदेशबाट आयातित रंगीचंगी खादा भन्दा आफ्नै उद्योगमा बनिएको नेपाली संस्कृति झल्काउने खादा उत्कृष्ट भएको बताईन्। उनले भनिन् “बजारमा पाउने खादा भन्दा यो बेग्लै खालको खादा हो। बजारमा पाउने खादा पोलिष्टर चिप्लो हुने भएकाले कुहिएर जान निकै समय लाग्ने तर यो चाँडै कुहिने पनि हुन्छ। यो वातावरण मैत्री पनि छ।”
एउटा खादा तयार पर्दा हातले तान बनाएर बनाउने हो भने १/२ दिन लाग्ने तर रेडिमेड कपडालाई खादा बनाउन चाहि १ दिनमा धेरै बनाउन सकिने उनको भनाई छ। उनले खादामा ग्राहकको रोजाई अनुसार विभिन्न चित्रहरु समावेश गरेर खादा उपलब्ध गराईने बताईन्। साथै उनले ढाकाको कपडा र गाजाबाट निर्मित कपडाका खादाहरुपनि उपलब्ध रहेको बतााईन्।
विगतका वर्षहरुमा सामान्य ढाकाका कपडाहरुको खादा मात्र उत्पादन गर्दै आएको सेन्टरले यसवर्षदेखी झनै समूह बनाएरै नेपाली खादा उत्पादन गर्न थालेको हो। धरान उपमहानगरपालिकाको लागत साझेदारीमा ३ समूहलाई ६ वटा मेशिन र १ थान सेमी अटोमेशिन प्रदान गरेपछि खादा उत्पादन वृद्धि दोब्बरले बढेको छ।


ढाकाको तानमा बुनेको कपडामा अर्डर अनुसारको कलरफुल बुट्टाहरु बनाईने भएकाले नेपाली उत्पादन र हातले बनाएको सामान बजार मुल्यभन्दा बढी पर्न गएको सेन्टरका संचालिका सुब्बा बताउँछिन्। उनका अनुसार बजारमा अन्य मेशिनबाट बनिएका वस्तुसँंग प्रतिस्पर्धा गर्न अलि कठिन रहेको छ। दिदी बहिनीहरुले आफ्नै हातले उत्पादन गरेको वातावरणमैत्री,बजारको खादा भन्दा सिलाई र फिनिसिङ पनि एकदमै राम्रो रहेको छ। “बजारको भन्दा मुल्य अझै घटाउने प्रयासमा छौं।” दिव्य रोशनी संँगको भेटमा उनले भनिन् । विशेष गरी हातैले बनाएको हुनाले एउटा सामान्य खादाको ५० रुपैयाँदेखी डिजाईन अनुसार ३ सयसम्म पर्ने उनको भनाई छ। समूहले वार्षिक उत्सव, विवाह, लगायत अन्य कार्यक्रम अनुसार तस्विर अंकित खादाहरु तयार पार्दै आएका छन्। विशेषगरी पाल्पाली ढाकाको खादाको संगै अल्लो र गाजाको खादाको पनि माग बढी आउने संचालिका सुब्बाले बताईन्।
खादा बुद्ध धर्मावलम्बीमा मात्र सीमित नरहेका कारण यसको प्रयोग तथा आयात समेत असीमित बन्दै गएपछि महिलाहरुले आफ्नै उत्पादनबाट ढाका कपडाका खादा बनाउन थालेका हुन्। यसैबिच नेपाली ढाकाको खादा बनाएर गत पुष महिनामा सम्पन्न धरान उत्सव कार्यक्रममा अतिथीहरुलाई लगाइदिन थालेपछि यसको चर्चा अझै चुलिदै गएको हो।


शुक्रवार मात्रै खादा उद्योगको निरिक्षण तथा ६५ दिने खादा तालिमको समापनमा पुगेका मेयर साम्पाङलाई तालिममा सहभागी प्रशिक्षार्थीहरुले आफैले बनाएको नेपाली खादा पहिराईदिएका थिए। मेयर साम्पाङले काम भन्ने चिज नै सानोबाट शुरु हुने बताउँदै मान्छे जन्मिदा सानो भए जस्तै व्यवसाय पनि सानोबाट शुरु गरिनुपर्ने बताए। मेयर साम्पाङले सहभागीहरुले आफुले सिकेका सिपलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिंदै आफ्नो ज्ञान र सिपलाई अधिकत्तम प्रयोग गर्ने मान्छे मात्रै अहिलेको दुँनियामा सफल हुने समेत बताए। “आफुसंँग ज्ञानको सर्टिफिकेट भएपनि प्रयोग गर्दैनभने प्रगती हुन सक्दैन” उनले भने। आफुले उत्पादन गरेका वस्तुहरु बजारमा लगेर बिक्री गरी उद्यमी बन्नुपर्ने उनले सुझाव दिए। “श्रीमानको कमाई छँदैछ बसेर खान्छु भनेर हँुदैन, महिलाहरुले आफुलाई पनि सक्षम बनाउनुर्छ” उनले भने। मेयर साम्पाङले महिला शसक्तिकरणका लागी आफु निर्वाचित भएर आएपछि धेरै परिवर्तन आएको बताए। उनले बोल्न नसक्ने महिलाहरु अहिले माईक पक्रेर दुई मिनेट भएपनि बोल्न थालेको बताउँदै हिजो चुल्हा चौकमा सिमित दिदी बहिनीहरु आज श्रमदानमा रमाईरहेको आफुले देखेको अनुभव सुनाए।
दिदी बहिनीहरुले उत्पादन गर्न थालेको नेपाली खादाको अर्डर आउने क्रम बढ्दै गएको संचालिका सुब्बाको भनाई छ। उनका अनुसार महिला दिदी बहिनीहरुले उत्पादन गरेको खादा बजारमा होलसेल रेटमा बिक्री वितरण हुँदै आएको छ।


पछिल्लो समयमा नेपालमा खादा संस्कृति मूलधार बनिसकेको छ। कुनै पनि औपचारिक कार्यक्रममा अतिथीहरुलाई खादा लगाएर स्वागत गर्ने आम प्रचलन भइसकेको छ। बातावरण मैत्री नेपालमै उत्पादन भएको कपडा, नेपाली श्रम र सीपबाट खादा बनाउदा यसले पैसा बाहिर नजाने र बिहान बेलुका घरधन्दामा व्यस्त भएका महिलाहरु दिदी बहिनीहरुलाई दिउसोको समयमा रोजगारी पनि मिलेको छ। (दिव्य रोशनी साप्ताहिकबाट)